बाढी-पहिरोका कारण नारायणगढ-मुग्लिनसहित यी सडकहरू पूर्ण रुपमा अवरुद्ध



बिजमाण्डू
२०८२ असोज ९ गते ०९:३८ | Sep 25, 2025
बाढी-पहिरोका कारण नारायणगढ-मुग्लिनसहित यी सडकहरू पूर्ण रुपमा अवरुद्ध

काठमाडौं। अविरल वर्षापछिको बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ज तथा सडक खण्डमा अवरोध सिर्जना भएको छ। केही सडक पूर्ण रुपमा अवरोध भएका छन् भने केही एकतर्फी संचालनमा छन्।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरीका अनुसार संखुवासभामा कोशी राजमार्ग दुई स्थानमा पूर्ण रुपमा अवरुद्ध छ। कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका-४ बरुण र मकालु गाउँपालिका-३ एकुवामा सडक अवरुद्ध भएको हो।

रसुवामा दुई स्थानमा सडक अवरुद्ध छ। गोसाईकुण्ड गाउँपालिका-२ मा पर्ने नेपाल र चीन जोड्ने पुल बाढीले तहसनहस हुँदा रसुवागढी नाका पूर्ण रुपमा अवरुद्ध छ।

रसुवाकै उत्तरगया गाउँपालिका-५ नौबिसेमा बाढीका कारण गल्छि त्रिशुली-मैलुङ स्याफ्रु सडक एकतर्फी संचालनमा छ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक हाल पूर्ण रुपमा अवरुद्धमा छ। यस सडकको अवस्था सुधार हुन अझै केही समय लाग्ने अनुमान गरिएको छ।

बागलुङको बागलुङ नगरपालिका-१३ कालाखोलामा पहिरो जाँदा कालीगण्डकी करिडोर एकतर्फी भएको छ।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा पनि २ स्थानमा सडक एकतर्फी रुपमा संचालनमा छ। विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिरनजिक पहिरो जाँदा पूर्व-पश्चिम राजमार्ग एकतर्फी संचालनमा छ। सोही गाउँपालिकाको पैसठ्ठि मोडमा अविरल वर्षापछि सडक एकतर्फी भएको छ।

रुकुम (पूर्व)को भूमे गाउँपालिका-४ काँडाबगरमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।