म खेलाडी छँदा नेपाली फुटबल व्यावसायिक हिसाबले अघि बढिसकेको थिएन। खेलकुद परिषद्ले एन्फालाई अलिकति आर्थिक सहयोग गर्थ्यो। बर्थडे कप टुर्नामेन्ट र त्रिभुवन च्यालेन्ज टुर्नामेन्ट त्यसबेलाका दर्शक आउने प्रतियोगिता थिए। ती प्रतियोगिताबाट लगभग मलाई लाग्छ बढीमा ३/४ लाख रुपैयाँ कमाएपछि त्यही ८/१० लाख रुपैयाँ एन्फाको स्रोत थियो।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनुपर्यो भने त्यसको ट्रेनिङको खर्चहरु, विदेश जाने टिकटहरु, एलाउन्सेसहरु त्यो राष्ट्रिय खेलकुद परिषद्ले गर्थ्यो। त्यसकारणले त्यो बेलामा फुटबलको मात्र होइन समग्र खेलकै खर्चबर्च त्यसरी नै चल्ने गर्थ्यो। मैले थाहा पाएसम्म त्यो बेलामा रंगशालाको प्यारापिट तल ट्रयाकसम्मै थियो। त्यो ट्रयाकबाट अलिकति माथि काँडेतार लगाएरर बारेको हुन्थ्यो। त्यो काँडेतारमा केही ब्यानरहरु झुन्डाएको हामी देख्थ्यौँ।
बर्थडे कपमा भने अलि दर्शकहरु बढी आउने भएकोले हामीले १०/२० वटा त्यस्तो ब्यानरहरु चाहिँ हामीले देख्ने गरेका थियौँ।
शहीद स्मारक लिगमा चाहिँ दर्शक त एकदम न्यून हुन्थ्यो। त्यो बेलामा अब क्लबहरुलाई केहि पनि दिने चलन थिएन। यो तयारी खर्च भन्ने, म्याच मनी केही थिएन। जित्नेलाई शिल्ड, खेलाडीलाई चाहिँ मेडल। त्यति नै हो।
एन्फाले जब प्रायोजनको महत्त्व बुझ्यो
२०५२ सालमा म एन्फाको अध्यक्ष भएँ। त्यो बेलामा हामी दशरथ रंगशालाको एउटा कोठामा बस्थ्यौँ। अध्यक्ष महासचिव सबै कर्मचारी सबै त्यही एउटा कोठामा थियो। साँच्चै भन्ने हो भने टेलिफोनको त्यो लाइन पनि काटिराख्या हुन्थ्यो समय-समयमा, पैसा नबुझाएर। म आउँदाखेरि बजेट करिब-करिब शून्य थियो। शहीद स्मारक लिग पनि लगभग आठ वर्षदेखि हुन सकेको थिएन।
मलाई केही न केही त गर्नु पर्यो, अब यो ठाउँमा आएपछि भन्ने लागिरहेको थियो। त्यसअघि म बंगलादेशमा व्यावसायिक फुटबल खेल्थेँ, लामो समयदेखि कलकत्तामा पनि व्यावसायिक फुटबल खेलेको थिएँ। प्रायोजनबाट व्यावसायिक लिगहरु सञ्चालन भएको मैले त्यहाँ देखेको थिएँ। त्यसैबाट पनि सोच आयो, नेपालमा किन सकिँदैन त? ट्राई गरौँन भन्ने एउटा सोचका साथ म अगाडि बढेँ।
अब यो फुटबलको मात्र होइन, जहाँसम्म मैले थाहा पाएअनुसार एउटा मुख्य प्रायोजन भएर यो प्रायोजकबाट आएको रकमले पनि खेल सुरु हुन सक्छ भन्ने कुरो चाहिँ २०५२ सालमै सुरुवात भयो। त्यो पनि यस्तो किसिमले सुरुवात भयो कि हामी कसैका लागि पनि त्यो अकल्पनीय थियो।
साइन गरिसक्दा पनि यो पैसा दिन्छ त होला नि भन्ने कन्फिडेन्ट नै थिएन। त्यो त एउटा अकल्पनीय कुरा थियो।

पेप्सी र कोकाकोलाको प्रतिस्पर्धामा एन्फाले खेलेको त्यो खेल
मैले त्यसपछि त्यो दुइटा प्रपोजल तयार गरेँ। एउटा बोटलर्स नेपाल कोकाकोलालाई, अर्को चाहिँ पेप्सीलाई। यी दुईवटा राइभल भयो। मैले त्यो बेलामा अलिकति मेरो चाहिँ अब अन्तर्राष्ट्रियस्तरमा पनि केही साथीहरुमार्फत पनि कोकाकोलालाई दबाब दिइराख्या थिएँ, नेपालमा प्रायोजन गर भनेर। अनि त्यो गर्दाखेरि अनि हामीले त्यो प्रस्ताव गर्यौं एक लाख डलरको।
कोकाकोलाले कहाँ एक लाखको हुन्छ? यत्रो रकम पनि हुन्छ? भनिराख्या थियो।

अनि मैले भने ठीक छ तिमीहरु गर्दैनौं भने पेप्सीमा पनि मलाई अफर आइराख्या छ भनेँ। वास्तवमा पेप्सी त्यति पैसा दिने पक्षमा थिएन तर मैले उनीहरुलाई भनेँ। नेपालमा कोकाकोलाको एकलौटी मार्केट थियो, उ बजारमा पेप्सीको वर्चस्व बढोस् भन्ने चाहदैनथ्यो। कोकाकोलाले पेप्सीलाई भित्र आउन नदिने भइसके पछाडि लाख डलरमा नेपालको खेलकुद इतिहासमा पहिलो पटक पाँच वर्षको लागि प्रायोजन सम्झौता भयो। त्यसबाट हामीले शहीद स्मारक लिग, जिल्ला लिग, त्यसपछि जिल्लाबाट क्षेत्रीय लिग र क्षेत्रीयबाट राष्ट्रिय लिग र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्यौँ।
त्यसबेला अरु खेल संघको त बजेट नै हुँदैनथ्यो। सबभन्दा धनी संघ भनेकै फुटबल। उसैको बजेट जम्मा ८/१० लाख रुपैयाँ। त्यसैबाट कर्मचारीलाई तलब दिनुपर्ने, बत्ती, पानी, टेलिफोन महसुल तिर्नुपर्ने। त्यस्तो बेलामा त्यति ठूलो प्रायोजन ल्याउनु ऐतिहासिक कुरा थियो। यो नेपालमा खेलकुदमा प्रायोजन सुरु भएको पहिलो घटना थियो। एन्फा अहिले जुन अवस्थामा छ, त्यसको पछाडि त्यो प्रायोजनको हात छ।
त्यो सम्झौता समारोह अन्नपूर्ण होटलमा भयो, फाइभ स्टार होटलमा। त्यस्तो कुनै पनि खेलमा भएको थिएन। त्यहाँ चाहिँ अर्थमन्त्री हुनुहुन्थ्यो भरतमोहन अधिकारी, राखेप सदस्यसचिव हुनुहुन्थ्यो केशव स्थापित र एनएन सिंह चाहिँ बोटलर्स नेपालको म्यानेजिङ डाइरेक्टर।
साइन गरिसक्दा पनि यो पैसा दिन्छ त होला नि भन्ने कन्फिडेन्ट नै थिएन। त्यो त एउटा अकल्पनीय कुरा थियो। त्यो बेलामा केशव स्थापितले भाषणको क्रममा ‘राइट म्यानलाई राइट ठाउँमा ल्यायो भने यसरी काम हुन्छ’ भन्नुभएको थियो।
त्यो बेलाको अर्को एउटा इन्ट्रेस्टिङ कुरा मैले जोडदिहालुँ, त्यो बेलामा हाम्रा विष्णुगोपाल (श्रेष्ठ) दाई (राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष र राष्ट्रिय फुटबल खेलाडी)को ‘चिनो’ फिल्म रिलिज भएको थियो। हामीले उहाँलाई फिल्मको एउटा शो मागेका थियौँ। टिकट बेचेर हामी(एन्फा)लाई आर्थिक लाभ हुन्छ भनेपछि उहाँले ‘ल हुन्छ’ भन्नुभएको थियो। त्यो सबै गरेर टिकट बेच्न सुरु गर्दैथियौँ।
जब कोकाकोलासँग एक लाख डलरको भयो, कहाँ त्यो फिल्मको शो देखाएर हिँड्ने फुर्सद हुनु !
प्रतियोगिता आयोजना हुँदै जाँदा कोकाकोलालाई पब्लिसिटीमा ठूलो सघाउ भयो। त्यसपछि कोकाकोला कम्पनी पनि निकै खुशी भयो। गाउँ-गाउँदेखि अन्तर्राष्ट्रियमा फुटबलमा पनि व्यापक दर्शकहरुको उपस्थिति थियो। उनीहरुका लागि त्यो त अन्तर्राष्ट्रिय रुपको हिसाबले हेर्ने भने त उनीहरुको लागि त पिनट्स नै हो नि। यति राम्रोसँग हामीले आयोजना गर्दियौँ त्यस पछाडि यस्तो दिन पनि आयो कि हाम्रो त्यो कार्यक्रम सफल भएपछि कुन चाहिँ स्पोन्सर लिने कि नलिने भन्ने कुरामा एन्फा द्विबिधामा पनि पर्यो। छान्नुपर्ने भयो।

प्रायोजनमा त्यसबेला बनेको ‘ब्राण्ड’
त्यसपछि कुन चाहिँ ठूलो ब्राण्डले नेपालको फुटबललाई प्रायोजन गरेन? एनसेल जस्तो कम्पनी आएन की सूर्य नेपाल आएन की, गोर्खा ब्रुअरी, सानमिगेल, मार्लबोरो सिगरेट आएन? बैंकमा हिमालयन बैंकदेखि लिएर गोर्खाज बैंक भन्ने, नेपाल बैंकलगायत लावालस्कर एन्फासँग जोडिनको निमित्त इच्छुक बने। त्यो बेलामा फिफादेखि एएफसीले हामीलाई केही पनि सहयोग गर्दैनथ्यो।
मलाई लाग्छ २०५३ को अन्तिम या ५४ बाट चाहिँ फिफा-एएफसीले आर्थिक सहयोग गर्न थाल्यो। त्यो बेलामा एएफसीको त ग्रान्ट थिएन। फिफाको चाहिँ २०७२ सालसम्म म अध्यक्ष हुँदाखेरि वार्षिक अनुदान २ लाख ५० हजार डलर थियो।
अहिले कतार एयरवेजले लिगलाई प्रायोजन गरेको छ नि, पहिला कतार एफएले लिगलाई स्पोन्सरसिप गर्थ्यो। चार वर्षका लागि दुई लाख डलर त्यो बेलामा। त्यसपछि जापान फुटबल एसोसिएसनले ५० हजार डलर युथ टुर्नामेन्टहरुलाई सहयोग गर्थ्यो। कोरियाले हामीलाई प्रशिक्षक ल्याउन सहयोग गर्थ्यो। कतार एयरवेजको स्पोन्सरसिप पनि अहिले उनीहरुले के गर्दियो भने कतार फुटबल एसोसिएसनको सट्टा कतार एयरवेज बनेको हो।
एन्फा कम्प्लेक्स त्यसै बनेको छ? विभिन्न प्रतियोगिताहरु गराएर जोगाएर त्यो एन्फा कम्प्लेक्स तयार भएको हो। त्यो पनि साउथ एसियामा पहिलो देश। त्यसबेला भारतको पनि आफ्नो बिल्डिङ थिएन। बंगलादेश बहालमा बस्थ्यो। सबैको स्थिति त्यही थियो। एसियामै पनि धेरै देशका फुटबल संघको आफ्नो बिल्डिङ आफ्नो होस्टेल आफ्नो प्ले ग्राउन्ड थिएन।
७२ सालसम्म आइपुग्दा के थियो भने एउटा खेलाडी र क्लबको बीचमा १२ महिनाको एग्रिमेन्ट हामीले सुरु गर्यौं। अब पहिला त के थियो भने आज एउटा क्लबबाट खेल्यो भोलि अर्कोबाट खेल्यो। एउटै वर्षमा ६-७ वटा क्लब पनि चेन्ज गर्न पाइन्थ्यो। तर, हामीले एक वर्षको सिस्टम जुन लागु गर्यौं, त्यसबाट व्यावसायिकता अगाडि बढ्यो।
त्यो वर्ष एक करोड पुरस्कार थियो। एनसेलको माध्यमबाट बेस्ट प्लेयरलाई एनसेल अफ दि प्लेयर अफ दियर दिने सिस्टम सुरु गर्यौं। कार, अपार्टमेन्टबाट सुरु गर्यौं। जति राम्रो टिम भए पनि अन्तर्राष्ट्रिय रुपमा आकर्षक रिजल्टहरु हामीले ल्याउन भने सकेनौं। तर व्यावसायिकता र खेलाडीले खेलेरै बाँच्न सक्ने स्थिति चाहिँ बन्दै गएको थियो।

डाउनफल !
सबभन्दा पहिला चाहिँ लिडरसिपले बिस्तारै प्रमाणित गर्न सकेन। प्रायोजकले किन प्रायोजन गर्छ? कम्पनीले पैसा तिरिसकेपछि कम्पनीले उसको त नाम आओस्, चर्चा पाओस् भन्ने चाहन्छ। त्यो किसिमको आयोजना चाहिँ असफल भयो। अर्को कुरा, नियमित रुपमा प्रतियोगिता नै हुन सकेन। यस कारणले प्रायोजकहरु बिस्तारै-बिस्तारै हट्दै गए। अहिले एउटा फुटबल भन्दा भाग्ने स्थिति बन्दै गयो।
अहिले त्यो कतार एयरवेजले एउटा देशको भएकाले निरन्तरता दिएको मात्र हो। एनसेल, सूर्य नेपाल, गोर्खा ब्रुअरी जस्ता टप कम्पनीहरु किन अहिले इन्ट्रेस्टेड छैनन् भन्दा आयोजना नै राम्रो भएन।
नेतृत्व प्यासनेट हुनुपर्यो नि। केही गर्छु भन्ने भावना हुनु पर्यो। मैले घमण्ड गर्या होइन, त्यो यथार्थ हो।
‘एन्फाले चुनौती कमजोरी स्वीकारोस्, सहयोग गर्छु‘
चार वर्षमा एउटा लिग गर्ने। ए, बी, सी जिल्ला लिग चार वर्षमा एकपटक गर्ने। कुनै नकआउट प्रतियोगिता गर्दै नगर्ने। स्कुल प्रतियोगिता चार वर्षमा एकपटक गर्ने गरेको छ।
चाहे अहिलेको नेतृत्व होस् चाहे भविष्यमा नेतृत्व, उहाँहरुलाई म के भन्न चाहन्छु भने साँच्चिकै ‘ल दाई हामीले सकेनौँ एकपटक फेरि नेपालको लिगलाई चाहिँ तपाईले हेर्दिनुस्’ भनेर एउटा स्वतन्त्र कमिटी बनाएर मलाई जिम्मा देओस्। म एकपटक भोलेन्टियर्ली सहयोग गर्न तयार छु। लिगलाई होम एण्ड अवेमा यसरी गरेर देखाइदिन्छु, क्रिकेटले चाहिँ एकपटक पनि सोच्नुपर्ने हुन्छ – कुन लिगमा प्राइज मनी र तलब कुनमा धेरै हुन्छ।
अहिले एन्फामा भएकाहरुबाट त्यो निस्वार्थ भावनाले फुटबल बिग्रियो भत्कियो भनेर चिन्ता गरेर जिम्मेवारी मलाई दिइयो भने म लिन तयार छु। मलाई चाहिँ ६ महिना चाहिन्छ। तीन महिनाभित्र म सक्दिन। होम एण्ड अवेकै आधारमा गर्न सक्छु।

अहिले एन्फाले गर्न खोज्या छ। पुसमा गर्ने भन्या छ। त्यो सम्भावना यो त पुसमा भन्या छ, म सम्भावनै देख्दिन। किनभने उहाँहरु चाहिँ तयारी खर्च पनि नदिने रे, ट्राभल कस्ट पनि नदिने रे, कसरी क्लबले अहिले एकैचोटि सक्छ? म एकैचोटि उहाँहरुलाई ट्राभल कस्ट पनि दिन्छु, तयारी खर्च पनि दिन्छु। प्राइज मनी पनि बनाउछु। तर, ६ महिनाको समय दिनुस्। फेरि एउटा नेपालमा रंगशालामा टनाटन भर्न सक्छु। मैले यो घमण्ड गरेको होइन ,त्यो क्षमता मसँग छ।
(एन्फाका पूर्वअध्यक्ष गणेश थापासँग बिजमाण्डूका मुकुन्द घिमिरेले गरेको कुराकानीमा आधारित)











