कुलमानले तत्काल अगाडि बढाउने यी पाँच काम, जिम्मेवारी पूरा नगर्नेलाई तत्काल हटाइने



बिजमाण्डू
२०८२ भदौ ३० गते १६:१६ | Sep 15, 2025
कुलमानले तत्काल अगाडि बढाउने यी पाँच काम, जिम्मेवारी पूरा नगर्नेलाई तत्काल हटाइने

आज म गौरवभन्दा पनि गह्रौं मन लिएर तपाईंहरूसामु उभिएको छु। पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौं। उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए। उनीहरूको त्याग र साहसले परिवर्तनको जग हालेको छ। सबैप्रति सम्मान व्यक्त गर्दछु। साथै कर्तव्य पालनाको क्रममा ज्यान गुमाउनु भएका तथा घाइते सुरक्षाकर्मीहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु। तपाइँहरूको पीडा मेरो हृदयमा गहिरो रूपमा बसिरहेको छ।

Tata
GBIME
Nepal Life

आज म भारी जिम्मेवारीका साथ ऊर्जा जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकास मन्त्रीको रूपमा शपथ लिएको छु। मुलुकको पूर्वाधार क्षेत्रको मार्ग कोर्ने मन्त्रालयहरु सम्हाल्ने पद सम्मान मात्र होइन, पीडा र आशाको बीचमा आएको ठूलो जिम्मेवारी हो। अहिले मेरो उद्देश्य छ-जे भत्किएको छ, त्यसलाई मर्मत गर्ने, जे जलेको छ, त्यसलाई पुनर्निर्माण गर्ने।

जनताको आवाज सडकमा उठेको छ, तर एउटा कुरा स्पष्ट पार्न चाहन्छु-अन्यायको लडाइँ विद्यालय, अस्पताल, सार्वजनिक सम्पत्ति जलाएर जितिँदैन। यी सम्पत्ति सबै नेपालीका हुन्, विशेषगरी गरिब र युवाका आवाज उठाऔं, तर सम्पत्ति बचाऔं।तर, हिंसा होइन, समाधान हाम्रो बाटो हो। विध्वंस होइन, निर्माण हाम्रो अभियान हो। तर त्यसका लागि हरेको व्यक्ति, संस्था र सुरक्षा निकायदेखि सबैको साथ आवश्यक छ। तपाइँहरूको साथ नपाई त्यो सम्भव छैन।

जेनजी पुस्ताले देशभित्रै सुन्दर भविश्य र व्याप्त भ्रष्टाचार नियन्त्रणका लागि ऐतिहासिक प्रतिरोध गर्नुभयो र अहिलेको अवस्था सिर्जना भयो यसका लागि सबै बधाईको पात्र हुनुहुन्छ। जेनजी पुस्ताले देखेको समुन्नत नेपालको सपना साकार पार्ने यात्राको यो सुरुवात अब पुनर्निर्माण, सहकार्य र साझा भविष्य निर्माणको लागि हातेमालो गर्नुपर्दछ।

आन्दोलनका कारण सार्वजनिक एवम् निजी क्षेत्रका संरचनामा ठूलो क्षति पुगेको छ। सार्वजनिक सेवा प्रभावको चक्र नराम्ररी प्रभावित भएको छ। अर्थतन्त्रको एउटा हिस्सेदार निजी क्षेत्रको मनोबल गिरेको छ। यस्तो अवस्थामा सबैको मनोबल उच्च राखी पुनर्निर्माणको कार्य अगाडि बढाउनु र तोकिएकै समयमा चुनाव गराउनु पर्ने दायित्व सरकारसँग छ।

हामीसँग समय छोटो छ तर एक सेकेण्ड पनि खेर नफाली मुलुकको हितका लागि काम गरिने छ। हालको विषम परिस्थिति र छोटो समयको चुनौती अवसरको रुपमा प्रयोग गरी कार्य अगाडि बढाइनेछ। सार्वजनिक संरचनामा क्षति पुग्दा प्रभावित भएको सार्वजनिक सेवालाई तत्काल सुचारु गर्ने कार्यलाई उच्च प्राथमिकता राखी सोहीबमोजिम द्रुत गतिमा कार्य अगाडि बढाइनेछ। आम चुनावका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ।

विगतमा मुलुकले बेहोरिरहेको दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र नेपाल विद्युत प्राधिकरणको कार्यकारी हुँदा हासिल गरेको प्राविधिक, प्रशासनिक र व्यवस्थापकीय अनुभवलाई भरपुग प्रयोग गरिनेछ। देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषणा गरिएको ‘उज्यालो नेपाल अभियानलाई कार्यान्यनतर्फ अगाडि बढाइने छ।

‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियानलाई सार्थक बनाउन सोहीअनुसार कार्य गर्न सबैलाई निर्देश गर्दछु।

उज्यालो नेपाल अभियान मेरो जीवन–मार्ग हो। युवापुस्ताको भविष्य उज्यालो बनाउने, जनताको जीवनमा उज्यालो ल्याउने र नेपालको भविष्य उज्यालो बनाउने राजनीतिक ब्रत पालनमा मैले आफ्नो जिवन समर्पित गरेको छु। जेनजी पुस्ताको नेतृत्वमा भएको ऐतिहासिक परिवर्तनलाई सार्थक तुल्याउनु नै आजको प्रमुख राष्ट्रिय एजेण्डा हो।

यसको सफल कार्यान्वयनका लागि राष्ट्रिय राजनीति र शासकीय संस्कृतिलाई जनचाहनाबाट निर्देशित, जनहितमा समर्पित र जनता प्रति जवाफदेही बनाउनु परेको छ। मेरो कर्मक्षेत्र यही हो, सधैं यही रहने छ। यही सोचबाट निर्दिष्ट भएर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूको टिममा बसेर जेनजी पुस्ताको दृढ़ सङ्कल्प, संघर्ष र बलिदानलाई सार्थक सिद्ध गर्न सुन्दर, समुन्नत नेपाल निर्माणमा समर्पित भएको छु। यो विश्वासका साथ जिम्मेवारी पाएको छु। यो विश्वास मेरो लागि प्रेरणाको स्रोत हो। र, म यो विश्वासलाई नतिजामा परिणत गर्नेछु। यसका लागि सबैको साथ र सहयोगका लागि अनुरोध गर्दछु।

तत्काल अगाडि बढाइने मुख्य कार्य

१. सार्वजनिक संरचनामा पुगेको क्षति यकिन गरी पुनर्निर्माण कार्य तत्काल अगाडि बढाइने छ।

२. पुनर्निर्माणका लागि ‘हाम्रा सार्वजनिक संरचना हामी आफैं बनाउँनेछौं’ भन्ने अभियान सञ्चालन गरिनेछ। देश विदेशमा रहेका सम्पूर्ण नेपालीलाई पुनर्निर्माणमा सहभागी गराई अपनत्व लिने गरी सबैको साथ र सहयोगबाट पारदर्शी रुपमा पुनर्निर्माण कार्य अगाडि बढाइने छ।

३. मन्त्रालय र यसअन्तर्गतका निकायभित्र हुने भ्रष्टाचार, अनियमिता र ढिलासुस्तिमा शून्य सहनशीलता अवलम्बन गरिनेछ। यस्ता क्रियाकलाप सह्य हुनेछैन। कसैले त्यस्ता कार्य गरेको फेला परेमा तत्कालै कारबाही गरिनेछ। जेनजीले मुख्य रुपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ।

४. कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्नेलगायतमा विगतमा सुनिएका अनियमितालाई नियन्त्रण गरी सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारीलाई कडाइका साथ लागू गरिनेछ। कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन। तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ। असल नियत राखी ढुक्क भएर काम गर्न सबैलाई निर्देश गर्दछु।

५. चालु रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कातर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्पनापूर्ण अवस्था छ। यसलाई चिर्न चालु अवस्थामा रहेका ठूला आयोजना निर्माण कार्यलाई तिब्रता दिइने छ भने रणनीतिक महत्व र रुपान्तरणकारी केही ठूला योजनालाई अगाडि बढाइने छ। प्राथमिकताका आधारमा आयोजना छनोट गरी परिणाम निक्लने गरी कार्य अगाडि बढाइनेछ। अहिले हाम्रा लागि हरेक सकेण्ड महत्वपर्ण छ।

तसर्थ, यो समय खादा माला लगाएर तामझाम गर्नु होईन काम गरेर जेन जी पुस्ताले देखेको समना साकार पर्ने हो जसरी विगतमा यहाँहरुबाटहौसला, प्रेरणा, साथ र सहयोग प्राप्त हुँदा लोडसेडिङ अँध्यारोबाट मुलकलाई मुक्त गर्न सक्यौं तसर्थ, अहिलेको विषम परिस्थितमा विगतको जस्तै साथ सहयोग प्राप्त हुने विश्वास लिएको छु।

(कुलमान घिसिङले मन्त्री नियुक्त भएपछि मन्त्रालयका कर्मचारीमाझ राखेको विचार।)