काठमाडौं। पछिल्लो समय नेपालमा विभिन्न जातजातिका संस्कृतिमा आधारित चलचित्र बन्ने क्रम बढेको छ। लिम्बू संस्कृतिमा ‘जारी’, राई संस्कृतिमा ‘गाउँ आएको बाटो’, मगर संस्कृतिमा ‘घर ज्वाइँ’, शेर्पा संस्कृतिमा ‘कार्साङ’ लगायत निर्माण भइसकेका छन्। यही क्रममा प्रदर्शनमा आएको ‘रिमै’मा गुरुङ समुदायको संस्कृति छ।
एउटा व्यक्तिको जन्मदेखि मृत्यसम्मको संस्कृतिलाई देखाइएको चलचित्र गुरुङ संस्कृति बुझ्ने महत्त्वपूर्ण दस्तावेज बन्न सक्नेछ। विशेषगरी गोरखाको माथिल्लो भेगमा बस्ने गुरुङ समुदायको संस्कार संस्कृति समेटिएको फिल्मले प्रेमकथा देखाएको छ।
यस अगाडि गुरुङ भाषाका चलचित्रमा ती संस्कृतिलाई देख्न पाइए पनि मूलधार अर्थात् नेपाली भाषामा निर्माण भएको ‘रिमै’ ले गुरुङ समुदायको संस्कृति र जीवनशैलीका विभिन्न आयामलाई गैरगुरुङमाझ पनि परिचित गराउने विश्वास छ।
फिल्मको कथा सुरुआतमा ठागु (दयाहाङ राई) र रुपा (रिश्मा गुरुङ) को अभिभावकले धागो बाँधेर विवाह गर्ने निधो गर्छन्। ठागु आफ्नै मामा (माओत्से गुरुङ) को छोरीसँग बाल्यकालदेखि नै प्रेममा पर्छन्। सम्बन्धले सोल्टिनी भए पनि ठागुले रुपलाई आफ्नो श्रीमती मानिसकेका हुन्छन्। तर, रुपलाई ठागु मन परेको हुँदैन।
बाल्यकालदेखि नै विविध कारणले रुपाको मनमा सोल्टी ठागुका लागि माया छैन। उनलाई पनि पत्तो नभई घृणा विकसित हुँदै जान्छ। बरू रुपाकी बहिनी गोरी (गौमाया गुरुङ) ले ठागुलाई मन पराउँछिन्। समयसँगै ठागु आफ्नो आर्थिक अवस्था सबल बनाउन वैदेशिक रोजगारीमा जान्छ।
त्यहाँबाट बिदामा फर्किएको समयमा ठागु आफ्नो बाल्यकालको प्रेम रुपलाई श्रीमती बनाएर घर भित्र्याउन चाहन्छ। तर, रुपा गाउँमा खच्चड लिएर आउने गोविन्द (अर्पण थापा) नामक व्यापारीसँग नजिक हुन्छिन्। सोल्टी ठागुसँग टाढिएकी रुपालाई गोविन्दसँग प्रेम हो कि आकर्षण आफैँलाई थाहा छैन। एक दिन ठागु आफ्नो बुबालाई लिएर मामा कहाँ रुपालाई माग्न आउँछ।
बाल्यकालमै धागो बाँधेर एक अर्कासँग विवाह पक्का भएकाले मामाले सहजै विवाहका लागि स्वीकारोक्ति दिएर प्रक्रिया अगाडि बढाउँछन्। ठागु गुरुङ संस्कृतिअनुसार आफ्नो सोल्टिनी रुपालाई श्रीमतीका रुपमा घर भित्र्याउन जन्ती लिएर आउँछन्। तर, सोही समयमा रुपमा गोविन्दसँग भाग्छिन्।
त्यसपछि आउने उतारचढावलाई चलचित्रको प्रभावशाली विषय छ। कथा अगाडि बढ्दै गर्दा गुरुङ संस्कृतिलाई पृष्ठभूमिमा देखाइएको छ। यसको मुख्य विषय पनि संस्कृतिसँग जोडिएको छ। गुरुङ समुदायमा छोरी नभई अन्तिम संस्कारको विधि अगाडि बढ्ने परम्परालाई देखाउँदै महत्त्वलाई दर्शाइएको छ।
त्यसो त ‘रिमै’ शब्दको अर्थ गुरुङ समुदायमा ‘छोरीचेली’ भनेर बुझिन्छ। चलचित्रको प्रचार सामग्री हेर्दा ‘कबड्डी’ झैँ लागे तापनि यो पूर्ण रुपमा फरक छ। गुरुङ समुदायको फूल बाँध्ने, विवाहको प्रचलन, अन्तिम संस्कारको प्रचलनलाई विस्तारपूर्वक देखाएइको छ।
नयाँ पुस्ताका गुरुङ वा गैरगुरुङलाई चलचित्रले गुरुङ समुदायको कला र संस्कृतिसँग जोडेर थोरबहुत जानकार बनाउँछ। दयाहाङ राई ‘ठागु’ पात्रको भूमिकामा छन्। पछिल्लो समय प्रायः समुदायको चलचित्रमा अभिनेताका रुपमा काम गर्न पाएका अभिनेता राईले ती चलचित्रमार्फत नेपालको समुदायपिच्छेको विविधता र सौन्दर्यलाई बुझ्ने मौका पाएको बताए।
“मैले धेरै समुदायको कथालाई पर्दामा प्रतिनिधित्व गर्ने मौका पाएको छु। यो एउटा अभिनेताका लागि गौरवको कुरा हो। मैले ती समुदायको पात्र भएर काम गर्दा उनीहरूको मौलिकता, संस्कृति, संस्कार र कला बुझ्ने मौका पाएँ,’ उनले भने।
अभिनेता राईले ‘रिमै’ अहिले झट्ट हेर्दा सामान्य चलचित्र झैँ लागे तापनि यसमा देखाइएको विषय मौलिक र गम्भीर रहेको बताए। गाउँमा रोजगारीको अवसर नरहेकोसँगै इमान्दार केटाले गर्नुपर्ने संघर्षलाई समेत समेटिएको उनले सुनाए। ‘भोलिको पुस्ताले गुरुङ समुदायबारे बुझ्न यो चलचित्र उपयोगी हुने मैले ठानेको छु। गुरुङ भाषामा चलचित्र बनेका छन्, तर सबैले नेपालभर बुझ्ने भाषामा यो चलचित्र तयार भएकाले महत्त्वपूर्ण छ। प्रवासमा बस्ने गुरुङ समुदायका अभिभावकले आफ्नो छोराछोरीलाई यो चलचित्र देखाए मात्र पनि यसले कला र संस्कृतिबारे जानकार बनाउन सक्छ,’ उनले भने।
अभिनेत्री रिश्मा गुरुङले चलचित्र हेरेपछि गुरुङ समुदायमा छोरीको महत्त्व झनै प्रस्टिने बताइन। आफैं गुरुङ समुदायको भएकीले पनि नयाँ पुस्तामा पुस्तान्तरण हुन नसकिरहेको संस्कृतिलाई चलचित्रले बृहत् रुपमा प्रचार गर्ने विश्वास उनको छ। ‘म यो चलचित्रमा काम गर्न तयार हुनुको एउटा कारण संस्कृतिलाई जोडेर तयार गरिएको कथा हो। पुर्खाले सिकाएको संस्कार र संस्कृति समेटिएको पटकथा पढेपछि यसमा काम गर्नुपर्छ भन्ने प्रेरणा मलाई प्राप्त भएको हो,’ उनले भनिन्, ‘मनोरञ्जन चाहनेका लागि पनि यो चलचित्र उत्तिकै राम्रो छ। यो गुरुङ समुदायले हेर्नैपर्ने बनेको छ।’
उनले ‘रुपा’को भूमिका खेलेकी छन्। एउटी छोरीले जीवनमा गर्नुपर्ने संघर्ष र परम्पराले पार्ने अप्ठ्यारालाई पनि देखाइएको उनले बताइन। झन्डै आठ वर्षको अन्तरालमा उनले फिल्ममा अभिनय गरेकी हुन्।
चलचित्रमा अर्पण थापा, गौमाया गुरुङ, कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डीबी गुरुङ, टेक गुरुङलगायतका कलाकारले अभिनय गरेका छन्। खिलबहादुर गुरुङको निर्देशन रहेको फिल्ममा काम गरेपछि आफूले पनि गुरुङ समुदायको संस्कृतिलाई नजिकबाट बुझेको अभिनेता पुस्कर गुरुङले बताए।
‘म ब्राह्मण, क्षेत्री समुदायको बाहुल्यता भएको समाजमा हुर्किएँ। मलाई गुरुङ भाषा राम्रोसँग बोल्न आउँदैन र मैले संस्कृतिलाई नजिकबाट बुझ्न पनि पाएको छैन। तर, चलचित्रमा काम गर्दै गएपछि मैले गुरुङ मात्र नभई अन्य समुदायको संस्कृतिलाई पनि बुझ्ने मौका पाएको छु। यस्ता चलचित्र नेपालमा बन्नुपर्छ,’ उनले भने।
विभिन्न समुदायको संस्कृति समेटेर कथा तयार गरिए तापनि त्यो मनोरञ्जनपूर्ण हुनु आवश्यक छ। विदेशी चलचित्रमा समुदायको कथा आउन थालेको धेरै भए तापनि नेपालमा भने त्यसको सङ्ख्या न्यून नै छ। लगानीकर्ताको अभावसँगै सबै दर्शकलाई हुने पटकथा तयार गर्न नसक्दा समुदायका कथा न्यून रुपमा ठूलो पर्दा अर्थात् चलचित्रमा देखिने गरेको छ।
‘रिमै’ का सम्पादक मित्रदेव गुरुङले चलचित्रले जुनै समुदायको कथालाई उठान गरेता पनि मनोरञ्जन आवश्यक रहेको बताए। ‘संस्कृतिले सम्बन्धित समुदायलाई मनोरञ्जन प्रदान गर्ला तर त्योसँगै सबै समुदायलाई हुनेगरी पटकथा तयार गर्न सके मात्र त्यो चलचित्र सफल मानिन्छ। म आफैं गुरुङ समुदायको भएकाले पनि हामीले तयार गरेको चलचित्र ‘रिमै’ हाम्रै संस्कृतिमा भए तापनि मनोरञ्जक हुनुपर्छ भनेर तयार गरेका हौं,’ उनले भने, ‘यो चलचित्रले गुरुङ समुदायमा जन्म भएदेखि मृत्य भएर अन्तिम संस्कार हुँदासम्मको संस्कारलाई देखाएको छ। त्यसकारण पनि सम्पूर्ण समुदायका लागि महत्त्वपूर्ण बनेको भन्ने हामीलाई लागेको छ।’
मौलिक विषय र समुदायको कथाको आगमन भएसँगै नेपाली चलचित्र विदेशीबाट प्रभावित भएको भन्ने आरोप कम हुने गरेको छ। कथासँगै गीतसंगीत, वेशभूषा, लवजमा समेत मौलिकता देखिन थालेको छ। नेपाली चलचित्रमा ग्रामीण भेगको सौन्दर्य र गाउँले जीवनको खुसीलाई देखाइनु नयाँ पुस्ताका लागि नवीनतम अनुभव पनि हुनसक्छ।
गुरुङ समुदायकै कथामा आधारित रहेर तयार गरिए पनि ‘रिमै’ ले संस्कृति बुझाउँदै आम दर्शकलाई पनि मनोरञ्जन दिन्छ। फिल्म नेपालसहित अस्ट्रेलिया, न्युजिल्यान्डलगायतका देशमा समेत प्रदर्शन भइरहेको छ। रासस











