संसारमै सफा सुँगुर, जो पालिएका छन् मान्छेलाई मृगौला र मुटु प्रत्यारोपणका लागि



बिजमाण्डू
२०८२ साउन १७ गते १२:३९ | Aug 2, 2025
संसारमै सफा सुँगुर, जो पालिएका छन् मान्छेलाई मृगौला र मुटु प्रत्यारोपणका लागि

ब्ल्याक्सबर्ग, (भर्जिनिया)। आगन्तुकलाई हेर्न दौडिँदै आएका सुँगुरका पाठापाठीका ठुल्ठुला आँखा छन्। सुँगुर सम्झँदै फोहोरमा हुने र दुर्गन्ध आउने देखेकालाई यहाँको दृश्य निकै फरक छ। किनभने यहाँ यति सफा छ की सबैलाई चकित पार्छ। सुँगुरहरु त सफा छन् नै, खोर पनि टकटकाउँदो छ।

Tata
GBIME
Nepal Life

यी जन्तुले मान्छेका लागि सम्भवतः अंग प्रत्यारोपणको भविष्य प्रतिनिधित्व गर्छन्। यहाँ फोहरमा लड्ने सुँगुरहरू छैनन्।

मानवमा प्रत्यारोपण गरिएका पहिलो जीन–सम्पादित सुँगुरका अंगहरू ब्लु रिज पर्वतको यो विशेष अनुसन्धान फार्मका उत्पादन हुन्। जहाँ आगन्तुकले यहाँ प्रवेशका लागि गाडी धोइपखाली गर्नुपर्छ। आफ्ना लुगा फुकालेर मेडिकल स्क्रब लगाउनुपर्छ र हरेक वातानुकूलित गोठबीच जुत्ता कीटाणुनाशक टबमा डुबाउनु अनिवार्य छ।

‘यी बहुमूल्य जनावरहरू हुन्,’ दशौं वर्ष खर्च गरेर सही जीन परिमार्जन भएका सुँगुर क्लोन गर्न सिकेका रेभिभिकोर इंकका डेविड अयारेसले भन्छन्।

केही माइल टाढा, क्रिस्टियन्सबर्ग, भर्जिनियामा, अझ कडा जैविक सुरक्षाअन्तर्गत सुँगुरका नयाँ झुण्ड पालिँदै छ – जसबाट छिट्टै जनावर–मानव प्रत्यारोपणको औपचारिक अध्ययनका लागि अंग आपूर्ति हुने अपेक्षा गरिएको छ।

यो विशाल, पहिलो–प्रकारको भवन कुनै फार्म जस्तो छैन, बरु औषधि कारखाना जस्तो देखिन्छ। भवनको केही भाग निश्चित छानिएका कर्मचारीहरू बाहेक सबैका लागि बन्द छ। भित्र प्रवेश गर्न समय–सापेक्ष स्नान, कम्पनी–द्वारा प्रदान गरिएको लुगा र जुत्ता लगाउनुपर्छ। अनि मात्र त्यहाँ सुँगुरका पाठापाठी हुर्किरहेको क्षेत्रमा पस्न पाइन्छ।

यस सुरक्षात्मक बारको पछाडि संसारकै सबैभन्दा सफा सुँगुरहरू छन्। मानिसलाई आवश्यकभन्दा राम्रो फिल्टर गरिएको हावा र पानी उनीहरुले पाउँछन्। आहारसमेत कीटाणुरहित हुन्छ, ताकि कुनै संक्रमण नलागोस् र अन्ततः भविष्यमा जसलाई अंग प्रत्यारोपण गरिन्छ उसलाई हानि नहोस्।

युनाइटेड थेराप्युटिक्सका म्याथ्यु भोनइशले भने, ‘हामीले यो सुविधा वातावरण र मानिसहरूबाट आउने प्रदूषणबाट सुँगुरहरूलाई जोगाउन निर्माण गरेका हौं। भवनमा पस्ने प्रत्येक व्यक्ति सम्भावित रोगजनक जोखिम हो।’

मानव अंग अभावलाई सहज बनाउने लक्ष्य

हरेक वर्ष हजारौं अमेरिकीहरू अंग प्रत्यारोपणको प्रतीक्षामा मर्छन्। मान्छेलाई कुनै अंग प्रत्यारोपण गर्नु परेमा मान्छेकै उपयुक्त हो तर विशेषज्ञहरूका अनुसार आवश्यकता पूरा गर्न पर्याप्त दाता कहिल्यै हुँदैनन्।

त्यसैको विकल्प हो जनावरका अंग। यसबाट अंग आपूर्ति सहज हुने आशा छ। दशकौंको असफल प्रयासपछि रेभिभिकोर, इजेनेसिस, मकाना थेराप्युटिक्स जस्ता कम्पनीहरूले सुँगुरका अंग मान्छेमा राख्न सहज हुनेगरि इन्जिनियरिङ गरिरहेका छन्।

हालसम्म अमेरिकामा यस्ता चार प्रत्यारोपण भएका छन् — दुई मुटु र दुई मृगौलाका। यी सबै गम्भीर बिरामीमा गरिएका अन्तिम प्रयास थिए। बिरामीहरू केही महिनाभित्र मरे पनि अनुसन्धानकर्ताले बहुमूल्य पाठ सिके।

एफडीए अहिले दान गरिएका मानव शरीरमा गरिएको प्रयोगका परिणाम मूल्याङ्कन गर्दैछ र बबुन (बाँदरको एक प्रजाति)मा गरिएको थप अध्ययनको प्रतीक्षा गर्दैछ।

यी नियन्त्रित वातावरणमा विकास गरिने अंगहरू हुन्। ‘प्रत्यारोपणका लागि जसलाई अंग चाहिएको हुन्छ उहाँहरुलाई ठिक हुने आकारमा हामी सुँगुरहरूलाई हुर्काइरहेका छौं,’ अयारेसले भने, ‘जसमा वृद्धावस्था वा पुराना रोगका कारण देखिने क्षति हुँदैन।’

रेभिभिकोरको फार्मबाट अंग निकाल्ने सर्जनहरू प्रायः भन्छन्, ‘यो मेरो जीवनमा देखेको सबैभन्दा सुन्दर मृगौला हो।’ मुटुको हकमा पनि त्यस्तै प्रतिक्रिया आउँछ — जवान जनावरको गुलाबी, स्वस्थ, खुशी मुटु।

जीन सम्पादन र क्लोनिङ प्रक्रिया

मुख्य चुनौती भनेको अस्वीकृति रोक्नु र अज्ञात संक्रमण जोखिम नियन्त्रण गर्नु हो।

प्रक्रिया प्रयोगशालामा सुँगुरका छालाका कोशिकामा जीन परिमार्जनबाट सुरु हुन्छ। सुरुमा, अल्फा–गाल नामक सुगर उत्पादन गर्ने जीन हटाइयो, जसले मानव प्रतिरक्षा प्रणालीबाट तत्काल प्रतिक्रिया उत्पन्न गर्छ। त्यसपछि तीन जीन नकआउट गरी अन्य प्रतिरक्षा ट्रिगर गर्ने तत्व हटाइयो। अहिले कम्पनीले १० जीन सम्पादनमा ध्यान केन्द्रित गरेको छ। जसमा हटाइएका सुँगुरका जीन र थपिएका मानव जीनले अस्वीकृति, रगतका डल्ला र अंग आकार नियन्त्रण गर्छ।

क्लोनिङ प्रक्रियामा डोली भेडी(भेडाको एक जात) बनाउने प्रविधिसँग मिल्दोजुल्दो तरिका अपनाइन्छ।

हरेक हप्तामा, वधशालाबाट सयौं डिम्ब ल्याइन्छ। अन्धकारमा प्रकाश–संवेदनशील डिम्बसँग काम गर्दै वैज्ञानिकहरूले माइक्रोस्कोपबाट मातृ डीएनए हटाउँछन् र परिमार्जित डीएनए हाल्छन्।

‘यसलाई राम्रोसँग राख्नुपर्छ,’ वरिष्ठ अनुसन्धानकर्ता लोरी सोरेल्सले भनिन्। हल्का विद्युतीय झटका दिई नयाँ डीएनए मिसाइन्छ र भ्रुण विकास सुरु हुन्छ।

केही घण्टापछि भ्रुणलाई हातले बोक्ने इन्क्युबेटरमा फार्ममा ल्याएर गर्भवती सुँगुरमा प्रत्यारोपण गरिन्छ।

सुँगुरका लागि विलासी आवास

फार्ममा टम पेट्टीको ‘फ्री फलिन’ गीत बज्दै थियो, जसले सुँगुरका बच्चाहरूलाई मानव आवाजसँग अभ्यस्त बनाउँछ। वातानुकूलित गोठमा तिनले आगन्तुकलाई स्वागत गरे तर मिठाइ नभएको थाहा पाएपछि फर्किए।

अयारेसले भने, ‘यो सुँगुरका लागि विलासी जीवन हो। तर यी बहुमूल्य र बुद्धिमान जनावरहरू हुन्।’

फार्ममा करिब ३०० सुँगुर विभिन्न उमेरका छन्। कानको ट्यागले तिनको जेनेटिक्स देखाउँछ।

फार्म सञ्चालक रेभिभिकोरकी सुयापा बल भन्छिन्, ‘यिनीहरूलाई राम्रो जीवन दिनुपर्छ किनभने यिनीहरुले आफ्नो जीवन हामीलाई दिइरहेका छन्।’

भविष्यको तयारी

सबैभन्दा महत्त्वपूर्ण प्रयोगका लागि सुँगुरहरू अझ कडा सफाइमा राखिन्छन्।

क्रिस्टियन्सबर्गमा रहेको ७७ हजार वर्गफुटको नयाँ रोगमुक्त सुविधा यो क्षेत्र नयाँ चरणमा प्रवेश गरिरहेको संकेत हो। यहाँ कम्पनीले वर्षमा करिब १२५ अंग उत्पादन गर्ने अपेक्षा गरेको छ, जुन नैदानिक परीक्षणका लागि पर्याप्त हुनेछ।

कम्पनीको भिडियोमा सुरक्षात्मक अवरोधभित्र दौडिरहेका, खेलौनासँग खेलिरहेका बच्चा सुँगुर देखिन्छन्।

यसले प्रमाणित गर्न वर्षौं लाग्नेछ कि जनावर–मानव प्रत्यारोपण वास्तवमै काम गर्छ वा गर्दैन। तर यदि सफल भयो भने, युनाइटेड थेराप्युटिक्सले देशभरका विभिन्न स्थानमा वार्षिक २ हजार अंग उत्पादन गर्न सक्ने अझ ठूलो सुविधा बनाउने योजना बनाएको छ।

अयारेसले भने, ‘हामी विभिन्न अध्ययनबाट देखिरहेका छौं कि तत्काल असफलता छैन। अर्को दुई–तीन वर्ष निकै रोमाञ्चक हुनेछन्।’ (एपी)