दम्पतीलाई ६ लाखको लोभमा अंग तस्करले पुर्‍याए दिल्ली, मृगौला झिकेर फर्काए रित्तो हात



बिजमाण्डू
२०८२ भदौ १५ गते १५:५६ | Aug 31, 2025
दम्पतीलाई ६ लाखको लोभमा अंग तस्करले पुर्‍याए दिल्ली, मृगौला झिकेर फर्काए रित्तो हात

काठमाडौं। एउटा मृगौला बेच्दा ६ लाख पाइने लोभमा परेका दम्पती मानव अंग बेचबिखन गर्ने तस्करका साथ लागेर दिल्ली पुगे। दुवैका मृगौला झिकियो। तर, रित्तै हात फर्कन बाध्य पारियो। नेपाल आएर प्रहरीमा उजुरी दिएका उनीहरुलाई अहिले पैसाको लोभमा आफ्नो अंग गुमाउनु परेकोमा पछुतो छ।

Tata
GBIME
Nepal Life

उनीहरु जस्तै ५ जनाको उजुरीमा एक्सनमा आएको प्रहरीले नेपालका विभिन्न जिल्लाबाट सर्वसाधारणलाई पैसाको लोभ देखाइ भारत लैजाने र मृगौला झिक्ने अवैध कारोबारमा संलग्न आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्युरोको टोलीले भारतबाट दुई जनालाई पक्राउ गरेको हो। थप दुई जनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको ब्युरोका एसएसपी कृष्णबहादुर पंगेनीले बताएका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी, २९ वर्षीय सुजन भारती, सविन पन्त र राजकुमार तामाङ छन्। श्यामकृष्ण भने लामो समय भारतको दिल्लीमा बसेर नेपालबाट सोझासिधा फसाएर मृगौला झिक्ने समूहका नाइकेसमेत भएको प्रहरीले जनाएको छ। उनले भारतीय नागरिकले पाउने आधार कार्ड समेत बनाइसकेको खुलेको छ।

मानव अंग तस्करको समूहले सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, सिन्धुली, धादिङ लगायत जिल्लाबाट विपन्न परिवारका सदस्यलाई पैसाको लोभमा पारी भारत लगेर मृगौला झिक्ने गरेको अनुसन्धानमा देखिएको छ। एउटा मृगौला दिए बापत ६ लाख रुपैयाँ दिने लगायतका प्रलोभनमा पारे पनि मृगौला झिकिएका अधिकांशले पैसा नपाएको प्रहरीलाई बताएका छन्। नेपालमा मृगौला दिने मानिस खोज्नेलाई उक्त गिरोहले ५० हजार रुपैयाँ दिने गरेको खुलेको छ।

‘उजुरीकर्ता कसैले पनि भनेको पैसा नपाएको बताएका छन्। यहाँबाट लगेर भारतको हस्पिटल र क्लिनिकमा किड्नी झिक्ने गरेको देखिएको छ,’ एसएसपी पंगेनीले भने।

श्यामकृष्णले भने यसरी नेपालबाट मानिस लगेर भारतमा मृगौला झिकेपछि भारु ६ लाख रुपैयाँ पाउने गरेको बताएका छन्। उनले भारतका विभिन्न अस्पताल, क्लिनिकमा कार्यरत एजेन्ट र डाक्टरसँग समन्वय गरेर मानिस लग्ने गरेको देखिएको छ।

उनले अहिलेसम्म २५ जना नेपालीको मृगौला झिकिसकेको प्रारम्भिक बयानमा बताएका छन्। तर, प्रहरीको अनुसन्धानमा भने  सय जनाभन्दा बढी मानिसको मृगौला झिकेको हुनुपर्ने दाबी छ।

समातिएकामध्ये सुजन भारती श्यामकृष्णका सहयोगी हुन्। एक जनाको मृगौला झिक्दा उनले ४० हजार रुपैयाँ पाउने गरेको खुलेको छ। उनले आफ्नो समेत एउटा किड्नी बेचेको देखिएको छ।

ब्युरोमा ५ जनाको उजुरी परेको छ, जसमा एक दम्पती छन्। २०८१ साउनमा भारत पुर्‍याएर उनीहरूको मृगौला झिकिएको उजुरीमा उल्लेख छ।