विराटनगर । कोशी प्रदेशका ४ मुख्य राजस्व कार्यालयमध्ये एकले मात्र भदौ २३ अगाडिको जस्तै सेवा उपलब्ध गराइरहेको छ। बाँकी ३ कार्यालयले सामान्य र न्यूनतम सेवा मात्र सुरु गरेका छन्।
भदौ २४ को जेनजी प्रदर्शनका क्रममा लुटपाट र आगजनीमा नपरेका कारण झापास्थित आन्तरिक राजस्व कार्यालय चन्द्रगढीले मात्र पूर्ववत् सेवा दिन सकेको हो। बाँकी मोरङको विराटनगर, झापाको दमक र सुनसरीको इटहरीस्थित कार्यालयले सामान्य सेवा मात्र उपलब्ध गराउन सकेका छन्।
चन्द्रगढी कार्यालयका प्रमुख गोपाल थापाले भदौ २३ र २४ को प्रदर्शन र आगजनीमा आफ्नो कार्यालय नपरेको बताए। प्रमुख थापाले कार्यालयले सम्पादन गर्ने सम्पूर्ण कार्यहरू पूर्ववत् रहेको जानकारी दिए। तर, विराटनगर, दमक र इटहरीका कार्यालयले भने पहिले झैँ सेवा दिन सकेका छैनन्। यी कार्यालयमा करदाता सेवाको मात्र काम सुरु भएको छ। जसअन्तर्गत भ्याट र प्यान दर्ता, करचुक्ता, संकलन, लगतकट्टा, भौचर संशोधन लगायतका काम मात्र भइरहेका छन्।
राजस्व कार्यालयले गर्नुपर्ने कर परीक्षण, अनुगमन, अनुसन्धान, बक्यौताअसुली जस्ता मुख्य कार्य भने तीन वटै कार्यालयमा अझै सुरु हुन सकेको छैन। भदौ २४ को आगजनीबाट ध्वस्त भएको विराटनगर कार्यालयले करिब ४ सय वर्गफिटको एक कोठाबाट सेवाप्रवाह गरिरहेको छ। कार्यालयमा एक उपसचिव र ८ अधिकृतसहित ३५ कर्मचारी कार्यरत रहे पनि ८ वटा मात्र कुर्सी–टेबुलबाट सेवाप्रवाह भइरहेको छ।
कार्यालय प्रमुख केशव उप्रेतीले हाल कार्यालयमा कुनै फाँट नभएको र कर्मचारीले कुर्सीमा पालो गरेर बस्तै सामान्य सेवाप्रवाह गर्दै गरेको जानकारी दिए। प्रमुख उप्रेतीका अनुसार भदौ २४ को लुटपाट र अगजनीमा कम्प्युटर ४४, ल्यापटप ६, प्रिन्टर स्क्यानर ३९, कुर्सी ४५, टेबुल ४७, दराज २४ थान लगायत कार्यालयका सबै सामग्री ध्वस्त भएका छन्।
त्यस्तै अन्तःशुल्कका ४७ लाखभन्दा बढी मूल्यका स्टिकर पनि डढेका छन्। चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य ११ अर्ब १५ करोड भएको कार्यालयले पुराना कम्प्युटर मर्मत गरेर सेवाप्रवाह सुरु गरेको उनले सुनाए।
विराटनगरस्थित राजस्व कार्यालयका दुवै भवनलाई प्राविधिकले रातो चिह्न लगाएका छन्। दुवै भवनलाई मर्मत गरेर कामलाग्ने बनाउन ८० लाख रुपैयाँ चाहिने अनुमान गरिएको छ। तत्काल २० लाख रुपैयाँ भएमा आवास भवनलाई मर्मत गरेर व्यवस्थापन गर्न सकिने उप्रेतीले बताए।

त्यसैगरी सुनसरीको इटहरीस्थित राजस्व कार्यालयको ५ करोडका लागतमा नवनिर्मित कार्यालय पनि आगजनीमा परेर कामनलाग्ने गरी ध्वस्त भएको छ। शहरी विकासका प्राविधिकले उक्त भवनमा रातो स्टिकर लगाएका छन्।
कार्यालयका कम्प्युटर ३३, प्रिन्टर २७, स्क्यानर १४, ल्यापटप ४, टेबुल ११, कुर्सी २८ र दराज ७ वटा अगजनीमा परेको प्रमुख डिल्लीराम पौडेलले जानकारी दिए। पौडेलले एक कोठामा करदाता सेवाको काम मात्र सुरु गरिएको बताए। इटहरी कार्यालयले चालु आर्थिक वर्षमा ६ अर्ब २५ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।
त्यस्तै भाडाको घरमा रहेको दमकस्थित राजस्व कार्यालय पनि आगलागीमा परेर कामनलाग्ने गरि क्षतिग्रस्त भएको छ। कार्यालयका कम्प्युटर ३०, कुर्सी ३७, प्रोजेक्टर १, प्रिन्टर ३१, स्क्यानर ८ लगायतका सामग्री नष्ट भएका छन्। लुटपाट आगजनीमा परेर १ करोड ३३ लाख बराबरको क्षति भएको कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख पुण्य रिजालले तत्काल कार्यालय भवनमा बस्न नमिल्ने भएको र एक हप्ताभित्रै भाडाको भवन खोजेर कार्यालय सार्ने तयारी भइरहेको उल्लेख गरे। दमक कार्यालयले चालु आर्थिक वर्षमा १ अर्ब ७० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ।
विराटनगर राजस्व कार्यालयका प्रमुख उप्रेतीका अनुसार विनियोजन ऐन २०८२ ले असोज मसान्तभित्र रकमान्तर गरेर बजेट पठाउने छुट दिएको छैन। अब कात्तिक लागेपछि मन्त्रालयबाट आवश्यक मर्मत र व्यवस्थापन खर्च प्राप्त हुने आशा गरिएको छ।










