‘परान’ प्रदर्शनका लागि तयार, सुखी हुन छोडिरहेको खुसीको कथा



बिजमाण्डू
२०८२ कात्तिक ९ गते ११:२५ | Oct 26, 2025
‘परान’ प्रदर्शनका लागि तयार, सुखी हुन छोडिरहेको खुसीको कथा


काठमाडौं। टेलिशृंखलामा अभिनय र सांगीतिक श्रव्यदृश्य निर्देशनको अनुभव संगालेका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको फिल्म ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ। कोरोना भाइरसबाट ग्रसित भएपछि उनलाई फिल्म बनाउने कथा फुरेको हो।

Tata
GBIME
Nepal Life

‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ। आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ,’ आचार्य भन्छन्, ‘यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ।’

कोभिडमुक्त भएपछि उनले यम थापालाई पटकथा लेखनका लागि दिए। त्यसपछि यो फिल्म बन्ने प्रक्रिया अघि बढ्यो। एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताए।

‘फिल्ममा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु। अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ। हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु,’ उनले सुनाए।

‘परान’मा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठ प्रभावशाली भूमिकामा छन्। एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा आचार्य खुसी छन्। ‘मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई फिल्म प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो। सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला। यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ,’ निर्देशक आचार्यले भने।

एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको चलचित्र ‘परान’को कथासार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको नीर शाहले बताए। उनले भने, ‘मैले यसमा धर्मनाथको भूमिका निर्वाह गरेको छु। यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ। मेरो चलचित्रकर्ममा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ। यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ।’

आफूले पात्रलाई निर्वाह गर्न शतप्रतिशत मेहेनत गरेको भन्दै यसको मूल्यांकन दर्शकले गर्ने शाह बताउँछन्। अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उनले सुनाए।

परिवार, सम्बन्ध र संघर्षको कथालाई प्रस्तुत गरिएको फिल्ममा अभिनेता शाह र अभिनेत्री केकी अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राई लगायत कलाकारको अभिनय छ।

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन्। मित्र डी गुरुङले सम्पादन गरेका छन् भने संगीत गगन थापामगरले दिएका छन्। फिल्म यही कात्तिक १४ गतेदेखि प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ। रासस