काठमाडौं। बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले नेपालगंज-नयाँ दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालगंज-नयाँ दिल्ली सिधा हवाई उडान सञ्चालन गर्न ध्यानाकर्षण गराएका हुन्।
नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई ध्यानाकर्षणपत्र बुझाए।
धामीले दिल्लीमा सिधा हवाई उडानले नेपालगंज क्षेत्रमा आर्थिक गतिविधि बढ्ने बताए।
‘नेपालगंज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको छ। त्यसैले अब नेपालगंज-नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालन गर्न आवश्यक छ। दिल्लीमा सिधा हवाई उडानको व्यवस्था हुँदा नेपालगंज क्षेत्रमा आर्थिक गतिविधि बढ्छ। पश्चिम नेपालवासीले सुविधा पाउनेछन्,’ उनले भने।

ओलीले नेपालगंज-नयाँ दिल्ली सिधा हवाई उडान संचालनका लागि आफू सकारात्मक रहेको भन्दै यस विषयमा भारत सरकारसँग छलफल गर्ने आश्वासन दिएको उनको सचिवालयले जनाएको छ।











