होटलमै आक्रमण भएपछि पर्यटकले गर्न थाले बुकिङ रद्द, संचालन खर्च घटाउन ‘लाइट अफ’



साइराम उपरकोटी
२०८२ असोज १ गते १७:४० | Sep 17, 2025
होटलमै आक्रमण भएपछि पर्यटकले गर्न थाले बुकिङ रद्द,  संचालन खर्च घटाउन ‘लाइट अफ’

काठमाडौं। जेनजी आन्दोलनको असर देशभरक होटलमा देखिन थालेको छ। अवस्था अनुकूल नहुँदा पर्यटकहरूले बुकिङ रद्द गर्न थालेको होटल एशोसिएसन अफ नेपालले जनाएको छ।

Tata
GBIME
Nepal Life

पर्यटकीय सिजन मानिने सेप्टेम्बर र अक्टोबर महिनामै साना होटल देखि स्टार होटलसम्मको बुकिङ रद्द भएको एशोसिएसनले जानकारी दिएको हो।

एक होटल व्यवसायीका अनुसार ३ दिनदेखि होटल पूर्ण रुपमा खाली छ। होटलमा एक/दुई वटा कोठा बाहेक अरु पूरै खाली रहेको उनको भनाइ थियो।

‘तिहारसम्मको बुकिङ रद्द भएको छ। केही प्रतिशत बुकिङ छ। त्यो पनि आउँछ आउँदैन थाहा छैन्,’ ती व्यवसायीले भने, ‘विदेशी चेन होटलमा नै आक्रमण भएपछि पर्यटकले बुकिङ रद्द गरेका हुन्। सिजनकै मुखमा भएको विध्वंशले पर्यटकीय चहलपहल ठप्प भयो।’

जेनजी आन्दोलनका क्रममा नक्सालको हिल्टन होटलसँगै पोखराका चलेका होटलमाथि आक्रमण भएको थियो। ती होटल संचालन हुन सक्ने अवस्थामा नै छैन। अहिले होटलको संचालन खर्च कटौती विभिन्न जुक्ति निकाल्न थालिएको छ। अन्य बेला झिलिमिलि हुने होटलहरूले चाहिने अवस्थामा बाहेक बत्ती निभाउन थालेका छन्।

‘हामीले खर्च कटौती गर्नसक्ने उपायहरू लगाइरहेका छौं। नेपालमा रहेका पाहुनाहरू पनि बुकिङ मिति घटाइरहेका छन्। स्टाफहरूलाई काम नभएर छुट्टीमा घर पठाइएको छ,’ ती व्यवसायीले भने।

कोभिड १९ को अवस्थापछि ब्युँतिएको होटल व्यवस्था अहिले फेरि त्यही अवस्थामा पुगेको उनले सुनाए।

‘आन्तरिक पर्यटकले समेत पछिल्लो अवस्थाका कारण बुकिङ रद्द गरिरहेका छन्। सबैले जसरी हुन्छ संचालन खर्च कटौती गर्न थालेका छन्।’ उनले भने।

उनी चाँडै अवस्था सुधार भए पर्यटकको आगमन बढ्नेमा भने निश्चिन्त छन्।

यस्तै, कोरा टुर्सका प्रमुख कार्यकारी निर्देशक विजय आमात्यले पनि नेपाल आउने पर्यटकको संख्या घटेको बताउँछन्। जेनजी आन्दोलनका कारण विभिन्न देशले ट्राभल एडभाइजरी जारी गरेको कारण नेपाललाई प्रमुख गन्तव्यमा राखेकाहरूको ‘मुड चेन्ज’ भएको छ। नराखेकोले विदेशी पर्यटक नेपाल आउन नचाहेको बताए।

‘हरेक देशले यो देशमा घुम्न जान सकिन्छ सुरक्षित छ भनेर ट्राभल एडभाइजरी गर्ने गर्छ। त्यसमा आन्दोलनका कारण नेपाल राम्रो स्थानमा पर्न सकेको छैन्,’ उनले भने, ‘ट्राभल एडभाइजरीका कारण असुरक्षित देशमा आउने पर्यटकको बीमा पनि नगर्ने भएकोले पर्यटकहरूले बुकिङ रद्द गरेका हुन्।’