बेलायतमा रहेको ला पपोट रेस्टुरेन्टले मदिरा र खानाको मेन्यु जस्तै पानीको मेन्यु पनि सुरु गरेको छ। फ्रेन्च कुजिनका लागि प्रख्यात यो रेस्टुरेन्टले खास प्रकारका पानीहरु मात्र बेच्ने गरि मेन्यु ल्याएको हो। यी पानी सामान्य पानीको तुलनामा धेरै महँगो छ।
रेस्टुरेन्टका अनुसार उनीहरूले बेच्ने पानी युरोपका विभिन्न ठाउँहरूबाट ल्याइएको हो। ती पानीमा विभिन्न प्रकारका खनिज (मिनरल) रहेको उनीहरुको बताएका छ। पानी बेलायत, स्पेन, फ्रान्स र पोर्चुगलसहित युरोपका अन्य देशहरुबाट ल्याइएको जनाइएको छ।
३ वटा फरक बोटलमा स्टिल वाटर र चारवटा स्पार्क्लिङ वाटरको मेन्युबीच रेस्टुरेन्ट पुग्नेहरुले छनोट गर्न सक्नेछन्।
ला पपोट रेस्टुरेन्टमा पानीको मूल्य ५ पाउन्ड ( आजको विनिमय दर अनुसार ९४० रुपैयाँभन्दा बढी) देखि सुरु भएर १९ युरो (३ हजार ५०० रुपैयाँभन्दा बढी) सम्म पर्ने सीएनएनले उल्लेख गरेको छ। रेस्टुरेन्टले ट्याप वाटर (साधारण धाराको पानी) भने नि:शुल्क प्रदान गर्ने जनाएको छ।
रेस्टुरेन्टको यो प्रयासलाई धेरैले नयाँ र अनौठो भनेका छन्। केहीले भने यसलाई अनावश्यकरुपमा महँगो र देखावटी भन्दै आलोचना पनि गरेका छन्।









