भ्रष्टाचारको मुद्दा ‘हाइज्याक’ गरेर स्वार्थको रोटी सेक्ने समूहसँग सचेत होस् जेनजी



ऋषिकेश दाहाल
२०८२ भदौ २५ गते १६:५९ | Sep 10, 2025
भ्रष्टाचारको मुद्दा ‘हाइज्याक’ गरेर स्वार्थको रोटी सेक्ने समूहसँग सचेत होस् जेनजी


काठमाडौं। मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध युवा पुस्ता जेनजीले थालेको अभियानले मुलुकको राजनीतिलाई नयाँ मोडमा ल्याएको छ। जेनजीले जुन मुद्दा उठाएर आन्दोलनलाई अहिलेको अवस्थामा पुर्‍याए, त्यसलाई हाइज्याक गर्ने दाउमा समूहहरू सक्रिय भइसकेका छन्। स्वय‌ंम् जेनजी समूहभित्र भने कसरी अगाडि बढ्ने भन्ने योजनाको चित्र प्रष्ट भइसकेको देखिएको छैन।

Tata
GBIME
Nepal Life

भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलनलाई केपी ओली नेतृत्वको सरकारले दमन गर्न खोज्दा परिस्थिति बदलिन पुगेको थियो। अन्धाधुन्ध गोलीका कारण निहत्था बालबालिकासहित युवाहरूले ज्यान गुमाउन परेपछि आन्दोलन थप निर्णायक मोडतिर धकेलियो। त्यसमाथि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भयुक्त व्यवहारले आन्दोलनलाई थप आक्रोशित बनायो।

मन्त्रिपरिषदमा नै कांग्रेसबाट मन्त्री बनेका प्रदीप पौडलसँग ओलीको बाझाबाझ चलेको थियो। पौडेलले तत्काल सोसल मिडिया खुला गर्न माग गर्दा जेनजीसँग नझुक्ने अडान लिएका थिए ओलीले। ओलीको हठ अन्तत: सबै राजनीतिक दलका लागि प्रत्युत्पादक बन्यो। ओली आफैं जोगिने अवस्थामा रहेनन्।

जेनजीले आफ्ना मागमा प्रधानमन्त्रीको राजीनामालाई प्रमुख रुपमा उठाएका थिए। यसै पनि ओली कोभिड-१९ को समयदेखि नै भ्रष्टाचारको जालोमा जोडिएका थिए। स्वार्थ समूह र विचौलियासँग ओलीको निकटता र उनीहरूको स्वार्थअनुकूलका नीतिगत निर्णयले उनलाई सधैं विवादित बनाइरह्यो। विवादित ओलीसँगको सहकार्य यसपटक कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको सिंगो पार्टीका लागि प्रत्युत्पादक बन्यो।

ओलीको बेहोराबाट आजित युवा पुस्ता कांग्रेससँग उत्तिकै रुष्ट बने। अरुभन्दा धेरै पत्याएका गगन थापाको भूमिकाबाट युवा पुस्ता सन्तुष्ट थिएन। किनकि सधैं विद्रोही स्वभावका गगन पछिल्लो समय निस्तेज त थिए नै, पार्टी सभापतिको ओलीसँगको निकटतालाई चिर्न असफल थिए। त्यसैले जेनजीले विश्वास गरेका गगन निसानामा परे।

मुख्य राजनीतिक नेतृत्वप्रतिको आक्रोश युवा पुस्तामा जसरी उत्पन्न भइरहेको थियो त्यसको फाइदा आकलन गरेर बस्नेहरू ‘मौकाको तलास’मा थिए। परिस्थिति परिपक्व हुनासाथ आन्दोलनलाई आफ्नो पक्षमा रुपान्तरण गर्ने चाहनामा राजावादीसँगै थिए राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू।

आन्दोलनको नेतृत्व गरिरहेको जेनजीको समूहले परिस्थिति प्रतिकूल हुने आकलन गरेर घर फर्किन भनिसकेको थियो। सोसल मिडियाबाट उनीहरूले युवाहरूलाई गरेको आह्वान प्रभावकारी बनेन किनभने आन्दोलनको भिडमा ती सन्देश कमजोर बने। ठीक त्यही अवस्थामा आन्दोलनभित्र छिर्‍यो अराजक समूह। संसद भवन रहेको वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र कब्जामा लिन उक्त समूह सक्रिय भएपछि परिस्थिति थप जटिल बन्यो। भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका किशोरहरूलाई ओली सरकारले गोली दाग्यो। गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओली हत्याका प्रमुख जिम्मेवार हुन्। लेखकले राजीनामा दिए तर ओली जेनजीको विषयमा टसका मस हुन चाहेनन्।

प्रहरीले गोली हानिसकेपछि परिस्थिति कसैको नियन्त्रणमा रहनसक्ने अवस्था समाप्त भयो। यही मेसोमा थप वितण्डाका शृंखलाहरू अगाडि बढ्यो। आगजनीका क्रम सुरु भयो। जेनजीले आगजनी चाहेकै थिएन, लुटपाटको कल्पना त टाढाको विषय। त्यही घुसेको स्वार्थ समूहले जेनजी उमेरका युवालाई नै यसरी परिचालित गर्‍यो कि एकाएक मुलुकको प्रमुख केन्द्र धुवाँधुवाँ बन्न पुग्यो। व्यापारिक घराना र व्यक्तिका घर छानीछानी आगजनीमा परे।

संसदमा रहेका प्रमुख दलहरूमध्ये रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलका नेता आगजनीको निसानामा परे। आगोले यहाँ दुईवटा राजनीतिक दलका नेताका घर चिनेन। बाँकी कसैको पनि छाडेन। सरकारमा सहभागिताका हिसाबले राष्ट्रिय स्वपा र राप्रपाका नेताहरू जोखिममुक्त रहे।

जेनजीको आन्दोलन शुद्ध भ्रष्टाचारविरोधी थियो। पछि त्यसमा राजनीतिक दलको स्वार्थ घुस्यो। दुर्गा प्रसाईजस्ता भिड भड्काउने व्यक्तिहरू यसमा थपिए। राजावादी संगठनहरू त कहिले मौका पाइएला भन्दै तयारी अवस्थामा थिए नै।

यिनै परिवेशमा हो रवि लामिछाने नख्खु जेलबाट बाहिरिए। उनलाई लिन ठूलो समूह नख्खु पुगेको थियो। सोसल मिडियामा जेनजीका अभियन्ता अहिले पनि बारम्बार कराइरहेका छन्- हामीले उसलाई जेलबाट मुक्त गर्न आन्दोलन गरेका थिएनौं। सरकारमा दुई पटक गए पनि आन्दोलनकारीको निसानाबाट टाढा रहेका पार्टीका नेतालाई जेलमुक्त गरियो।

त्यतिमात्र होइन, अरु अपराधीहरू पनि जेलबाट बाहिरिन थाले। एक दुई गर्दै जेलबाट बाहिरिने कैदीबन्दीको संख्या ७ हजारको हाराहारीमा पुगिसकेको छ। देशभरिबाट अपराधी उन्मुक्त भइरहेका छन्। नेपाल प्रहरीकै अध्ययनलाई मान्ने हो भने – जघन्य अपराधमा सजाय भोगेर फर्किएको अपराधी पुन: अपराधकर्ममै फर्किनेक्रम धेरै छ। त्यसैले जेनजीको अभियानले अर्को संकटसमेत सामना गर्नुपर्ने परिस्थिति बनेको छ।

राजनीतिक दलका शीर्ष नेता निस्तेजमात्र होइन, निष्प्रभावी छन्। तिनका अनुहारसमेत जेनजीमात्र होइन, मुलुकका कुनै पनि पुस्ताले हेर्न चाहँदैन। त्यसैले एकखाले ‘भ्याकुम’ पैदा भएको छ। त्यो ‘भ्याकुम’लाई सजिलोसँग महसुस गरेका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले। भारतीय प्रधानमन्त्रीले नेपाली जनतालाई सम्बोधन गरेर शान्ति व्यवस्था कायम गर्न आह्वान गरेका छन् – ‘मेरा दाजुभाइ तथा दिदीबहिनी’ भन्दै। उनको वक्तव्य त्यतिखेर सोसल मिडियाबाट आयो जतिखेर नेपालमा जनतालाई सम्बोधन गर्ने कुनै पनि सरकारी संयन्त्र निस्तेज थियो। ओलीको राजीनामा आइसकेको थियो। सेनाले सुरक्षा जिम्मेवारी लिइसकेको थिएन।

देशको नेतृत्व शून्य अवस्थामा मोदीको नेपाली जनतालाई संयम राख्‍न आग्रह आफैंमा अर्थपूर्ण छ। मोदीको सम्बोधनमा नेपालका कुनै पनि राजनीतिक दलका नेतृत्व र नेताको अवस्थाप्रति उनी बोलेका छैनन्। व्यक्तिगत सम्बन्धकै खातिर पनि उनले सम्बोधन गरेनन्। उनलाई थाहा थियो जेनजीको आक्रोश। यतिसम्म नाडी छामेको नेपालको राजनीतिको विषय केन्द्रमा रहनु मोदी मन्त्रिपरिषद् बैठक हुनु अस्वाभाविक होइन।

जेनजीले आन्दोलन युवापुस्ताको बताए पनि त्यहाँ राजावादीको आबद्धता अस्वीकार गर्दै आएको थियो। राजनीतिक परिस्थिति सरकारको प्रतिकूल हुँदैगर्दै राजावादीको सल्बलाहट सुरु भइसकेको थियो। पारस-हिमानी शाहका सन्तानका तस्बिरहरू जोड्दै राजतन्त्र चाहिएको न्यारेटिभ्स सोसल मिडियामा भित्र्याइँदै थियो।

ठीक यही परिवेशमा भारतीय संस्थापन पक्षका मिडियाले हिन्दु राज्यका लागि आन्दोलन भइरहेको समाचार प्रवाह गर्न थाले जवकि जेनजी कुनै धर्मविशेषका लागि वा कुनै वादका लागि आन्दोलित भएकै थिएन। अझ त्यसभन्दा पनि पर गएर मिडियाले सोसल मिडिया बन्द हुँदाको विद्रोहका रुपमा यसलाई अर्थ्याइरहेको थियो जसप्रति युवा पुस्ता सन्तुष्ट थिएनन्।

जेनजीको गजबको अभियान ‘हाइज्याक’ गर्न विभिन्न ‘इन्ट्रेस्ट ग्रुप’ जोडिइसकेका थिए। त्यसैले जति पनि ठाउँमा आगजनी र क्षति गरिएका छन् अधिकांश उस्तै प्रकृतिका मानिसहरू ती कर्ममा जोडिएको पाइन्छ। संगठित रुपमा गाडी लिएर लोकेसन तय गरेर नै भएको उनीहरूको ‘मुभ’ले युवाको निरपेक्ष आन्दोलन स्वार्थ समूहको कब्जातिर धकेलिन्छ। मास नियन्त्रणभन्दा बाहिर गएपछि टापटिपेको प्रवेश सधैं देखिन्छ नै। पसल तोडफोड गरेर सामान उठाउनेहरू यही समूहका देखिन्थे।

नेतृत्वको नियन्त्रण बाहिर आन्दोलन पुगे पनि अहिले धेरैको नजर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति अडिएको छ। उनले आन्दोनलाई राजनीतिबाट पर राख्‍ने प्रयास गरेका पनि हुन्। ओलीप्रति उनको आवेग आन्दोलनकारीका लागि सद्‍भाव थियो। त्यसैले सेनाको मध्यस्थतामा बालेनसहित जेनजीले आफ्नो आन्दोलनको मर्म र त्यसबाट फाइदा लिन आएका ‘च्याँखे दाउ’ थाप्नेहरूप्रति सचेत हुन आवश्यक छ।

जेनजीले स्वार्थ समूह र घुसपैठ गरेर आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्न आएकाहरूलाई पहिचान गर्न सकेन भने मुलुक अर्को द्वन्द्वतिर धकेलिन्छ। सँगै लोकतान्त्रिक व्यवस्था र मानव अधिकारको रक्षमा जेनजी बहकियो भने मुलुक अहिलेभन्दा खराब अवस्थातिर जान सक्छ। हामीलाई विश्वास छ जेनजीको नेतृत्त्व गर्ने युवा पुस्ता लोकतन्त्रको रक्षक र जनसेवकका रुपमा प्रस्तुत हुनेछ।

आन्दोलनकारीले आगजनी गरेर ध्वस्त सवारीसाधन बुधबार सडकबाट हटाउँदै काठमाडौं महानगर प्रहरी ।

सेनाको संयमता र जेनजीको मुलुकको मुहार फेर्ने प्रतिबद्धतालाई अरू कुनै स्वार्थ समूहले हाइज्याक नगरोस्। जेनजीको बलिदानबाट हुँदै गरेको परिवर्तनमा फेरि सिंहदरबार जलाउने, निजी सम्पत्ति तोडफोड गर्ने र व्यापारिक केन्द्र तहसनहस गर्ने स्वार्थ समूहले प्रभाव नपारोस्। किनकि हामी भन्न चाहन्छौं – फेरि यस्तो कहिल्यै नहोस्।