विश्वकप पुगेको नेपालको अबको ‘स्वीच’ एकदिवसीयमा, यूएईमा सबै खेल जिते छैटौं स्थानमा उक्लिने



मुकुन्द घिमिरे
२०८२ कात्तिक ५ गते १२:५४ | Oct 22, 2025
विश्वकप पुगेको नेपालको अबको ‘स्वीच’ एकदिवसीयमा, यूएईमा सबै खेल जिते छैटौं स्थानमा उक्लिने

काठमाडौं। आईसीसी टी-२० विश्वकपमा स्थान बनाएको नेपाली टोली अब एकदिवसीय फर्म्याटमा ‘स्वीच’ हुँदैछ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, यूएई र अमेरिकाबीचको सिरिज कात्तिक ९ गते सुरु हुँदैछ। सिरिज खेल्न नेपाल र अमेरिका यूएई पुगेका छन्।

Tata
GBIME
Nepal Life

लिग-२ मा कस्तो छ अंक तालिका?

क्रिकेट विश्वकप लिग-२ शीर्ष एसोसिएट्स टोलीका लागि आईसीसी एकदिवसीय विश्वकप पुग्ने एकमात्र मार्ग हो। अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने छन्। मध्यभागमा रहने टोलीले एकदिवसीय मान्यता जोगाउने छन्। त्यस्तै, तालिकाको तल्लो भागमा रहने टोलीको एकदिवसीय मान्यता जोखिममा पर्नेछ।

लिग-२ मा नेपाल, यूएई, नामिबिया, क्यानडा, ओमन, नेदरल्याण्ड्स, अमेरिका र स्कटल्याण्ड छन्।

अंक तालिकामा २४ खेल खेलेको स्कटल्याण्ड ३० अंकसहित शीर्षस्थानमा छ। दोस्रो र तेस्रो स्थानमा समान २८ अंक बनाएका अमेरिका र नेदरल्याण्ड्स छन्। अमेरिकाले २० खेल खेल्दा स्कटल्याण्डले २४ खेल खेलेको छ।

२० खेलबाट २४ अंक बनाएको ओमन चौथो स्थानमा रहँदा २४ खेलबाट २१ अंक बनाएको क्यानडा पाँचौँ स्थानमा छ। छैटौं स्थानमा २४ खेलबाट १९ अंक बनाएको नामिबिया छ।

नेपाल र यूएई लिग-२ मा सबैभन्दा कम खेल्ने टोली हुन्। यी दुईले समान १६ खेल खेलेका छन्। यी मध्ये १२ अंक बनाएर नेपाल तालिकाको सातौँ स्थानमा रहँदा ६ अंक बनाएको यूएई तालिकाको पुछारमा छ।

यूएईमा सबै खेल जिते नेपाल छैटौं स्थानमा

यूएईमा नेपालले अमेरिका र यूएईसँग समान २ खेल खेल्नेछ। हरेक खेलमा जितबापत २ अंक आउनेछ।

यूएईमा हुने सबै खेल जितेमा नेपालको ८ अंक थपिनेछ। अर्थात २० खेलबाट २० अंक हुनेछ।

लिग-२ मा लयमा अमेरिका, संघर्षरत यूएई

लिग-२ मा सबैभन्दा लोभलाग्दो लय भएको टोली हो अमेरिका। २० खेल खेल्दा अमेरिकाले १४ वटामा जित निकालेको छ। जबकी शीर्षस्थानको स्कटल्याण्डले २४ खेल खेल्दा १३ वटामा मात्र जित निकालेको छ। उसको ४ खेल नजिताविहीन हुँदा हरेक खेलबापत १ अंक पाएको छ।

अर्कातर्फ यूएई लय भेट्टाउन संघर्षरत छ। उसले १६ खेल खेल्दा ३ वटामा मात्र जित निकालेको छ। उसले स्कटल्याण्ड, नेदरल्याण्ड्स र नामिबियालाई मात्र एक-एक खेलमा हराएको छ।

लिग-२ मा कमजोर सुरुवात गरेको नेपालले सुरुवाती ९ खेलमध्येमा एउटामा मात्रै जित निकालेको थियो। तर, पछिल्लो पटक नेपाल लयमा छ। पछिल्ला सात खेललाई हेर्दा नेपालले चार वटामा जित निकालेको थियो भने एउटा खेल नतिजाविहीन भएको थियो।

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल १७औँ स्थानमा छ भने अमेरिका १४औँमा छ। यूएई भने २० औँ स्थानमा छ।

नेपाल र यूएईका कप्तान। फाइल फोटो: क्यान

विश्वकप पुगेको टोलीमा तीन परिवर्तन

नेपालले टी-२० विश्वकप पुगेको टोलीमा तीन परिवर्तन गर्दै यूएईमा हुने लिग-२ को सिरिजका लागि खेलाडी घोषणा गरेको छ। यूएईमा हुने सिरिजका लागि अनिलकुमार साह, भीम सार्की र साहब आलमले स्थान बनाएका छन्। लोकेश बम, सन्दीप जोरा र मोहम्मद आदिल अन्सारी टोलीबाट बाहिरिएका छन्।

रोहित कुमार पौडेलको कप्तानीमा टोलीमा दीपेन्द्र सिंह ऐरी (उप-कप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, कुशल मल्ल, अनिल, भीम, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दन यादव,  साहब, सन्दीप लामिछाने र ललित नारायण राजवंशी छन्।

फाइल फोटो

नेपालको खेल तालिका

नेपाल भर्सेस अमेरिका : कात्तिक ९

नेपाल भर्सेस यूएई : कात्तिक १३

नेपाल भर्सेस अमेरिका : कात्तिक १५

नेपाल भर्सेस यूएई : कात्तिक १९ गते