काठमाडौं। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ भदौ २९ गते पोखरामा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक वर्ष हुने अवार्ड कार्यक्रम २२ औं संस्करणमा आएर पहिलो पटक काठमाडौं बाहिर हुन लागेको हो।
अवार्डको आयोजनाका लागि शुक्रवार आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबिच प्रायोजक सम्वन्धि सम्झौता भयो। संझौता पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे।
विगत १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको संझौता थप गरेको हो। हरेक वर्ष सम्झौता रकम बढ्दै जाने गोल्छाले बताए।
सम्झौता अनुसार गोल्छा ग्रुपले नगद र जिन्सी गरी ४० लाख रुपैंया बराबरको प्रायोजन गर्नेछ।
मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको अवस्थामा स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्यले पर्यटनको राजधानी पोखरामा अवार्ड आयोजना गर्न लागेको जानकारी दिए।
स्पोर्ट्स अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड र टिम अफ दि इयर विधा रहेको छ।
जसमा उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ५ विधाका खेलाडीले पल्सर मोटर साइकल प्राप्त गर्नेछ। त्यस्तै स्पेशल, लाइफटाइम अचिभमेन्ट, टिम अफ द इयर र पारा एथलेट सम्मानका विजेताले नगद १ लाख रुपैंया प्राप्त गर्नेछ।
नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुप बिच अवार्डकै लागि सहकार्य भएको यो १७ औं बर्ष हो। गोल्छा समूहका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले १७ वर्षको यो सहकार्य नेपालकै लामो साझेदारीमध्ये एक भएको बताए। ‘यसले दुई सस्थाबिचको प्रतिबद्धता र विश्वास देखाउँछ, त्यसैले पनि एनएसजेएफसँग आवद्ध हुन पाउँदा गर्व महसुस हुन्छ।’ उनले भने।











