नवरात्रका नौ देवी स्वरुप : आध्यात्मिक आस्थासँगै वित्तीय अनुशासनका सन्देश



अर्पण पौडेल
२०८२ असोज १० गते ०६:११ | Sep 26, 2025
नवरात्रका नौ देवी स्वरुप : आध्यात्मिक आस्थासँगै वित्तीय अनुशासनका सन्देश

बडादसैं शक्ति, साधना अनि आत्मउत्थानको पनि पर्व हो। नौ दिनसम्म विभिन्न स्वरुपका देवी दुर्गाको आराधना गरिन्छ, जसले मानिसहरुलाई नकारात्मकता अन्त्य गरि सकरात्मकताको आरम्भ तथा प्रवर्धन गर्नका लागि सदैव बहुआयामिक सन्देशहरु दिइरहेको हुन्छ। वित्तीय अनुशासनका दृष्टिले पनि आत्मउत्थानको विशेष अवसर हो। परम्परागत रूपमा धार्मिक–आध्यात्मिक महत्त्वमा केन्द्रित भए पनि नवरात्रका प्रत्येक देवी स्वरुपमा जीवनका हरेक पक्षलाई दिशा दिने अमूल्य शिक्षा लुकेको हुन्छ।

Tata
GBIME
Nepal Life

विशेषगरी आजको आधुनिक जीवन आर्थिक क्रियाकलाप, दैनिकीको खर्च, लगानी, जोखिम र भविष्यका योजनामा गाँसिएको छ। यो जीवनशैलीलाई एउटा युद्धभूमिसँग तुलना गर्न सकिन्छ, जहाँ संयम, धैर्य, योजना र आत्मबलको साथमा मात्र सफलता सम्भव हुन्छ। यस परिप्रेक्ष्यमा हेर्दा नवरात्रमा आराधना गरिने देवी स्वरुपहरुले वित्तीय अनुशासन, दीर्घकालीन सोच, लगानी, जोखिम व्यवस्थापन र दान–साझेदारी जस्ता विषयमा उल्लेखनीय मार्गदर्शन गरेका छन्।

शैलपुत्री : स्थिर आधार र वित्तीय जग

नवरात्रको पहिलो दिन एक हातमा त्रिशूल र अर्को हातमा कमलको फूल लिएकी शैलपुत्रीको पूजा गरिन्छ। पर्वतराज हिमालयकी छोरी भएकी उनी स्थिरता र बलको प्रतीक हुन्। जसरी पहाड मजबुत र अडिग हुन्छ, त्यसरी नै वित्तीय यात्राको सुरुवात पनि बलियो आधारबाट हुनुपर्छ।

  • आफ्ना आम्दानी र खर्चको स्पष्ट हिसाब राख्ने
  • आवश्यकता र चाहनाबीच छुट्याउने
  • योजनाबद्ध बजेट तयार गर्ने

यी अभ्यास नै बलियो वित्तीय जगका स्तम्भ हुन्। शैलपुत्रीले सिकाउँछिन् – ठोस आधार बिना ठूलो घर खडा गर्न सकिँदैन, त्यस्तै वित्तीय जीवन पनि जग बलियो नभए अस्थिर हुन्छ।

ब्रह्मचारिणी : अनुशासन र धैर्यको महत्त्व

नवरात्रको दोस्रो दिन पूजिने ब्रह्मचारिणी तपस्याको प्रतीक हुन्। उनको सेतो वेश, हातमा जपमाला र कमण्डलु अनुशासन र संयमको स्मरण गराउँछ। वित्तीय जीवनमा अनुशासन भनेको अनावश्यक खर्चलाई नियन्त्रण गर्ने, क्षणिक प्रलोभनबाट जोगिने र दीर्घकालीन लक्ष्यमा अडिग रहनु हो।

  • आम्दानीभन्दा बढी खर्च नगर्ने
  • चाहना भन्दा आवश्यकता प्राथमिकतामा राख्ने
  • योजना पुरा नभएसम्म धैर्यपूर्वक प्रतीक्षा गर्ने

यिनै गुण वित्तीय सफलताको मेरुदण्ड हुन्, जसलाई ब्रह्मचारिणीले जीवन्त शिक्षा दिन्छिन्।

चन्द्रघण्टा : साहस, जोखिम व्यवस्थापन र सन्तुलन

तेस्रो दिनको देवी चन्द्रघण्टा, दस हातमा अस्त्र–शस्त्र धारण गरी सिंहमा सवार, साहस र सन्तुलनको प्रतीक हुन्। उनको निधारमा अर्धचन्द्र ज्ञान र प्रकाशको चिन्ह हो। वित्तीय दृष्टिले, उनले सिकाउँछिन् – सबै लगानी एउटै ठाउँमा नगर्ने। विविध क्षेत्र वा साधनमा लगानी गरेर मात्र जोखिम घटाउन सकिन्छ।

  • लगानीमा सन्तुलन ल्याउने
  • जोखिम बुझेर निर्णय गर्ने
  • आय-व्यय, बचत र लगानीबीच सन्तुलन कायम गर्ने

चन्द्रघण्टाले हामीलाई सम्झाउँछिन् – साहस बिना अवसर पक्रन सकिँदैन, तर सन्तुलन बिना सफलता टिक्दैन।

कृष्माण्डा : सिर्जनात्मकता, बचत र वृद्धिको शिक्षा

ब्रह्माण्डलाई मुस्कानको ऊर्जाबाट उत्पत्ति गर्ने कृष्माण्डा सृजनशीलता र आशाको देवी हुन्। उनको स्वरुपले सिकाउँछ -अन्धकारबाट पनि प्रकाश जन्मिन्छ, शून्यताबाट पनि सिर्जना सम्भव हुन्छ।
वित्तीय जीवनमा कृष्माण्डाको शिक्षा :

  • आम्दानीको एक हिस्सा बचत गर्नु
  • बचतलाई निष्क्रिय नराखी बुद्धिमानीपूर्वक लगानी गर्नु
  • धनी बन्ने हतार नगरी धैर्यपूर्वक सम्पत्ति वृद्धि गर्ने

वास्तवमा, बचत र लगानीकै माध्यमले भविष्य उज्यालो हुन्छ।

स्कन्दमाता : सुरक्षा र मातृत्वको मूल्य

पाँचौं दिन पूजिने स्कन्दमाता मातृत्व, करुणा र सुरक्षाको प्रतीक हुन्। उनले भगवान कार्तिकेयलाई पालनपोषण गरी संसारलाई तारकासुरबाट मुक्त गरिन्। वित्तीय दृष्टिले स्कन्दमाताले सिकाउँछिन् – सम्पत्ति कमाउनु मात्र होइन, सुरक्षित राख्नु पनि उतिकै जरुरी छ।

  • आकस्मिक कोषको व्यवस्था
  • बीमा जस्ता सुरक्षा साधन अपनाउने
  • लगानीलाई नियमित समीक्षा गर्ने

उनको मातृत्व गुणले सम्झाउँछ – हामीले आफ्ना परिवार र भविष्यलाई जोगाउन वित्तीय सुरक्षालाई बेवास्ता गर्न हुन्न।

कात्यायनी : हिम्मत र विवेकपूर्ण निर्णय

छैटौं दिनकी देवी कात्यायनी साहस र वीरताको प्रतीक हुन्। राक्षसहरुलाई परास्त गर्न उनी अवतारित भएकी थिइन्।वित्तीय जीवनमा उनीबाट पाइने शिक्षा यस्ता छन् –

  • गलत बानी वा खर्चलाई पहिचान गरी सुधार्ने
  • ठूला निर्णय अघि अनुसन्धान र विश्लेषण गर्ने
  • असफलताबाट सिकेर नयाँ सुरुवात गर्ने

कात्यायनीले सन्देश दिन्छिन् – आर्थिक निर्णय हिम्मतका साथ लिनुपर्छ, तर विवेकपूर्ण आधारमा मात्रै।

कालरात्रि : जोखिम, ऋणमुक्ति र समाधान

सातौं दिन पूजिने कालरात्रि अत्यन्तै भयानक स्वरुपमा देखाइन्छिन्, तर उनी भय नाश गर्ने र सुरक्षा दिने देवी हुन्। वित्तीय जीवनमा उनीबाट पाइने शिक्षा विशेष महत्त्वपूर्ण छ –

  • उच्च ब्याजदरका ऋण तुरुन्तै तिर्ने
  • चाहनापूर्ति गर्न ऋणको जालमा नफस्ने
  • समस्यालाई नजरअन्दाज नगरी तुरुन्तै समाधान खोज्ने

कालरात्रिले सम्झाउँछिन् – आर्थिक भय वा संकटबाट भागेर होइन, सामना गरेर मात्रै मुक्ति सम्भव हुन्छ।

महागौरी : पवित्रता, पारदर्शिता र सरलता

आठौं दिन पूजिने महागौरी शुद्धता र सरलताको प्रतीक हुन्। तपस्यापश्चात् गंगामा स्नान गर्दा पाएको उनको उज्यालो स्वरुप पारदर्शिताको सन्देश दिन्छ। वित्तीय जीवनमा महागौरीको शिक्षा –

  • खर्च, बचत र लगानीमा स्पष्टता
  • योजनालाई सहज र कार्यान्वयनयोग्य बनाउनुपर्ने
  • ठगी वा अवैध लगानीबाट टाढा रहनुपर्ने

उनको पवित्र स्वरुपले सम्झाउँछ – वित्तीय अनुशासन शुद्ध र पारदर्शी भए मात्र दिगो सफलता सम्भव हुन्छ।

सिद्धिदात्री : पूर्णता, ज्ञान र साझेदारी

नवौं दिन पूजिने सिद्धिदात्रीले अष्टसिद्धि प्रदान गर्ने विश्वास छ। उनी बुद्धि, विवेक, आत्मविश्वास र आत्मज्ञानको प्रतीक हुन्। वित्तीय जीवनमा उनले दिने सन्देश –

  • लक्ष्य पूरा भएपछि पनि अनुशासन कायम राख्ने
  • सफलता र उपलब्धि अरुसँग बाँड्ने
  • स्थायी आनन्द साँचो ज्ञान र विवेकबाट मात्र सम्भव हुन्छ

सिद्धिदात्रीले सिकाउँछिन् – धन मात्र होइन, विवेक र ज्ञानसँगै मात्र जीवन सफल र सन्तुष्ट हुन्छ।

नवरात्रका नौ देवी स्वरुप केवल धार्मिक आस्था र आध्यात्मिक साधनामा सीमित छैनन्। तिनीहरू जीवनका प्रत्येक पक्ष, विशेषगरी वित्तीय व्यवस्थापनमा पनि मार्गदर्शक हुन्। यदि हामीले शैलपुत्रीको बलियो आधार, ब्रह्मचारिणीको अनुशासन, चन्द्रघण्टाको सन्तुलन, कृष्माण्डाको बचत, स्कन्दमाताको सुरक्षा, कात्यायनीको विवेक, कालरात्रिको ऋणमुक्ति, महागौरीको पारदर्शिता र सिद्धिदात्रीको ज्ञानलाई व्यवहारमा उतार्न सक्यौं भने हाम्रो वित्तीय जीवन अनुशासित, लक्ष्य–केन्द्रित र सफल बन्ने निश्चित छ।

यस वर्षको नवरात्रलाई केवल धार्मिक पर्वको रूपमा मात्र नभई वित्तीय अनुशासन र आत्मबलको नयाँ सुरुवातको अवसर बनाऔं। देवी दुर्गाले हामी सबैलाई विवेकपूर्ण निर्णय गर्ने शक्ति, अनुशासन कायम राख्ने क्षमता र सफल जीवन जिउने आशीर्वाद प्रदान गरून्। जय दुर्गे।

(उल्लिखित विचार लेखकका निजी भएकाले आबद्ध संस्थाको प्रतिनिधित्व गर्दैनन्)