चितवन। चितवनको सौराहामा रोयल ट्युलिप चितवनले अल-डे-डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’ संचालनमा ल्याएको छ। लुभ्र होटल्स ग्रुपअन्तर्गत केटीएम हस्पिटालिटीद्वारा संचालित ५-तारे रिसोर्ट रोयल ट्युलिप चितवनले शुक्रबार ‘द माझीघर’को सफ्ट ओपनिङको घोषणा गरेको हो।
सौराहामा यो रिसोर्टको आगमनले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।
माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटीएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताए। पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्ने उनले बताए।
स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय दुवैको अनुभव प्रदान गरेर चितवनको आतिथ्य परिदृश्यलाई समृद्ध बनाउने उनको भनाइ छ।
‘हामीले अहिले रेष्टुराँको मात्र सफ्ट शुभारम्भ गरेका हौं,’ उनले भने, ‘छिट्टै आगामी असोजदेखि होटल भव्य उद्घाटनसहित सुरू गर्नेछौं।’


चितवन राष्ट्रिय निकुञ्जको किनारमा अवस्थित यस रिसोर्टमा ६५ वटा कोठा र भिलाहरू छन्। जसले परिष्कृत आरामलाई प्रकृतिको मनमोहक सुन्दरतासँग जोड्ने काम गरेको अध्यक्ष शाहको भनाइ छ।
४ एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यस रिसोर्टमा ६५ वटा आवासहरू छन्। जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइटहरू छन्।
पाहुनाहरूले स्पा, फिटनेस सेन्टर, पौडी पोखरी र माझीघर, फरेस्ट फ्लेम, मचान र स्पोर्ट्स बारमा विविध भोजन अनुभव जस्ता विश्वस्तरीय सुविधाहरूको आनन्द लिन सक्छन्।

प्रकृतिको सुन्दरता र जंगली जनावरको अवलोकनले आनन्दित तुल्याउनुका साथै क्षेत्रीय पर्यटनलाई बढावा दिन, स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र चितवनमा विलासिताका लागि नयाँ बेन्चमार्क स्थापित गर्ने प्रयास भएको शाहले बताए।
रोयल ट्युलिप चितवनले नेपालको पर्यटन उद्योगलाई सुदृढ पार्न, स्थानीय अर्थतन्त्रलाई सहयोग गर्न र सौराहाका स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। रिसोर्टका महाप्रबन्धक सचिन शर्माले यी कुराहरूलाई ध्यानमा राख्दै रिसोर्ट संचालन गर्ने प्रतिबद्धता जनाए।
उनले भने, ‘दिगो विकासप्रति प्रतिबद्ध, रोयल ट्युलिप चितवनले इन-हाउस वाटर बोटलिङ प्लान्ट र स्थानीय रूपमा उपलब्ध सामग्रीहरूको प्रयोग जस्ता पहलहरू सुरु गरेको छ, जसले १०० भन्दा बढी स्थानीय रोजगारी सिर्जना गर्ने छ।’











