गुण्डागर्दीको नेतृत्व ‘दाइ नाइके’बाट अब ‘भाइ नाइके’मा, मिटरब्याजमा धमाधम अनुसन्धान



सविन ढकाल
२०८२ भदौ ११ गते ०६:२० | Aug 27, 2025
गुण्डागर्दीको नेतृत्व ‘दाइ नाइके’बाट अब ‘भाइ नाइके’मा, मिटरब्याजमा धमाधम अनुसन्धान

काठमाडौं। सम्पत्ति शुद्धीकरणमा एकपछि अर्को गरी सफाइ पाएका ‘गुन्डा नाइके’हरू पछिल्लो समय मिटरब्याजमा जोडिएका छन्।

Tata
GBIME
Nepal Life

प्रहरीले गुन्डा नाइके भनिएकाविरुद्ध केही सातादेखि अपरेसन चलाएर अनुसन्धान गर्दा उनीहरू मिटरब्याजमा संलग्न रहेको खुलेको हो। तर, कतिपयविरुद्ध पीडितहरूले उजुरी दिने हिम्मत गरेका छैनन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा कुनै समयका ‘गुण्डा नाइके’ रहेका गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी, दीपक मनाङे र चक्रे मिलनले अदालतबाट पालैपालो सफाइ पाए। त्यसपछि उनीहरू राजनीतितिर लागे। मनाङे पटक-पटक मन्त्री बने। लामालाई कांग्रेसले केन्द्रीय सदस्य बनायो। बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जिम्मेवारीका लागि योग्य ठानेका छन्।

गुण्डाराज अहिले ‘दाइ नाइके’बाट ‘भाइ नाइके’मा सरेको छ। काठमाडौंमा सानुभाईदेखि रेस लामासम्म चल्तापुर्जा देखिएका छन्।

बर्थडे पार्टी गरिरहेका चक्रे मिलनदेखि राजु गोर्खाली, सानुभाई र रेस लामालाई समातेर प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीको अनुसन्धानमा उनीहरूले मिटरब्याजको धन्दा चलाएको पनि देखिएको छ। तर, गुन्डा नाइकेविरुद्ध मिटरब्याजमा उजुरी आएको छैन।

‘गुन्डाहरूले मिटरब्याजको धन्दा गरेको बुझिएको छ। हामीले उजुरी आओस् भन्ने चाहेका छौं। तर, कसैले उजुरी दिन चाहेका छैनन्,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले भने।

एसएसपी विश्व अधिकारी

चक्रे मिलनसँग जोडिएका केही मानिसमाथि प्रहरीले मिटरब्याजमा अनुसन्धान गरे पनि यथेष्ट प्रमाण फेला पार्न सकेको छैन। उजुरी दिन कोही पनि नआएको प्रहरीको भनाइ छ।

राजु गोर्खाली साउन १५ गते काठमाडौंबाट पक्राउ परे। उनीविरुद्ध टीकाराम तिवारीले जेठ २१ गते जाहेरी दिएका थिए। तर, दर्ता साउन ७ गते मात्र भयो। उनीविरुद्ध १० करोड रुपैयाँ चेक बाउन्सको जाहेरी छ।

१० करोड रुपैयाँ टीकारामलाई गोर्खालीले किन दिए भन्ने खुलेको छैन। प्रहरीले दुवैको बैंक खाता हेर्दा रकम गएको देखिन्छ। चेक बाउन्समा अनुन्धान गरिरहेको प्रहरीले मिटरब्याजको आशंका गरेको छ। तर, मिटरब्याजको उजुरी नपरेकाले अनुसन्धान असजिलो भएको प्रहरी अधिकृतकहरू बताउँछन्।

गोर्खाली प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा कांग्रेसबाट उम्मेदवारका आकांक्षी थिए। कांग्रेसले सिन्धुपाल्चोकबाट सिफारिस गरेका गोर्खालीले अन्तिम समयमा टिकट पाएनन्।

प्रहरीले सिन्धुपाल्चोक घर भएका ‘गुन्डा’ कविराज कटुवाललाई मिटरब्याजमा अनुसन्धानका लागि मकवानपुरबाट नियन्त्रणमा लियो।

उनले एक जनालाई मिटरब्याजमा १ करोड ४० लाख रुपैयाँ दिएको तर पीडितले करिब ५ करोड रुपैयाँ बुझाउँदासम्म रकम नतिरेको भन्दै धम्क्याउन थालेको भन्दै उजुरी परेको थियो। कविराज प्रहरीका उच्च अधिकृतदेखि राजनीतिज्ञसँग नजिकको सम्बन्ध बनाउन सफल ‘गुण्डा’ हुन्।

पक्राउ परेका गुन्डा कविराज कटुवाल र रेश लामा

प्रहरीका अनुसार चावहिल क्षेत्रमा गुन्डागर्दी गर्दै आएका रेस लामाले पनि मिटरब्याजमा रकम लगाएका छन्।

सरकारले मिटरब्याज नियन्त्रण गर्न विभिन्न आयोग र समिति बनाए पनि धन्दाले निरन्तरता पाइरहेको छ। प्रहरीका अनुसार पछिल्लो समय सहरी क्षेत्रमा मिटरब्याजको धन्दा बढेको छ। शक्ति केन्द्र र राजनीतिक आडमा ठूला मिटरब्याजका धन्दा भइरहेको प्रहरी अधिकृत नै बताउँछन्।

‘१ करोड दिएर ३ करोडसम्मको चेक अगाडि नै बनाएको देखिन्छ। तर, यस्ता घटनाका पीडित हामीकहाँ आउँदै आउँदैनन्,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी अधिकारीले भने।

मिटरब्याजमा पैसा लिनेहरू अप्ठेरोमा नपरेसम्म चुपचाप बस्ने गर्छन्।

आयोगमा सदस्यको रुपमा काम गरेका पूर्वएआइजी उत्तम सुवेदी ग्रामीण भेग र सहरमा मिटरब्याजको ट्रेन्ड फरक रहेको बताउँछन्।

‘गाउँमा आफ्नो जीवन चलाउन बाध्य भएर रकम लिएका हुन्छन्। सहरमा अलिक फरक देखिन्छ। पैसाले पैसा कमाउन खोजिएको छ,’ उनले भने।

काठमाडौंमै मिटरब्याजका घटना बढेका छन्। गत आर्थिक वर्ष २०८१/८२ मा मिटरब्याजका ३० वटा मुद्दा चलेका छन्। जबकि अघिल्लो वर्ष यो संख्या ९ थियो। मिटरब्याज प्रकरणमा गुन्डा गर्दीमा संलग्न मात्र होइन प्रहरीका उच्च तहका कर्मचारीको समेत रकम फसेका घटना पनि छन्।