‘एउटा टू बीएचके अपार्टमेन्ट अनि एउटा कार।’
डेन्टिस्ट बन्ने लक्ष्यसहित कलेज जीवन पूरा हुँदासम्म नेल्मा कोडाको जीवनको ध्येय यतिमै सीमित थियो। साथीभाइबीच बोलक्कड र फरासिली स्वभावकी नेल्मा कारोबारको दुनियाँमा यसरी छाइन् कि अपार्टमेन्ट र कारमा सीमित रहेन, उनका महत्त्वाकांक्षा। उनी ब्राजिलको राजनीति र डलर कारोबारको दुनियाँमा यसरी स्थापित भइन् कि शक्तिशाली बिचौलिया नै बन्न पुगिन्। व्यापारी प्रेमीदेखि नेतासँगको सम्बन्धले उनलाई बनायो- क्विन अफ डर्टी मनी।
व्यवसायी, बिचौलिया र राजनीतिको केन्द्रमा रहेर शक्ति सन्तुलन कायम राख्नु नेल्मा कोडाका लागि सामान्य विषय बन्यो। उनको आर्थिक जीवनको उतार र चढाव असामान्य लाग्छ। नेटफ्लिक्सले उनकै न्यारेसनमा बनाएको डकुमेन्ट्री ‘दी क्विन अफ डर्टी मनी’ले राजनीतिक नेतृत्व, बिचौलिया र मनी लाउन्ड्रिङ को दुनियाँ एकैसाथ पस्किन्छ।
पहिलो पटक आफ्नो कमाइबाट एक मिलेनियम (१० लाख) कमाउँदा नेल्मा कोडामा ३० वर्ष पनि पुगेकी थिइनन्।
‘गाइज, म मिलेनियर भएँ।’
आर्थिक उपलब्धिको पहिलो चरणमा साथीभाइसँग उनी यसै भन्थिन्। सफलताको यो सिँढी र माथि उल्लेखित वाक्य उनका लागि अविस्मरणीय बन्यो।
कमाउने र गुमाउने दुवै जीवनको सिकाइ बन्यो उनका लागि। जसरी उनले कमाइन् त्यसभन्दा तीव्र रफ्तारमा गुमाइन् पनि। पहिलो पटक गुमाउँदा उनी निस्तेज बनिन्। जतिखेर उनले ३० लाख गुमाइन्- आत्महत्याको तहमा पुगिन्। अपार्टमेन्टबाट तलतिर हाम फाल्ने उनको निधोमा एकाएक रोक लाग्यो। कताबाट सोच्न पुगिन् – ‘आफूसँग भएको गुमाउनु समस्या होइन, जे आफूसँग हुन सकेन त्यो समस्या हो।’
नेल्मा सन् २०१४ सम्म लगातार चम्किरहिन्, कारोबारको दुनियाँमा। ब्राजिलको चर्चित भ्रष्टाचार काण्ड ‘लाभा जाटो’ उजागर भएसँगै उनी अब गुमनाम भएर धनाढ्य बनिरहेकी महिला मात्र रहिनन्। धेरैले उनलाई चिने।

यही धारणाले नेल्माको मृत्यु मार्गतिरको यात्रामा ‘रेड सिग्नल’ लाग्यो। त्यहीँ उनले निर्णय गरिन्- ‘मैले तीन मिलियन गुमाउन सकेँ भने त्यति नै बनाउन पनि सक्छु।’
त्यसपछि हो उनले कमाउन थालेको। नेटफ्लिक्सको डकुड्रामामा आधारित डकुमेन्ट्रीमा उनी सगौरव आफ्नो आलिसान जीवनबारे व्याख्या गर्छिन्। ब्राजिलको उनको घरमा इटालियन एन्टिक सामानहरू छन्- महँगा महँगा। उनको घरभित्रको दृश्यले उनको राजसी ठाँट प्रष्ट हुन्छ। उनको जीवनशैलीले ‘ल्याभिस लाइफ’ कस्तो हुन्छ बुझ्न सघाउँछ।
नेल्मा सन् २०१४ सम्म लगातार चम्किरहिन्, कारोबारको दुनियाँमा। ब्राजिलको चर्चित भ्रष्टाचार काण्ड ‘लाभा जाटो’ उजागर भएसँगै उनी अब गुमनाम भएर धनाढ्य बनिरहेकी महिला मात्र रहिनन्। धेरैले उनलाई चिने। कुनै बेला पेसाले डेन्टिस्ट रहेकी उनी मनी लाउन्ड्रिङको दुनियाँमा चर्चित खेलाडी बनिसकेकी थिइन्। राजनीति संरक्षित भ्रष्टाचारको जालोविरुद्धको ‘अपरेसन कार वास’ले उनलाई मनी लाउन्ड्रिङ गर्ने व्यक्ति, भ्रष्टाचारी र संगठित अपराधीका रूपमा चिनायो। २०१५ मा न्यायालयले फैसला सुनायो – १८ वर्ष कैद।
ब्राजिलको आर्थिक संकटको समय उनका लागि गुलजार बन्यो। फर्जी कारोबारबाट डलर धुलाउने पेसा स्थापित भइसक्दा उनी राजनीति दलको चुनावी खर्च जुटाउने बिचौलिया बनिसकेकी थिइन्। व्यापारी वा ठुला घरानासँग राजनीतिक दलका नेताले सोझै चुनावी खर्च लिँदैनन्। त्यहाँ चाहिन्छ बिचौलिया। त्यसैले नेता र व्यापारीको बीचमा रहेर काम गर्थिन्, नेल्मा। जतिसुकै स्थापित दल किन नहोस्, चुनाव जित्न गैरकानुनी पैसाको आड चाहिन्छ। नेल्मा भन्छिन्, ‘एकै नेता सात-सात पटक एउटै क्षेत्रमा पैसा नभइ कसरी चुनाव जित्न सक्छ त?’ राजनीति र कारोबारको जालोमा बिचौलिया जतिसुकै बलियोगरि टिकेको भए पनि कुनै न कुनै दिन त्यो फस्छ नै। उनको हकमा पनि भयो त्यही।
ब्राजिलको सरकारी तेल कम्पनी र राजनीतिक नेतृत्वको संलग्नतामा भएको भ्रष्टाचारको चर्चित केसमा नेल्मा पक्राउ परिन्। उक्त काण्डमा पक्राउ हुने एक मात्र महिला अभियुक्त थिइन् उनी। रोचक के भने राजनीति कनेक्सन बलियो छ भने बिचौलियाहरू कुनै पनि समय फेरि शक्तिशाली बन्न सक्छन्। राजनीतिक नेतृत्वकै साथले गर्दा उनी रिहा हुन्छिन् सन् २०१७ मै।
२०१५ मा १८ वर्षको कैद सजाय सुनाए पनि दुई वर्षमै रिहाइ अरूका हकमा सम्भव होला? पक्कै हुँदैन। ब्राजिलका राष्ट्रपति माइकल टेमरले क्रिसमसका अवसरमा आममाफी दिँदा उनको पनि नाम सामेल भयो।
‘दी क्विन अफ डर्टी मनी’मा नेल्माको कैददेखि बाहिरिए सम्मका यिनै कथा समेटिएको छ, जहाँ भोग–विलासिता, व्यक्तित्व र आत्मविश्वास भरपुर कहानी समेटिन्छ। उनी कारोबारको दुनियाँमा आफ्ना कदमहरूलाई संगीतसँग तुलना गर्छिन्। कमाउने खेलको यस खाले दाउपेचलाई ‘आर्केस्ट्रा निर्देशन’ जस्तै अभिनय र कला ठान्छिन्। त्यही हाउभाउमा उनी डकुमेन्ट्रीमा प्रस्तुत हुन्छिन्।
सन् २०२२ मा कोकिन ओसारपसार गरेको आरोप पनि उनीमाथि लाग्यो। त्यसलाई उनी सोझै नकार्छिन्। ‘म न चुरोट पिउँछु न रक्सी,’ उनी भन्छिन्, ‘ड्रग्सको त म कसरी कारोबार गर्न सक्छु?’

‘ओ डलर किलर !’
जेलमा उनलाई यसरी नै सम्बोधन गर्थे।
‘नट डलर किलर, डलर डिलर,’ उनको प्रत्युत्तर हुन्थ्यो।
उनीमाथि निगरानी गरिरहने पत्रकारको टिप्पणी हुन्थ्यो – ‘कैद अवस्थामै नेल्मालाई एउटा सेलफोनको सुविधा दिने हो भने सिंगो जेलमाथि उनको नियन्त्रण हुनेछ।’
उनी जुत्ताकी सौखिन। दिनको एउटा दरले जुत्ता फेर्ने हो भने उनको कलेक्सनले वर्ष दिन पार गरेर माथि तिरै जान्छ। डकुमेन्ट्रीमा आफ्नो जुत्ताको सो केस देखाउँदै उनी दम्भका साथ प्रस्तुत हुन्छिन्। जेल पर्नुअघि उनका सात वटा कार थिए। हरेक दिन फरक कारको यात्रा! गरगहना उनको सबैभन्दा कमजोरी। उनलाई लाग्थ्यो- ‘गहनाविनाको महिला नांगा हुन्।’
उनले जसरी कमाइन त्यसरी नै गुमाइन्। उनका प्रेमीहरू उनको यात्राका सफलता र असफलताका सहयात्री रहे। पेसाले डेन्टिस्ट अनि वित्तीय रूपमा स्वतन्त्र रहने नेल्माको चाहना ब्राजिलमा मात्र सीमित रहेन। सुरुमा आफ्नै क्लिनिकबाट काम थालेकी उनले ब्राजिलबाट संयुक्त राज्य अमेरिका, युरोप र चीनसम्मै आफ्नो सञ्जाल फैलाइन्। सन् २०१४ मा ब्राजिलको साओ पाउलोको विमानस्थलमा दुई लाख युरोसहित पक्राउ परेकी थिइन्। अन्डरवेयरमा उनले लुकाएर लैजान लागेको त्यही रकमले उनको अवैध मुद्रा तस्करी र मनी लाउन्ड्रिङ स्थापित गर्ने प्रमुख घटना बन्यो।
सन् २०२२ मा कोकिन ओसारपसार गरेको आरोप पनि उनीमाथि लाग्यो। त्यसलाई उनी सोझै नकार्छिन्। ‘म न चुरोट पिउँछु न रक्सी,’ उनी भन्छिन्, ‘ड्रग्सको त म कसरी कारोबार गर्न सक्छु?’
अपराधको दुनियाँबाट चर्चित उनको आत्मविश्वास गजब लाग्छ। नेटफ्लिक्सले उनको अपराध कर्मलाई ग्ल्यामरका रूपमा पस्किएको आक्षेप नलागेको होइन। किनकि उनी सगौरव व्याख्या गर्छिन् – ‘डलर डिलर हुनु आफैंमा कानुन हो। मैले आफ्ना लागि आफैंले कानुन बनाउने हो, केन्द्रीय बैंकको नियम पालन गर्ने होइन। डट इज अ कोड अफ अनर, अफ क्यारेक्टर, अफ योर वर्थ।’











