दसैंको अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार



बिजमाण्डू
२०८२ असोज २३ गते १३:१२ | Oct 9, 2025
दसैंको अवसरमा प्रदर्शन भएका तीन चलचित्रको यस्तो छ व्यापार
तस्बिर : रासस


काठमाडौं। दसैंको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गतेदेखि तीन चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आए। दसैंको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन्।

Tata
GBIME
Nepal Life

चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले असोज २० गते राति ११ बजेर ५५ मिनेटसम्म ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ। उक्त चलचित्रले १ लाख १९ हजार ५६१ टिकट बिक्री भएवापत उक्त व्यापार गरेको हो।

सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।

यस्तै, अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गरेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको छ। यसका ९० हजार ९४७ टिकट बिक्री भएका छन्।

दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’मा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायतका कलाकारले अभिनय गरेका छन्।

फूलपातीकै अवसरमा प्रदर्शन भएको चलचित्र ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क चलचत्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा छ। उक्त चलचित्रको ६८ हजार ३२ टिकट बिक्री भएको हो।

रोहित अधिकारीले निर्माण तथा मिलन तामाङले निर्देशन गरेको यस चलचित्रमा केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत लगायत कलाकारले अभिनय गरेका छन्।

पछिल्ला वर्षमा दसैंमा नेपाली चलचित्रको व्यापार राम्रो भएको पाइएपछि यो दसैंमा ३ चलचित्रले प्रदर्शन मिति तय गरेका थिए। बिदाको समयमा चलचित्रले राम्रो प्रतिक्रिया पाएमा त्यसको व्यापार बढ्ने अपेक्षाले चाडपर्व केन्द्रित प्रदर्शन हुनेक्रम बढेको चलचित्रकर्मीको भनाइ छ।

यद्यपि, व्यापारको तथ्याङ्क हेर्दा अघिल्लो दसैंको तुलनामा यसपटक चलचित्रहरूको व्यापार उत्साहजन हुनसकेको छैन।