आप्रवासन र विप्रेषणले बदल्दै लगेको नेपालको आर्थिक संरचना र सामाजिक स्वरूप



ऋषिकेश दाहाल
२०८२ भदौ १४ गते १४:३० | Aug 30, 2025
आप्रवासन र विप्रेषणले बदल्दै लगेको नेपालको आर्थिक संरचना र सामाजिक स्वरूप
एआइको सहयोगमा बनाइएको चित्र ।


बेलायतबाट द्वन्द्वकालमा नेपालमा रिपोर्टिङ गर्न आएका थोमस बेल लामो समय यतै रहे। नेपालको ऐतिहासिक सन्दर्भलाई मिठो शैलीमा पुस्तक ‘काठमाडौँ’बाट उनले पस्केका छन्। सन् २०२४ नोभेम्बरमा उनको अर्को पुस्तक आयो- ह्युमन नेचर।

Tata
GBIME

यस पुस्तकमा बेलले नेपालको भू-कृषि, सामाजिक संरचना र ऐतिहासिक प्रक्रियालाई आर्थिक विकासको आधार बनाएर उनले पूर्व पश्चिमको यात्रा वृत्तान्त पस्केका छन्। मूलतः यो एउटा ट्राभल लग नै हो। तर, यही यात्राबाट उनले मानवशास्त्रलाई केन्द्रमा राखेर नेपालको कृषि प्रणाली, पर्यावरण, बसाइसराई र समाज बीचको अन्तरसम्बन्ध केलाएका छन्।

पुस्तक चार भागमा विभाजित छ – आप्रवासन, कृषि, वास्तुकला र संरक्षण। यी सबैमा साहित्य, संस्कृति र इतिहासका पाटाहरू – कर प्रशासन र उत्पादनका विषयहरू जोडिन्छन्। यात्रामा भेटिएका पात्रमार्फत लेखकले कोशीदेखि कर्णालीसम्मलाई एकै पुस्तकमा बहु आयामिक हिसाबले अटाएका छन्।    

आप्रवासन : हिजो थियो, आज पनि छ

थोमस पूर्वी पहाडको यात्रामा छन्। त्यो यात्रामा उनीसँग जम्माजम्मी १० वर्ष मात्र पुरानो नक्सा छ। तर पहाडमा यसबीच यति धेरै सडक बने कि उनको नक्सा अर्थहीन बनेको छ। नक्सा मात्र होइन, यसबीचमा अर्थतन्त्र, भौतिक संरचना तथा सामाजिक संरचनाहरू नै उलटपुलट भइसकेका छन्। तिनै विषयलाई एकीकृत रूपमा उनले समेट्छन् आप्रवासनमार्फत।

कृषि युग अघिको बस्ती भनेको माझीहरूको हो भन्ने पुरातत्वविद्हरूको आकलन छ। सन्दर्भसहित उनी लेख्छन्- एकै ठाउँमा बसेर खानाका लागि स्थायी स्रोत माछा थियो। तर यिनै माझीहरू नदी किनारामा बस्न कहाँबाट आए? उनीहरूको आप्रवासन कसरी भयो कसैले खोजेको छैन। कसैले लेखेको छैन। माछा मार्नुबाहेक मानिसलाई नदी वारपार गराउने जिम्मा उनीहरूकै थियो।

उनले यात्रा गरेका धेरै पहाडी भेगमा विकास भनेकै झोलुंगे पुल थिए। जोसेप हुकर नेपाल आउने पहिलो युरोपेली थिए, जसले १८ औं शताब्दीमा यस क्षेत्रको भ्रमण गरेका थिए। पूर्वी नेपालको जनजीवनलाई लिएर उनले लेखेका छन्। तिनका सन्दर्भलाई थोमस बेलले जोड्छन् र अहिलेको परिवेशको व्याख्या गर्छन्।

यो यात्रामा उनले त्यस्ता मानिस भेट्छन् जो राहदानी बनाउनका लागि गाउँ पुगेका छन् सहरबाट। त्यहाँको बाटो र सडकको अवस्थालाई देखेर सरकारलाई सरापिरहेका सन्दर्भ केलाउँछन्। पत्रकारको शैलीमा तिनका उद्धरणहरू बारम्बार आइरहन्छ। अनि जोडिन्छ – इतिहासका पानाहरू।

लखनउमा सैनिक विद्रोह दबाउन जंगबहादुर राणाले नेपाली सैनिक खटाएपछि बेलायती सेनामा नेपाली भर्ती हुने क्रमको थालनी भयो। बेलायतीका लागि ती गुर्खा थिए भने नेपालीका लागि लाहुरे। लाहुरेको हैसियत गाउँमा अलग्गै हुन्थ्यो। यसरी काम गर्न जाने परम्परा बेलायतमा मात्र सीमित रहेन- सबैतिर फैलियो। यही दृष्टिकोणबाट विप्रेषणको भरथेगमा बसेको नेपालको अर्थतन्त्रको मानव शास्त्रीय दृष्टिकोण गजब लाग्छ।

आप्रवासन हिजो पनि थियो र आज पनि छ। हिजो नेपालीहरू दार्जिलिङ, सिक्किम, भुटानसम्मै पुगेका हुन् – विकल्पको खोजीमा। पश्चिम नेपालबाट काला पहाड जाने लर्को लाग्थ्यो। त्यही लर्को अहिले विमानबाट खाडीतिर तानिएको छ। यो आप्रवासन बर्खाको भेलले तलतिर पुगेका माछाजस्तै लाग्छ। हिउँदमा पानीको बहाव कम हुन थालेपछि माछाहरू पुरानै बास स्थलतिर लाग्छन्। तर बाहिरिएका मानिस?

लेखकले लीलबहादुर क्षेत्रीको ‘बसाइँ’देखि शंकर कोइरालाको ‘खैरेनी घाट’सम्मका कथा जोडेका छन् आप्रवासनलाई लिएर। त्यही विलियम वर्डस्वर्थ पनि जोडिन्छन्। विभेद, विद्रोह र विस्थापनका सन्दर्भहरू मानवशास्त्रमा जोडिएका हुन्छन्। कथा र उपन्यासका घटनाका क्रम वा उपक्रमलाई लेखकले आफ्नो नियात्रासँगै गाँसेका छन्। त्यसैसँग गाँसेका छन् पहाडी भेगका संस्कृति। उँधौली र उभौलीका सन्दर्भ।

मानिस मात्र होइन, प्रकृतिको परिवर्तनका विषय पूर्वी पहाडका आदिवासीको सांस्कृतिक कथनमा जोडिँदा रोचक लाग्छ। नुनका लागि दसौं दिनको यात्रादेखि अहिलेको सुविधा – तुलना हुन्छ। साल्पा पोखरीको यात्रामा लेखकले पूर्वी नेपालको मानव सभ्यतासँगै प्रकृति र अन्धविश्वाससँग जोडिएका विषयको सांगोपांगो चित्र उतारेका छन्। त्यहाँका मिथकमय सन्दर्भ पठनीय छन्।  

पहाड फेदसम्मै १८४० मा विस्तार भएको रेलले काठ, ढुंगा, भेडाको ऊन निर्यात हुन थाल्यो नेपालबाट। १९ औँ शताब्दीको अन्त्यसम्म त नेपालको ४० प्रतिशत राजस्व काठ निर्यातबाट मात्र हुन्थ्यो भन्ने सन्दर्भ उनले जोडेका छन्।

कृषि : धान खेती कर्णालीबाट पूर्वतिर सर्दै

दोस्रो अध्यायमा उनी सिन्धुपाल्चोक तिरको यात्राबाट अघि बढ्छन्। भूकम्पपछिको अवस्था र सघाउन जुटेकाको सन्दर्भबाट लेखन अगाडि बढ्छ। उनले यात्राकै कथामा गोसाईंकुण्ड जोड्छन्। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रबाट सूर्य कुण्ड हुँदै अघि बढ्छ गोसाइँकुण्ड पुगेपछि उनले शेर्पा र तिब्बती संस्कृति मात्र होइन, समुन्द्र मन्थनबाट निस्केको विष सेवन गरेका शिवजीको कथा गाँस्छन्।

कथाबाट फेरि उनी तथ्यमा जान्छन् – लिखित इतिहासमा गोसाईंहरूको यात्रा जोडिन्छ जो तीर्थयात्री मात्र नभई तिब्बतसँग व्यापार गर्नेहरू हुन्छ। त्यहाँबाट नुवाकोट र पृथ्वीनारायण शाहको राज्य विस्तार सन्दर्भ आउँछ। त्यसअघिको बस्ती विस्तारको सन्दर्भ र मल्लकालको कर प्रणाली र खेतीको सन्दर्भ जोडिन्छ। उनले लेखेका छन्- धान खेती कर्णालीबाट पूर्वतिर सर्दै आएको सन्दर्भ।

आधुनिक कृषिमाथि हामीले कलम चलाउनुअघि नै बेलायतीले अध्ययन गरेका छन्। नेपाललाई चिनाउने भूमिका हाम्रो भन्दा पहिलो विदेशीको रह्यो। सन् १८३७ मा नै ‘एग्रिकल्चर इन नेपाल’ शीर्षकमा काठमाडौंमा रहेका बेलायती डेपुटी आवासीय प्रतिनिधि आर्चिबाल्ड क्याम्पबेलले अध्ययन गरेका थिए। त्यसअघि सामरिक रणनीतिका लागि सैन्य हिसाबले धेरै खाले अध्ययन भइसकेको थियो- भूगोल र संस्कृतिमाथि।

सन् १८३३ देखि १८४४ सम्म नेपालमा रहेका इस्ट इन्डिया कम्पनीका रेजिडेन्ट ब्रायन हजसङले यहाँको प्राकृतिक र धार्मिक इतिहास मात्र केलाएनन् भाषाहरू पनि लिपिबद्ध गरे – लेक, भन्ज्याङ, फेदी, टार, बेँसी….। यसरी भएका अध्ययनहरूमा नेपालमा के के उत्पादन हुन्छ भन्ने विषय समेटियो- सुन्तलादेखि स्याउसम्म, तरकारीदेखि बालीसम्म। कुन याममा के फल्छ भन्ने विषयमाथि गहिरो विश्लेषण त्यतिखेर नै भएको पाइन्छ।

थोमस बेलले यात्रा कथामा सबै कुरा जोड्छन्। भेटिएका पात्रहरूको सन्दर्भ उठाउँछन्। तिनको जीवन र विगत खोतल्छन्। विगतको विरासतदेखि निकटको क्रुर इतिहाससमेत जोडिन्छ पुस्तकमा। यिनै यात्राबाट उनले नेपाली समाजको आर्थिक सामाजिक र राजनीतिक परिस्थितिको चिहाउँछन्।

भूकम्पपछिको अवस्था र सघाउन जुटेकाको सन्दर्भबाट लेखन अगाडि बढ्छ। उनले यात्राकै कथामा गोसाईंकुण्ड जोड्छन्। सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रबाट सूर्य कुण्ड हुँदै अघि बढ्छ गोसाइँकुण्ड पुगेपछि उनले शेर्पा र तिब्बती संस्कृति मात्र होइन, समुन्द्र मन्थनबाट निस्केको विष सेवन गरेका शिवजीको कथा गाँस्छन्।

भूतप्रेतका कथादेखि कुनै पनि ठाउँको नामकरण कसरी भयो भन्नेसम्मका मिहिन विषयलाई उनले रोचक शैलीमा पस्केका छन्। श्रुति परम्पराबाट विलुप्त हुने सन्दर्भलाई उनले लेखेका छन् – तिनै पात्रको भनाइका रूपमा जसलाई उनले यात्राका क्रममा भेटेका हुन्छन्। तिनै पात्रमार्फत परिवर्तनको चित्रण गरेका छन् उनले।

जसरी इतिहास र साहित्यका पात्रमार्फत सामाजिक राजनीतिक परिस्थिति केलाएका छन्, त्यसरी नै स्वदेशी र विदेशी अध्येताका सामग्रीलाई सन्दर्भका रूपमा उठाउँदै समकालीन दृष्टिकोणबाट त्यसको मूल्यांकन गरेका छन्। महेशचन्द्र रेग्मीका ग्रन्थमार्फत आर्थिक इतिहास केलाएका छन्- सन् १८३० देखि नै कर प्रणाली लागू भएको छ। त्यतिखेर २१ शीर्षकमा कर उठाउने गरिन्थ्यो। किसानले आफ्नो उत्पादनको ५० प्रतिशतसम्म कर तिर्नुपरेको सन्दर्भ पुस्तकमा केलाइएको छ। कर नतिर्नेलाई पापीका रूपमा अर्थ्याइने र ६० हजार वर्षसम्म त्यसको दोष लाग्ने कथ्यले कर प्रणाली सञ्चालनमा रहँदै आएका सन्दर्भ अहिले रोचक लाग्छ।

सिंगो नेपाललाई महेशचन्द्र रेग्मीले ‘विशाल श्रम शिविर’का रूपमा अर्थ्याएका थिए। उदाहरणका लागि रेग्मीलाई उद्धृत गर्दै उनले ‘नुवाकोटका तामाङहरूले सन् १९५० सम्म हरेक वर्ष ९० दिन नि:शुल्क श्रमदान गर्नुपर्थ्यो’ भनेका छन्। यस खाले प्रवृत्तिले देश छाड्नेहरू बढेको उनको तर्क छ। दार्जिलिङ सिक्किम र भुटानसम्मको नेपालीको विस्तारमा यहाँको सामन्तवाद प्रमुख कारण बनेको थियो।

मानिसको मात्र होइन, खाद्यान्नको यात्रा पनि यहाँ रोचक लाग्छ उनको पुस्तकमा। बेलायतीले सन् १७७० मा भुटानमा आलु पुर्‍याए। त्यो आलु नेपालमा भने १९ औँ शताब्दीको मध्यतिर हिमाली भेगमा विस्तार भयो। हिमाली भेगमा आलु अहिले पनि सबैभन्दा गहकिलो बालीका रूपमा स्थापित छ। 

नेपालीहरू बेलायती सेनामा जाने र लाहुरे बन्ने क्रम पछि भने सामाजिक आर्थिक पाटोमा परिवर्तन देखा पर्न थाले। यस क्षेत्रमा इस्ट इन्डिया कम्पनीको प्रवेश राजनीतिक रूपमा मात्र थिएन। भारतमा त्यसले अन्तर्राष्ट्रिय कारोबारलाई तीव्रता दिलायो। काठ, कपास, जुट, चिनी लगायतका उत्पादन बढ्ने र बजार पाउने अवस्था आयो।

असममा चिया खेती विस्तार भयो। सन् १८७० देखि १९०० को बीचमा मात्रै ७ लाख ५० हजार श्रमिकलाई विभिन्न ठाउँबाट असम ल्याइयो। त्यसपछि दार्जिलिङमा र इलामसम्मै चिया बगान तयार भए। पहाड फेदसम्मै १८४० मा विस्तार भएको रेलले काठ, ढुंगा, भेडाको ऊन निर्यात हुन थाल्यो नेपालबाट। १९ औँ शताब्दीको अन्त्यसम्म त नेपालको ४० प्रतिशत राजस्व काठ निर्यातबाट मात्र हुन्थ्यो भन्ने सन्दर्भ उनले जोडेका छन्।

भूगोलले बोकेका कथाहरू क्रमशः लिखितमा उतारिँदै जान्छ। हिउँले खाएर पेन्सिल झैँ तिखा बनेका ढुंगा र बताससँगै बहने बालुवाले भूगोलको बदलिँदै गरेको उपल्लो थलोको वास्तविकता चित्रण गर्छ।

वास्तुकला : प्राकृतिक र मानव निर्मित दुवैमाथि मिहिन दृष्टि

मुस्ताङ नुनका लागि चर्चित थियो। तिब्बत र केही तल समथर भूगोलको बीचमा रहेकाले मुस्ताङ व्यापारिक दृष्टिकोणले गजबको भूगोल बन्यो। कुनै बेला मुस्ताङबाट नुन अन्ततिर पुग्यो आजकल अनुदानसहितको भारतीय नुन यहाँ पुग्छ। सन् १९४६ मा पहिलो पटक मुस्ताङमा खम्पा विद्रोही देखा परे। सशस्त्र विद्रोहको हेडक्वार्टर नै थियो मुस्ताङ। खम्पा विद्रोही छिरेसँगै नुनको व्यापारिक विरासत गुम्यो। यहाँ १९६६ मा स्याउको प्रवेश भयो। सन् २००० सम्म ४० हजार स्याउका बोटमा फल लाग्न थालिसकेको थियो। मुस्ताङको तल्लो भेगमा मात्र स्याउ फल्थ्यो। जलवायु परिवर्तनको असर अब अपर मुस्ताङमा पनि स्याउ फल्न थालेको छ।

यिनै सन्दर्भसहित मुस्ताङ यात्राको कथा सुरु हुन्छ। भूगोलले बोकेका कथाहरू क्रमशः लिखितमा उतारिँदै जान्छ। हिउँले खाएर पेन्सिल झैँ तिखा बनेका ढुंगा र बताससँगै बहने बालुवाले भूगोलको बदलिँदै गरेको उपल्लो थलोको वास्तविकता चित्रण गर्छ। त्यहाँका ढुंगामा कुँदिएका वास्तुकला – प्राकृतिक र मानव निर्मित दुवैमाथि उनले मिहिन दृष्टि लगाएका छन्। उनी काली गण्डकी हुँदै कर्णालीको यात्रामा हुन्छन्। छार्काको वास्तुकलाले उनलाई तान्छ। कालो पत्थरमा ‘ॐ माने पद्मे हुँ’ कुँदिएका लिपि हुन् या फहराइरहेका लुङ्दर – यस भेगलाई फरक रूपमा चिनाइरहेको व्याख्या गर्छन्।

त्यसपछि सन्दर्भ आउँछ डोल्पाको। भाषादेखि खेती किसानीसम्मका विषय जोडिन्छ। मुस्ताङ र डोल्पाको जीवनमा धर्म र समुदाय कसरी अन्योन्याश्रित रूपमा जोडिएका छन् उनले केलाएका छन्। यस भेगमा पद्म सम्भवको आगमन र बुद्ध धर्मको विस्तारको कथा यात्रा यात्रामै आउँछ। त्यहीँ पल्टिन थाल्छ श्रुति परम्पराले धानेको इतिहासका पानाहरू। हजार वर्षभन्दा पहिले जन्मिएका भनिएका मिलारेपा र उनका गुरु मार्पाका कथा यसैसँग जोडिन्छ।  

यस यात्रा उनीहरू डोल्पाको त्यो भेगमा पुग्छन् जहाँ चिनियाँ मोटरसाइकल कुद्छन्। तिब्बती बेल्टतर्फ भएको विकासको झल्को र नेपालको अवस्था तुलना हुन्छ। उनी त्यो भूगोलमा पुगे जहाँ सन् १९५० मा पुगेका डेभिड स्नेलग्रोभले न आलु देखेका थिए न अण्डा। अहिले पनि यहाँ कुखुरा पाइन्न तर आलु जताततै। उनीहरू त्यस्तो भूगोलमा पनि पुग्छन् जहाँ चीनले बनाएको तिब्बतको चिल्लो सडक हुँदै आइपुग्छ – नेपाल सरकारको अनुदानमा वितरण गर्ने चामल। उपल्लो डोल्पाबाट उनको यात्रा शे-फोक्सुन्डो हुँदै नेपालगञ्ज झर्छ।

नेपालमा सन् १९७३ मा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना भयो। सन् २०२० सम्म नेपालको कूल भूगोलको २३ प्रतिशत राष्ट्रिय निकुञ्जमा पर्छ जसले ३४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफल ओगट्छ। निकुञ्ज र त्यसको आसपासमा बसोबास गर्नेहरूको संघर्ष जहाँ पनि उस्तै हुने गर्छ।

संरक्षण : दुखान्तका सन्दर्भले चसक्क

यहाँ यात्राको सन्दर्भ सन् २०१८ बाट अघि बढ्छ। खस-मल्लहरूको क्षेत्र कर्णाली। जुम्लाबाट कर्णालीको यात्रा सुरु हुन्छ। योगी चन्दननाथले कश्मीरबाट जुम्लामा धान भित्र्याएको किम्बदन्ती छ। चन्दननाथले धान मात्र भित्र्याएनन् त्यसको बीउ राख्नेदेखि रोपाइँ र बाली भित्र्याउने समय पनि निर्धारण गरेको मानिन्छ। जुम्ला विश्वमै सबैभन्दा उच्च स्थानमा धान खेती हुने भूगोलमा पर्छ। समुन्द्र सतहभन्दा २ हजार ७ सय मिटर माथिको उचाइमा फल्ने मार्सी धान निकै चर्चित छ अहिले। तर जलवायु परिवर्तनले धेरै असर पारिरहेको थोमसले लेखेका छन्।

उनले यात्रामा प्रकृति र मानवको सम्बन्धको चर्चा गर्छन्। पूर्वीय र पश्चिमा लेखकले साहित्य तथा वैज्ञानिक अनुसन्धानबाट व्याख्या गरेका मानव र प्रकृतिको सम्बन्धमाथि लेखकले नेपाली परिवेशमा रहेर मूल्यांकन गर्छन्। भागवत गीतादेखि मनु स्मृतिसम्मका सन्दर्भ अटाउँछन्। कालिदासको शकुन्तला पनि अटाउँछ। त्यही विलियम वर्डस्वर्थ, गोथे, अलेक्जेन्डर, हेनरी सबै आउँछन्। चार्ल्स डार्विनको सन्दर्भ पनि आउँछ। पूर्वीय दर्शनप्रति उनीहरूको झुकाव र दृष्टिकोण पनि।

‘इकोलोजी’ शब्द १९ औँ शताब्दीको आखिरीतिर आयो। यही शताब्दीमा अमेरिकामा राष्ट्रिय निकुञ्जको सुरुवात भयो र साम्राज्यवाद झैँ फैलिन थालेको उनले लेखेका छन्। नेपालमा सन् १९७३ मा पहिलो राष्ट्रिय निकुञ्ज स्थापना भयो। सन् २०२० सम्म नेपालको कूल भूगोलको २३ प्रतिशत राष्ट्रिय निकुञ्जमा पर्छ जसले ३४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफल ओगट्छ। निकुञ्ज र त्यसको आसपासमा बसोबास गर्नेहरूको संघर्ष जहाँ पनि उस्तै हुने गर्छ।

थोमसले रारा राष्ट्रिय निकुञ्जसँग जोडिएको दुःखद घटना केलाएका छन्। ‘रारा कि अप्सरा’बाट मोहित भएका धेरै नेपालीलाई त्यहाँ निकुञ्ज बन्दा स्थानीयले भोगेको कारुणिक कथा थाहा छैन। संरक्षणसँगै निम्तिएको दुखान्तका सन्दर्भले चसक्क पार्छ।

जुम्लाको सिञ्जा उपत्यका र त्यसको महत्त्वमाथि स्थानीय अध्येतासँगको कुराकानीले नेपाल सरकार आफ्नो इतिहासको खोजीका लागि तत्पर छैनन् भन्ने स्थापित गर्छ उनको लेखनले। मल्ल राजाहरूको सन्दर्भका बारेमा यहाँ अनेक खजाना छन् जुन दिन प्रतिदिन लोप भइरहेका छन्। लेखकलाई दीपेन्द्र उपाध्यायलाई उनले उद्धृत गरेका छन्, ‘सबै प्रमाण हराइरहेका छन्। हामीसँग त अब सुनेका कुरा मात्र बाँकी रहने भए।’

उपनिवेशले यस क्षेत्रको जैविक विविधतामाथि हानि हुने गरी जलवायु परिवर्तनको ढोका खोलेको उनको ठम्याइ छ। त्यसका लागि उनले विभिन्न अध्ययनहरूको सहारा लिएका छन्। रेल विस्तारका लागि नेपालका जंगल फडानी भएदेखि अहिलेका दिनमा देखिएका विपत्तिका दृश्यहरूलाई सम्झाउँछ। जुम्लाबाट कालिकोट हुँदै लेखक दैलेखतिर झर्छन्। राउटेको सन्दर्भ यहाँ जोडिन्छ।

ह्युमन नेचर नेपालको पूर्वदेखि पश्चिमलाई चिहाउने एउटा गहकिलो पुस्तक बनेको छ। पत्रकारको शिल्प त यसमा छँदै छ, त्यसमाथि मानव शास्त्रीय दृष्टिकोण भरिएको छ। संस्कृतिदेखि समाजका सबै खाले आयामले यसलाई नेपाल बुझ्न सघाउँछ – विदेशीलाई मात्र होइन, नेपालीलाई पनि।