बुद्धको सफल कारोबारी उडानमा बस्नेत : ओह्रालो लागेको कस्मिक र कोशी बाढी आकस्मिकता



ऋषिकेश दाहाल
२०८२ असार २८ गते ११:०५ | Jul 12, 2025
बुद्धको सफल कारोबारी उडानमा बस्नेत : ओह्रालो लागेको कस्मिक र कोशी बाढी आकस्मिकता
तस्वीर स्रोत : बुद्ध एयर


सोसल मिडियामा अहिले ‘डीपफेक’ भिडियो भाइरल छ- विमानको छतमाथि लोड गरिएका लगेज। विमानबाट उत्रिँदै गरेका मानिस र तिनीहरूले च्यापेर ल्याएका बाख्रा, कुखुरा। के विमानमा खसीबाख्रा डोर्‍याउँदै भिडियोमा देखिए जस्तै ओसारपसार गरिन्छ? डीपफेक भिडियोमा देखिएको अपत्यारिलो लाग्ने दृश्य पूर्ण भ्रामक हो त?

Tata
GBIME

भिडियो पूरै भ्रामक भए पनि कतिपय सन्दर्भहरू भने मेलखाने देखिन्छ। काठमाडौंबाट महेन्द्रनगरको हवाई यात्रा गर्दा बुटवलबाट खसीबोका विमानमा आफूसँगै चढाउने यात्रीबारे उल्लेख गरेका छन् लेखक हेमन्त मिश्रले। ‘श्री ५ को सेवामा’ शीर्षकको उनको पुस्तकमा अटाएका उक्त दृश्यसँग मिल्दो लाग्छ आजकल आर्टिफिसियल इन्टेलिजेन्समार्फत् तयार पारिएका डीपफेक भिडियो।

सन् १९७० को दशकको विमानको सन्दर्भभन्दा अहिले धेरै फरक छ परिवेश। सडक सञ्जालबाट पूरै बाहिर रहेको नेपाललाई हवाई रुटले जोड्थ्यो। काठमाडौंको गौचरनमा उत्रिएको विमान डेकोटा थियो। यात्रुमात्र होइन, २००७ सालको क्रान्तिताका पर्चा छर्न पनि यसको प्रयोग भएको इतिहास छ। राजनीतिक उद्देश्यका साथ शाही नेपाल वायुसेवाको विमान अपहरणको कथालाई पत्रकार जगत नेपालले भिडियोबाट थप प्रस्ट्याएका छन्। माओवादी ‘जनयुद्ध’का बेला सेनाको हेलिकप्टरमा अटाएसम्म खाँदाखाँद बसेका पत्रकारका दृश्य बिस्तारै धुमिल बन्दै गइरहेको छ।

ढिलो थालनी भए पनि नेपालको उड्‍डयन इतिहासमा धेरैखाले घटना छन् जसलाई विस्मृतिमा पुर्‍याउन रोक्नुपर्छ। काठमाडौंमै दोस्रो विमानस्थल स्युचाटारमा थियो भन्दा धेरै मानिस अचम्म मान्छन्। त्यसैले उड्‍डयन क्षेत्रका विषयमा आउने जुनसुकै सामग्री पनि हाम्रो सन्दर्भमा महत्त्वपूर्ण हुन्छ। नेपालको उड्‍डयन क्षेत्रले सफलता र असफलताका शृंखलाहरू पार गरेको छ जसको दस्तावेजीकरण आफैंमा एउटा महत्त्वपूर्ण कदम हो। यसै सन्दर्भमा व्यवसायी वीरेन्द्रबहादुर बस्नेतले ‘बाई द बुक’मार्फत् नेपालको उड्‍डयन क्षेत्रमा एकखाले दृष्टिकोण पेस गरेका छन्। नेपालमा बुद्ध एयरको स्थापना कसरी भयो र त्यसले आफ्नो आरोह अवरोह कसरी पार गर्दै आजको अवस्थामा आइपुग्यो भन्ने बुझ्नका लागि यो बलियो सन्दर्भ सामग्री बनेको छ।

परिश्रम र महत्त्वाकांक्षालाई बस्नेतले बुद्ध एयरको सफलताका रुपमा व्याख्या गरेका छन्। बुद्ध एयर अहिलेको अवस्थामा आउनुमा संयोगहरूको संयोजन मानेका छन् उनले। त्यसैले उनी कतै भाग्यवादलाई विश्वास गर्छन् त कतै कर्मवादलाई। मूलत: ती दुवैले बुद्ध एयर आजको अवस्थामा आइपुगेको उनको तर्क छ। आफ्नो पढाइ यात्राको असफलता होस् या पढाइले नै जुराएको सफलतालाई संयोगका रुपमा परिभाषित गरेका छन् बस्नेतले। बुद्ध एयरको विकासमा कहीँ न कहीँ बुढानीलकण्ठ स्कुल वा सेन्ट जेभियर्सले जोडेका सन्दर्भहरू संयोगकै रुपमा समावेश छन्।

संयोगलाई उनकै तर्कमा न व्यवस्थापनको शास्त्रीय सिद्धान्तले व्याख्या गर्न सक्छ न त भाग्यवादले नै। बुद्ध एयर सुरु हुनुको श्रेय उनी भाइ शिवेन्द्रलाई दिन हिच्किचाउँदैनन्। लेखेका छन्, ‘भाइ शिवेन्द्र पाइलट नबनेको भए हामीले हवाई सेवामा हात नहाल्न सक्थ्यौं।’

सबैभन्दा चुनौती दिइरहेको कम्पनीको ओरालो यात्रा र सप्तकोशीको बाढीले पूर्वी नेपालको सडक सम्बन्ध टुट्दा व्यावसायिक हिसाबले बुद्धसामु अवसरमात्रै रह्यो।

प्रतिस्पर्धाको कथा

‘बाई द बुक’मा हवाई क्षेत्रको चर्को प्रतिस्पर्धाका केही सन्दर्भ छन् जुन रोचक लाग्छ। कुनै पनि कम्पनी सफल हुनु वा नहुनुमा व्यवस्थापनको भूमिका कुन तहको हुन्छ भन्ने बारम्बार व्याख्या गरिएको छ। यस्ता केही सन्दर्भ छन् जसले हवाई क्षेत्रमा कस्तो प्रतिस्पर्धा हुन्थ्यो भन्ने देखाउँछ-

‘हाम्रो उडान बिचक्राफ्ट १९०० डी मै सीमित भइरहँदा कस्मिक एयरले १०५ सिटको फोकर १०० जेट ल्यायो। उसले वर्ष दिनभित्रै अरु दुइटा त्यस्तै जहाज थप्यो। डोर्नियर २२८ चार जहाज भेला पार्‍यो। उसले अन्धधुन्ध प्रतिस्पर्धा गर्न थाल्यो।

काठमाडौं-विराटनगरको भाडा १ हजार १ सय रुपैयाँ मात्र थियो। हरेक टिकटमा एउटा लक्की ड्र राखेर मोटरसाइकल बाँड्न थाले। उनीहरूको जहाज छिटो पुग्थ्यो। टिकट सस्तो थियो। हामी प्रतिस्पर्धामा निकै पछि पर्न थाल्यौं।’

यही प्रतिस्पर्धामा पछि परेपछि बुद्धले एटीआर ल्याउने योजना अघि बढायो। पहिलो चरणमा २ वटा एटीआर ल्यायो। त्यतिखेरसम्म कस्मिक एयर आर्थिक रुपमा टाट उल्टिन थालिसकेको थियो। सबैभन्दा चुनौती दिइरहेको कम्पनीको ओरालो यात्रा र सप्तकोशीको बाढीले पूर्वी नेपालको सडक सम्बन्ध टुट्दा व्यावसायिक हिसाबले बुद्धसामु अवसरमात्रै रह्यो। हवाई सेवामा यो पनि एउटा संयोग नै थियो बुद्धका लागि। लोगोसहित ब्रान्डिङ नै नगर्दा समेत उडान गर्नुपर्ने अवस्था र यात्रुको चापले कम्पनीलाई अघि बढाएका सन्दर्भ रोचक छन्।

मन्त्री समेत भइसकेका बुबा सुरेन्द्र र उनले कसरी नेपाली सेनाको उच्च पदस्थ अधिकारीलाई प्रभाव पार्न सकेका थिए भन्ने सन्दर्भ रोचक लाग्छ। त्यी सन्दर्भमा उनी लेख्छन् – ‘मेरो अनुभवले भन्छ- नीतिगत निर्णय गर्ने तहका मानिससँग तपाईँको सम्पर्क, सम्बन्ध वा पहुँच छैन भने नेपालमा उद्यम सुरु गर्न असम्भव जस्तै छ।

क्रोनी क्यापिटलिज्ममाथि चर्चा

यतिखेर हरेक क्षेत्र विचौलियाको प्रभावमा छ। हरेक तहका राजनीतिक र आर्थिक क्षेत्रमा विचौलिया हावी भइरहेको सन्दर्भमा बस्नेतले पनि क्रोनी क्यापिटलिजमको कुरा गरेका छन्। उनले व्यावसायी र राजनीतिज्ञ तथा कर्मचारीको मिलोमतोको सन्दर्भ उप्काएका छन्। कसरी कर्मचारी र नेतालाई फाइदा पुग्नेगरी काम भइरहेको छ भन्ने चर्चा गरेका छन्।

त्यही क्रममा उनले आफ्नै सन्दर्भ पनि जोडेका छन्। कर्पोरेट सफलताका लागि कसरी शक्ति परिचालन गरिन्छ भन्ने देखाउन उनले आफ्नै उदाहरण पेस गरेका छन्, जुन रोचक लाग्छ।

सन्दर्भ बुद्ध एयर सुरुवातबाटै आउँछ। वायु सेवा कम्पनी खोल्न भर्खरै खुलेको बैंक अफ सिलोनबाट ऋणको प्रक्रिया अगाडि बढेको थियो। नेपाली सेनाको कल्याणकारी कोषको रकम उक्त बैंकमा ‘फिक्स्ड डिपोजिट’मा राख्‍न सकियो भने आफ्नो व्यावसायका लागि ऋण सहज रुपमा उपलब्ध हुने उनले थाहा पाउँछन्। सैनिक अधिकारीसँग उक्त बैंकमा लामो समय होल्ड हुनसक्ने उक्त रकम डिपोजिट गराउन गरेको मेहनतबारे पनि खुलाउँछन्। मन्त्री समेत भइसकेका बुबा सुरेन्द्र र उनले कसरी नेपाली सेनाको उच्च पदस्थ अधिकारीलाई प्रभाव पार्न सकेका थिए भन्ने सन्दर्भ रोचक लाग्छ। त्यी सन्दर्भमा उनी लेख्छन्- ‘मेरो अनुभवले भन्छ- नीतिगत निर्णय गर्ने तहका मानिससँग तपाईँको सम्पर्क, सम्बन्ध वा पहुँच छैन भने नेपालमा उद्यम सुरु गर्न असम्भव जस्तै छ।’

सफल व्यवसायका लागि ‘नेटवर्किङ’बारे बस्नेत प्रष्ट छन्। लेख्छन्, ‘मैले विरासतमा पाएको त्यो सम्बन्ध हुँदैन थियो भने हामीलाई जहाज किन्ने ऋण लिन सकस पर्ने थियो। हामीले जहाज किन्न नसक्ने अवस्था बन्थ्यो।’

व्यवसायमा दाजुभाइको यसखाले सम्बन्धलाई थोरै ग्लोरिफाइ गर्न भने भ्याएका छन् उनले- भारतमा धीरूभाइ अम्बानीको निधनपछि उनका छोराहरु मुकेश र अनिलबीचको व्यावसायिक सम्बन्धजस्तै व्याख्या गरेर।

सफलतामा एकल लगानी र भाइसँगको विवाद

बुद्धको सफलतामा वीरेन्द्रले एकल लगानीलाई मुख्य आधार मानेका छन्। कार्य दक्षता र पारदर्शितालाई प्राथमिकता दिएका छन्। साझेदार बीचको विवादका कारण नेपालका ३ दर्जन हवाई कम्पनी बन्द भएको उनको तर्क छ। एकल स्वामित्व कायम गर्न पिता सुरेन्द्रबहादुरको नाममा ८० प्रतिशत सेयर राखेर कम्पनी अगाडि बढाइएको थियो।

सुरुवाती दिनमा उनले व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए भने प्राविधिक तर्फको जिम्मेवारी शिवेन्द्रले। त्यतिखेर २ जनाले जिम्मेवारी सम्हाल्दा आएको ‘कन्फ्लिक्ट’ उनले स्वीकारेका छन्। सबैखाले उतारचढाव भोगेको बुद्धसँग अहिले १८ वटा एटीआर विमान छन्।

बस्नेतले पुस्तकमा व्यावसायिक सफलताका शृंखलाहरूको चर्चाकै बीच कम्पनीको सेयरसम्बन्धी विवाद पनि छोटो रुपमा उल्लेख गरेका छन्। भाइ शिवेन्द्रको चारित्रिक सन्दर्भदेखि भतिजी देवयानीले बुद्ध एयरमा आफूलाई दिएको साथबारे उनले प्रष्ट्याएका छन्। देवयानी वीरेन्द्रका पक्षमा उभिएपछि शिवेन्द्र र उनको बाँकी परिवारको सेयर हिस्सा ३५ प्रतिशतमा सीमित भएको उल्लेख गरेका छन्।

‘शिवेन्द्रले ३५ प्रतिशत सेयरका आधारमा बुद्ध एयरका जहाज भाग लगाएर लिएर जाने र अर्को कम्पनी बनाउने आकांक्षा राखेको थियो। उसको त्यो षड्यन्त्र सफल भएन,’ उनले लेखेका छन्।

यतिखेर सोसल मिडिया नै खोतल्ने हो भने शिवेन्द्रले बुद्ध एयर र वीरेन्द्रबहादुरविरुद्ध दिएका अभिव्यक्ति सजिलै भेटिन्छ। तर, पुस्तकमा ३५ प्रतिशत नै सेयरको सन्दर्भमा भाइको परिवारको भाग लागेको बताए पनि त्यसबारे थप उल्लेख गरेका छैनन्। व्यवसायमा दाजुभाइको यसखाले सम्बन्धलाई थोरै ग्लोरिफाइ गर्न भने भ्याएका छन् उनले – भारतमा धीरूभाइ अम्बानीको निधनपछि उनका छोराहरू मुकेश र अनिलबीचको व्यावसायिक सम्बन्धजस्तै व्याख्या गरेर।

वीरेन्द्रबहादुर बस्नेतले लेखेको पुस्तकमा कम्तीमा नेपालको उड्‍डयन क्षेत्रमा निजी क्षेत्रको सफलतासँगै असफलताको कथाको पनि अपेक्षा गरिन्छ। उड्‍डयन क्षेत्रमा सरकारले लिएको उदारवादी सोचको परिणाम बुझाउने गहकिलो सामग्री बन्न सक्थ्यो।

अरु कम्पनीबारे सीमित सामग्री

वीरेन्द्रबहादुर बस्नेतले उड्‍डयन क्षेत्रमाथि कलम चलाएपछि अपेक्षा धेरै हुनु नेपाली पाठकका रुपमा स्वाभाविक हो। यसमा नेपालको सिंगो उड्‍डयन क्षेत्रको बृहत् दायरा समेटिन सक्थ्यो। यहाँ नेकोन एयरको असफलताको कथा अट्न सक्थ्यो, कस्मिकको सन्दर्भ अझै फराकिलो हुनसक्थ्यो।

अहिले प्रतिस्पर्धामा रहेको यती एयरलाइन्सका सन्दर्भ पनि आउन सक्थ्यो। बस्नेतले यस्ता सन्दर्भ र विषयलाई नजरअन्दाज गरेका छन्। किनकि सफलसँगै असफल कम्पनी अनि नेपालमा उड्‍डयन क्षेत्रका कमजोरी पहिचानको एउटा प्रस्थान विन्दु बन्न सक्ने विषय र त्यस क्षेत्रकै लिडरबाट पुस्तक आउँदा अपेक्षा बढी हुने रहेछ।

कस्मिक होस् या नेकोन, कुनै समय चर्चित कम्पनी कसरी बन्द हुने अवस्थामा पुगे त? तिनको असफलताले बुद्धको सफलतामा कुनै पनि योगदान दिएन? असफलताको शृंखलाबद्ध घटनाक्रमले सिंगो उड्‍डयन क्षेत्रमा फैलिएको तरंगलाई विश्लेषण गरिएको भए ‘बाई द बुक’को ओझ बलियो हुन्थ्यो।

वीरेन्द्रबहादुर बस्नेतले लेखेको पुस्तकमा कम्तीमा नेपालको उड्‍डयन क्षेत्रमा निजी क्षेत्रको सफलतासँगै असफलताको कथाको पनि अपेक्षा गरिन्छ। उड्‍डयन क्षेत्रमा सरकारले लिएको उदारवादी सोचको परिणाम बुझाउने गहकिलो सामग्री बन्न सक्थ्यो। 

व्यवस्थापन शास्त्रका विद्यार्थीका लागि वीरेन्द्रबहादुर ‘आइडल’ व्यक्तित्व हुन्। हवाई उड्‍डयनमा पनि। सबैलाई थाहा छ, लेखन उनको विधा होइन। उनको लेखनमा कमजोरी हुनसक्छ तर सम्पादनमा वीरेन्द्रको ‘प्रभाव’ देखिनु राम्रो होइन।

कतै विजयकुमार त कतै कर्ण शाक्य

‘बाई द बुक’ अर्थात् निष्कपट, पारदर्शी र व्यवस्थित कारोबार। यसलाई गुरुमन्त्र मानेका छन् उनले। सफलताको आधारका रुपमा यसैलाई ठम्याएका छन्। तर, उनको लेखनमा बारम्बार कतै विजयकुमार पाण्डेको शैलीमा आदर्शका कुरा आउँछन् त कतै कर्ण शाक्यका शब्दहरू। स्कुले जीवनमा पढेका नीति कथालाई समावेश गरेका छन् उनले पटक-पटक। आफूलाई राजकुमार दिक्पालझै आँटिलो व्यक्तिका रुपमा उतारेका छन्।

बारम्बार एउटै सन्देश र सन्दर्भ पुस्तकमा आइरहन्छ। पुस्तक कतै बुद्ध एयरको कथा लाग्छ त कतै वीरेन्द्रबहादुरको। यी दुवै धारलाई फरक-फरक पुस्तकमा उतारेको भए अलमलिने थिएन।

सम्पादनका हिसाबले फाइन प्रिन्टको कमजोर उत्पादन लाग्छ ‘बाई द बुक’। तथ्यांक त्रुटि र दोहोरिएका सन्दर्भलाई जस्ताका तस्तै दिँदा झिँजो लाग्छ। जस्तो कि आर्थिक वर्ष २०८०/८१ मा मात्र राज्यलाई भ्याटबापत १ खर्ब ७१ करोड बुझाएको (पेज ७६) दाबी छ। उनको दाबी त्रुटिपूर्ण लाग्छ। अर्ब हुनुपर्नेमा खर्ब भएको हुनसक्छ। तथ्यांकको पुन: परीक्षण छैन पुस्तक लेखनका क्रममा। यस्ता त्रुटि बारम्बार आउँदा पढ्नेलाई खाना खाँदा गाँसमा ढुंगा लागेको अनुभूति हुनु स्वाभाविक हो। जस्तो कि २०३ पेजमा उनी नेपालको प्रतिव्यक्ति आयबारे लेख्छन्- ‘आज साढे एक हजार चार सय अमेरिकी डलर पुगेको छ।’ पक्कै टाइपो !

व्यवस्थापन शास्त्रका विद्यार्थीका लागि वीरेन्द्रबहादुर ‘आइडल’ व्यक्तित्व हुन्। हवाई उड्‍डयनमा पनि। सबैलाई थाहा छ, लेखन उनको विधा होइन। उनको लेखनमा कमजोरी हुनसक्छ तर सम्पादनमा वीरेन्द्रको ‘प्रभाव’ देखिनु राम्रो होइन। बुद्ध एयर नेपालको उड्‍डयन क्षेत्रको एउटा सफल कथा हो। शुद्ध ‘बुद्ध’ नभइ अशुद्ध ‘बुध्द’ भएर एयरलाइन्सको ब्रान्ड बनेजस्तो त्रुटि पुस्तक लेखनका क्रममा नभएको भए सुनमा सुगन्ध हुने थियो। लोगो डिजाइन र ब्रान्डिङको सन्दर्भ रोचक छ पुस्तकमा।

बुद्ध एयरका अलावा खेती किसानीको सन्दर्भ पनि पुस्तकमा छ। भारतको चर्चित कम्पनी टाटा समूहले एयर इन्डिया खरिद गरेको सन्दर्भलाई रोचकता साथ व्याख्या गरेका बस्नेतले यती एयरलाइन्स वा हिमालय एयरलाइन्सजस्ता प्रतिस्पर्धी कम्पनीका विषयलाई ठाउँ दिन सकेको भए राम्रो हुन्थ्यो। बुद्ध मात्र होइन, वीरेन्द्रबहादुरको पनि ब्रान्डिङ गराउने दोहोरो जिम्मेवारी पुस्तकले लिएको छ।

बुद्ध एयरले पीपीपी मोडलमा कोशी एयरको अवधारणा जोडेर पुस्तक अन्त्य हुन्छ। प्रादेशिक विमान संचालनमा ल्याउने उनको प्रयासले कस्तो मोडल लिन्छ? त्यो आगामी दिनले बताउने नै छ। साथै, एकल स्वामित्वलाई नै प्राथमिकताका साथ व्याख्या गरेका बस्नेतको कोशी प्रोजेक्टको पीपीपी मोडलले कस्तो स्वरुप हासिल गर्ला? एकखाले कौतुहलता कायम राखेको छ पुस्तकले। सायद, यसखाले कौतुहलताको जवाफ आगामी दिनमा उनको उड्‍डयन अभ्यासले दिने छ।