हेटौँडा । बागमतीका मुख्यमन्त्री ईन्द्र बानियाँले राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङलाई दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। विपन्न परिवारका चेपाङलाई घर बनाइदिने घोषणा गरेका बानियाँले सोमबार घर निर्माणका लागि पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्।
गाउँपालिकाका जनप्रतिनिधि र नेपाली कांग्रेसका स्थानीय नेताहरुको रोहबरमा बानियाँले घर निर्माणको जिम्मा लिने पक्षलाई सोमबार २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
राक्सिराङ गाउँपालिका र नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाको सिफारिसमा बानियाँले व्यक्तिगत खर्चमै घर निर्माण गरिदिने घोषणा गरेका थिए। मुख्यमन्त्रीमा नियुक्त भएसँगै बानियाँले आफ्नो तलब भत्ताको रकमबाट आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवार पहिचान गरि घर बनाइदिने घोषणा गरेका थिए।
सोही घोषणाबमोजिम राक्सिराङको चेपाङ र मनहरीको एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ। राक्सिराङ १ का सुमनसिंघको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम भएको घर दशैँअघि नै निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए।
उक्त घर बनाउन खर्च हुने सबै रकम मुख्यमन्त्री बानियाँले बेहोर्ने उनको सचिवालयले जनायो। मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका –९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि यसअघि नै पहिलो किस्ताबापत २ लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन्।











