काठमाडौं। नाडा अटो शोका लागि ल्याइएको डिपल इभीटीओएल फ्लाइङ कार र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले फ्लाइङ कार र युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं आइपुगेका जानकारी दिएको छ।
यी अत्याधुनिक प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक रुपमा प्रदर्शनका लागि ल्याइएको हो। यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने एसोसिएसनले बताएको छ।
‘१७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ,’ एसोसिएसनको विज्ञप्तिमा उल्लेख छ।
उक्त फ्लाइङ कार शनिबार तातोपानी नाकामा बोकेर ल्याइएको थियो। बाढीपहिरोले तातोपानी नाकाको कोदारीमा १५ दिनदेखि बाटो बन्द छ। उक्त बाटोमा फ्लाइङ कारलाई भरिया लगाएर बोकेर कटाइएको नेपालका लागि डिपलका गाडी विक्रेता कम्पनीले जनाएको छ।
उड्ने कार सवारी मेलामा प्रदर्शनी प्रयोजनका लागि मात्रै धरौटीमा ल्याइएको हो। प्रदर्शनीमा राखेपछि फेरि फिर्ता लैजानुपर्ने हुन्छ।
चांगन अटोमोबाइलको सब-ब्रान्ड डिपलले बनाएको अटोनोमस फ्लाइङ कार नाडा अटो शोमा राख्न लागिएको हो। जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) फ्लाइङ कार भनिन्छ। कार अटोमेटिकरुपमा उडाउन मिल्छ। दुई जना मानिस बस्न मिल्ने कार चांगनले ईह्याङ कम्पनीसँग मिलेर बनाएको हो।
नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ।











