काठमाडौं । दसैंमा मान्यजनले टीका लगाइदिएपछि दक्षिणा दिने चलन निकै पुरानै हो। पछिल्लो समय दक्षिणाका रूपमा नयाँ नोट दिने चलन बसेको छ। जसले गर्दा दसैं अगाडि बैंक तथा वित्तीय संस्थामा नोट साट्नेको लामो लाइन नै हुन्छ।
दक्षिणा दिने चलन विशेषगरि हिन्दू धर्म र संस्कृतिमा निकै पुरानो परम्परा हो। यो चलन दक्षिण एसियाली देशहरू नेपाल, भारत, बंगलादेश आदिमा प्रचलित छ। दक्षिणा भन्नाले गुरु, पुरोहित, ब्राह्मण, वा धार्मिक व्यक्तिलाई सम्मानस्वरूप दिइने धन, वस्त्र, अन्न, वा अन्य सामग्री जनाइन्छ। तर, यो अग्रजले आफूभन्दा सानालाई दिन्छन्।
दसैंमा बाबुआमाले छोराछोरीलाई टीका जमरा लगाएर आशीर्वाद दिन्छन्। छोराहरुले मातापितालाई पैसा राखेर ढोग गर्छन्, छोरीलाई दक्षिणामा पैसा दिन्छन्।
परिवारमा कमाउने उमेरमा नपुगेका बालबालिकालाई ठुलाले टीका-जमरासँगै दक्षिणामा नयाँ नोट दिन्छन्। विभिन्न धार्मिक कार्यमा पनि दक्षिणा नदिई कर्म अपूरो मानिन्छ, त्यसैले धार्मिक कार्यको अन्त्यमा दक्षिणा दिनुपर्ने चलन छ। दक्षिणामा सकभर नयाँ नोट दिँदा पाउनेलाई बेग्लै प्रकारको हर्ष प्राप्तिको अनुभव हुन्छ।
दक्षिणामा दिइने भएकाले नयाँ नोटको माग दसैंमा सर्वाधिक हुन्छ। दसैंमा साटेर राखिएका नयाँ नोट तिहारमा देउसे-भैलेलाई दान दिन पनि काम पनि लाग्छ। पछिल्ला केही दशकदेखि भने दसैंको घटस्थापना सुरु हुने केही दिनअघिबाट नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गर्दै आएको थियो। पछिल्ला दुई वर्षदेखि भने नयाँ नोट नभएर सुकिला नोट साट्न थालिएको छ।

नोटको छपाइमा ठूलो धनराशी खर्च हुने भएकाले चलनचल्तीका सुकिला नोटलाई साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ। सामान्यतया साना नोटको आयु साढे ३ वर्ष र ठूला नोटको ६ वर्षजति हुने गरेको छ।
पछिल्लो समय राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्रोत्साहन गरेको छ। यही कारण वाणिज्य बैंकहरूले दसैंमा डिजिटल दक्षिणादेखि किनमेलको बेला क्यूआरमार्फत भुक्तानी गर्न प्रत्साहन गर्दै आएका छन्। डिजिटल भुक्तानीको दर तीव्र रूपमा उकालो लागेको पनि छ।
नेपाल राष्ट्र बैंकको अभिलेखअनुसार विसं २००२ मा राजा त्रिभुवन हुँदा कागजी नोट छापिएको थियो। त्यसअघि नेपालमा सिक्का मात्रै प्रचलनमा थियो।
त्यतिबेला छापिएका नोट दसैंको छेको पारेर भदौ अन्त्यतिर बजारमा पठाइएको थियो। इतिहास अध्येता सन्तोष खडेरी भन्छन्, ‘त्यतिबेला नगद धेरैको घरमा नभए पनि हुनेहरूले त्यही बेलादेखि दसैंमा नयाँ नोट दिने चलन बसाएको देखिन्छ। पछि यो सबैको घरघर पुग्यो।’
नेपालमा सबैभन्दा पहिले खञ्जाचीको हस्ताक्षरमा ५, १० र १०० का मोरु नोट बजारमा आएका थिए। त्यसपछि २००९ सालमा १ मोरु निकालिएको थियो। २०१३ सालमा नेपाल राष्ट्र बैंक स्थापना भएपछि मात्रै नोटमा गभर्नरको हस्ताक्षर राख्न थालिएको खडेरीको भनाइ छ।
२०२६ सालमा पहिलोपटक १००० रुपैयाँको नोट र २०२८ सालमा ५०० रुपैयाँको नोट छापिएको उनको भनाइ छ।

छाप्ने प्रकिया के हो?
नोट छाप्नुअघि निश्चित प्रक्रिया पूरा गरेको हुनुपर्छ। राष्ट्र बैंकको अनुसन्धान विभागले अर्थतन्त्रको आकारलाई आकलन गरेर आवश्यक नोटको पहिचान गर्छ। त्यसपछि केन्द्रीय बैंकले आगामी तीन वर्षको नोटको माग प्रक्षेपण गर्छ।
त्यही आधारमा राष्ट्र बैंकको सञ्चालक समितिले नयाँ नोट निष्कासनसम्बन्धी निर्णय गर्छ। त्यसपछि मुद्रा व्यवस्थापन विभागले नोटको दर, परिमाण तोकेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्छ।
छाप्ने मूल्य बराबरको सम्पत्ति सरकारसँग हुनुपर्छ। सामान्यतयाः सरकारले नोट छाप्नका लागि सुरक्षणका रूपमा सुन र विदेशी मुद्रा राख्छ। तर त्यतिले पुगेन भने सरकारी ऋणपत्रलाई पनि सुरक्षणका रूपमा राख्ने गरिन्छ।
गभर्नर, डेपुटी गभर्नर, इतिहासविद्, संस्कृतिविद्, वन्यजन्तुविज्ञ, चित्रकारलगायत नोट डिजाइन समितिमा हुन्छन्। जसबाट तयार भएको नोटको डिजाइन राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गर्नुपर्छ। त्यसपछि मन्त्रिपरिषद्मा पारित गरेर नोट छपाइको प्रक्रिया सुरु हुन्छ।

सफा राख्नुपर्छ नयाँ नोट
दसैंमा दक्षिणा दिँदा नोट खाममा दिनु उपयुक्त हो। हात-हातको लेनदेनमा टीका लाग्छ, फोहोर हुन्छ।
देशको मुद्रा सुकिला र सफा हुनु पर्यटकको पहिलो नजरमा आफू पुगेको मुलुकप्रति सद्भाव बढाउँछ। त्यसैले विदेशी पर्यटकका आगमनस्थलका सटही काउन्टरहरुले सकेसम्म नयाँ नोट राखेका हुन्छन्। नोट धेरै हातहरुमा पुग्छ। त्यसलाई सफा राखिनुपर्छ।
नोट सफा राख्नु धेरै महत्त्वपूर्ण विषय हो जसको प्रभाव स्वास्थ्य, अर्थतन्त्र र सामाजिक व्यवहारमा प्रत्यक्ष पर्छ। नोटहरू दैनिक जीवनमा अनेकौं मानिसको हातबाट घुम्ने हुँदा त्यसमा धुलो, कीटाणु, ब्याक्टेरिया तथा भाइरसहरू बस्न सक्छन्, जसले संक्रमण फैलाउन सक्छ। त्यसैले नोटलाई सफा राख्नाले व्यक्तिगत तथा सार्वजनिक स्वास्थ्य जोगाउन मद्दत पुग्छ।
फोहोर, च्यातिएको वा लेखिएको नोट बैंक तथा किनमेलमा अस्वीकृत हुन सक्छ, जसले लेनदेनमा समस्या ल्याउँछ। यस्ता नोटहरू एटीएम मेसिनले पनि स्वीकृत गर्न सक्दैनन्। नोट फोहोर हुँदा चाँडै नष्ट हुन्छ, जसका कारण राष्ट्र बैंकले नयाँ नोट छपाउनुपर्ने बाध्यता हुन्छ, जसले देशको आर्थिक स्रोतमा भार पर्छ।
नोट केवल कागज होइन, यो राष्ट्रको गरिमा र आर्थिक सशक्तताको प्रतीक पनि हो। यसमा लेख्ने, मोड्ने, चित्र कोर्ने वा फोहोर बनाउने कार्यले यसको सम्मान घटाउँछ। सफा नोटले राष्ट्रको छवि राम्रो बनाउँछ र आर्थिक क्रियाकलापलाई सहज बनाउँछ। सबैले नोटलाई जतनसाथ प्रयोग गर्नुपर्छ। फोहोर हुन नदिने, र यसको मूल्य र सम्मान जोगाउने जिम्मेवारी वहन गर्नु आवश्यक छ।











