काठमाडौं। कोदारीमा पहिरोले अवरुद्ध बाटो खुलाउन सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोली तातोपानी पुगेको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले कोदारीको सडक दुई दिनभित्र बनाउन निर्देशन दिएपछि विभागका महानिर्देशक जैसीसहितको विभागको टोली बिहीबार तातोपानी पुगेको हो।
जैसीले बिहीबार नै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, तातोपानी भन्सारका प्रमुख, व्यवसायी र कोदारीका स्थानीयसँग पहिरो पन्छाएर सडक खुलाउने विषयमा छलफल गरेका छन्।
सडक डिभिजन कार्यालय दोलखाका इन्जिनियर सुरज मर्जनका अनुसार कोदारीका स्थानीय पानी नपरेको समयमा बाटो बनाउन दिन सहमत भएका छन्। पहिरो पन्छाएर बाटो खुलाउने क्रममा वस्तीमा कसनै क्षति भएमा सरकारले जिम्मेवारी लिनुपर्ने स्थानीयको सर्त छ।
छलफलमा भएको सहमति अनुसार शुक्रबारबाट पहिरो पन्छाउने काम हुनेछ। महर्जनले मौसमले साथ दिए २/३ दिनभित्र बाटो सञ्चालनमा आउने बताए। तर, पानी परेको अवस्थामा बाटो सञ्चालनमा ल्याउन सहज नहुने उनको भनाइ छ।
कोदारीको सडक बिग्रिएका कारण तातोपानी नाका बन्द छ। व्यवसायीहरुले भरियालाई बोकाएर सामान ल्याइरहेका छन्। शुक्रबारबाट भरियालाई बोकाएर सामान ल्याउन बन्द गर्ने सहमति भएको छ।
कोदारीमा पहिरो गएको सडकको माथि वस्ती रहेकाले स्थानीयले विरोध गर्दै आएका थिए। कुलमानले बुधबार भोटेकोशी गाउँपालिका-२ का अध्यक्ष लगायतसँग काममा अवरोध नगर्न भनेका थिए। स्थानीयसँगको सहमतिपछि कुलमानले विभागका महानिर्देशक जैसीलाई फिल्डमा खटिएर काम गर्न निर्देशन दिएका थिए।











