बैंकका कर्मचारीले नक्कली कागजपत्रमा खोलिदिए खाता, सेनाका मेजरको फोटो दुरुपयोग



बिजमाण्डू
२०८२ भदौ ११ गते १२:०७ | Aug 27, 2025
बैंकका कर्मचारीले नक्कली कागजपत्रमा खोलिदिए खाता, सेनाका मेजरको फोटो दुरुपयोग

काठमाडौं। बैंकका कर्मचारीले नक्कली कागजपत्रका आधारमा खाता खोलिदिएको पाइएको छ।

Tata
GBIME
Nepal Life

कुमारी बैंकको काठमाडौंको गोल्फुटारस्थित शाखाका एक कर्मचारीले नक्कली कागजपत्रका आधारमा खाता खोलिदिएको पाइएको हो।

कपिलवस्तुको बाणगंगा घर भएका ३५ वर्षीय गोकर्ण ज्ञवाली आफ्नो गल्ती खुलेपछि जागिर छोडेर फरार भएका छन्। प्रहरीले यो प्रकरणमा अनुसन्धान गरी गोकर्णविरुद्ध लिखित कसुरमा मुद्दा दायर गरेको छ।

प्रहरीले नक्कली कागजपत्रका आधारमा खाता खोल्न लगाउने लमजुङको बेसीसहरका २९ वर्षीय विजय परियारविरुद्ध पनि मुद्दा दायर गरेको छ। विजय पनि फरार छन्। गोकर्णले विजयले दिएको नक्कली कागजपत्रका आधारमा २०७९ माघ २ गते बैंकमा खाता खोलिदिएका थिए।

यसरी खुल्यो कर्तुत

गोरखा घर भएका एक युवकले जालसाजी गरेर आफ्नो पैसा ठगिएको भन्दै अर्का युवकविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी दिए। जसकोविरुद्ध उजुरी पर्‍यो उनी नेपाली सेनाका मेजर हुन्।

जब प्रहरीले अनुसन्धानका लागि भन्दै फोन गर्‍यो, मेजर चकित परे।

जिल्ला प्रशासन कार्यालय काभ्रेले नागरिकता भिडाएर हेर्दा मेजरको विवरण भेटिएन। त्यसपछि मेजरले नै अनुसन्धान गर्न उजुरी दर्ता गराए।

प्रहरीको अनुसन्धानबाट मेजरको नाममा नक्कली नागरिकता बनाउनुका साथै फोटो दुरुपयोग गरेको देखियो। यसरी दुरुपयोग गरेर खाता खोली युवाहरुलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै सामाजिक सञ्जालबाट रकम उठाउने गरेको पनि खुल्यो।

कतिपय युवा पैसा तिरे पनि विदेश जान पाएनन्। त्यसपछि उनीहरु प्रहरीमा पुगे। प्रहरीको अनुसन्धानबाट गोकर्ण र विजयको कर्तुत खुल्यो। उनीहरुले मेजरको नाममा खोलिएको खाताको रकम कनेक्ट आइपीएसबाट झिक्ने गरेको देखिएको छ। उनीहरुले कति कारोबार गरे भन्ने खुलिसकेको छैन।