पोखरा। जेनजी आन्दोलनका नाममा होटल तथा रिसोर्ट लगायतका क्षेत्रमा भएको आक्रमणमा पोखरामा तीन अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति नोक्सानी भएको छ। क्षतिको प्रारम्भिक आँकडा होटल संघ पोखराले शुक्रबार सार्वजनिक गरेको हो।
संघका पोखरा अध्यक्ष लक्ष्मण सुवेदीले विज्ञप्ति जारी गर्दै तोडफोड र आगजनीबाट होटल उद्योगमा अकल्पनीय क्षति भएको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकार पर्यटकीय प्रतिष्ठानमाथि भएका घटनाको निष्पक्ष छानबिन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्स्योरेन्स कम्पनी र सम्बन्धित सरोकारवाला पक्षसँग संघ हार्दिक अपिल गर्न चाहन्छौं।’
यसका लागि शक्तिशाली न्यायिक समिति गठन गरिनुपर्ने माग संघको छ। आक्रमणकारीको पहिचान गरी कारबाही हुनुपर्ने, व्यवसायीलाई उचित क्षतिपूर्ति दिलाउनुपर्ने पनि माग छ।
प्रभावित होटलहरूको मर्मत सम्भार तथा पुनर्निर्माणका लागि सरकार, इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्ने कार्यमा सहयोग रहने विश्वाससमेत संघले दिलाएको छ।
पोखराको लेकसाइड क्षेत्रमा खासगरी होटल सरोवर प्रालि, होटल एड्म, होटल पोखरा गुडविल प्रालि, वरपिपल रिसोर्ट प्रालि, बगैंचा रिसोर्ट एण्ड स्पा प्रालि लगायतमा तोडफोड र आगजनी भएको थियो। घटनामा परेका होटल रिसोर्टको सेवा प्रभावित भएको छ। यसले पर्यटक पनि प्रभावित भएको संघले जनाएको छ।
पर्यटकीय सिजन सुरु हुनै लाग्दा भएको यस प्रकारको दुःखद घटनाबाट पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पर्ने संघको ठहर छ। यसका कारण बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा, ऋण तिर्न पनि व्यवसायीहरु असमर्थ हुने अवस्था आएको जनाउँदै संघले व्यावसायिक सुरक्षा कायम राख्न नेपाल सरकारसँग माग गरेको छ।
आक्रमणका घटनाप्रति दुःख व्यक्त गर्दै संघले पीडित व्यवसायीप्रति सहानुभूति प्रकट समेत गरेको छ। घटनामा अर्बौंको क्षति हुनुका साथै हजारौं कामदारसमेत प्रत्यक्ष प्रभावित भएकोमा संघले चिन्ता जनाएको छ।











