
विराटनगर। पूर्वका उद्योगीले बीमा कम्पनीको मनोमानीमा आँखा चिम्लिएको भन्दै नेपाल बीमा प्राधिकरणको नियामकीय भूमिकाको आलोचना गरेका छन्।
प्राधिकरणले आइतबार उद्योग संगठन मोरङमा राखेको छलफलमा सहभागी व्यवसायीले बीमा कम्पनीले प्रिमियम दरमा कार्टेल गरेर महँगो मूल्य लिँदा लागत उच्च हुन पुगेको तर यसतर्फ प्राधिकरणले बेवास्ता गरेको बताए।
नियामकको उदासीनताका कारण बीमा खर्च नेपालमा विश्वको महँगो भएको र आफूहरुले प्रत्येक वर्ष आयकरभन्दा बढी प्रिमियम शुल्क तिरिरहेको गुनासो व्यवसायीले गरे।
संगठनका कोषाध्यक्ष पारस लुनियाँका अनुसार पहिले प्रिमियम दर प्रतिस्पर्धी थियो। एउटा कम्पनीले ३ प्रतिशत हुँदा अर्काको साढे २ प्रतिशत थियो।
बीमा कम्पनीले केही वर्षयता प्राधिकरणकै संरक्षणमा कार्टेलिङ सुरु गरेको व्यवसायीहरुको आरोप छ। सबैको प्रिमियम दर ३ प्रतिशत छ।
‘हामी उद्योगीहरू दिनरात चर्को प्रतिस्पर्धा गर्छौं। तर खुलाबजार र उदारीकरण अपनाएको मुलुकमा सरकारी निकायका आडभरोसामा बीमा कम्पनीले कार्टेलिङ गरेर लुट मच्चाइरहेका छन्। हामी अब कार्टेलिङ सहन सक्दैनौं.’ लुनियाँले भने।
प्राधिकरणले बीमा कम्पनी सञ्चालन गर्ने १५/२० व्यापारिक घरानालाई पोस्न कार्टेलिङ गर्न छुट दिएको र जनताको सम्पत्ति मुट्ठीभरका घरानाले पाइरहेको भन्दै लुनियाँले आक्रोश व्यक्त गरे।
‘मुट्ठीभरका व्यक्तिलाई पोस्नुभन्दा प्राधिकरण आफैँले हाम्रो बीमा गरिदेओस् र प्रिमियम लेओस्। अहिले सरकारले राजस्व संकलन गर्न नसकेर मुलुक गरिब भइरहेका बेला ठूलो रकम सरकारी कोषमा जम्मा हुनेछ,’ लुनियाँले प्राधिकरणका अध्यक्ष शरद ओझासामु भने।
प्रिमियम दरमा कार्टेलिङका कारण एउटा उद्योग वा व्यवसायले तिर्ने आयकरभन्दा बीमाको शुल्क धेरै भएको उद्योगीहरुको भनाइ छ।
‘प्राधिकरणले केही ठूला उद्योगको ५ वर्षको ब्यालेन्स सिट अध्ययन गरोस्। आयकरभन्दा बीमाशुल्कको रकम धेरै छ,’ लुनियाँले भने।
संगठनका उपाध्यक्ष विपिन काबराले आयातित वस्तु बाटैमा चुहिएको, झरेको वा नास भएको छ भने भन्सार विन्दुमा त्यसको पनि भ्याट र भन्सार महसुल तिर्नुपर्ने बताए।
‘यसपछि हामी बीमाको प्रक्रियामा लाग्छौँ। तर, बीमा कम्पनीले हामीले भन्सार विन्दुमा बुझाएको भ्याटको रकम फिर्ता दिइरहेका छैनन्। यसले गर्दा खानेतेल, पेट्रोलियम पदार्थ, लुब्रिकेन्ट्स, खाद्यान्न लगायत धेरै उद्योग व्यवसायले ठूलो मार खप्नुपरेको छ,’ उनले भने, ‘हामीले आफ्नो उद्योगको २०७९ सालको दाबीको भुक्तानी अहिलेसम्म पाएका छैनौं। यसले हामीलाई निरास बनाएको छ।’
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले बीमाशुल्क महँगो भएको भन्दै बीमा कम्पनीले उद्योग व्यवसायको मर्म बुझ्न नसकेको बताए।
बीमा कम्पनीबाट अनाहकमा शोषि हुँदा पनि प्राधिकरणको साथ पाउन नसकेको व्यवसायीहरुको गुनासो छ। ‘भारतको भन्दा नेपालमा प्रिमियम दर ५० देखि ३०० प्रतिशतसम्म महँगो छ,’ राठीले भने।
राठीले तीन वर्ष अघिसम्म बीमा कम्पनीले कर्पोरेट डिस्काउन्ट १० प्रतिशत दिने गरेकामा अहिले ३ प्रतिशतमा झारेको बताए। ‘बीमा कम्पनीहरू नाफा जानैपर्छ। नाफा नगर्ने कम्पनीले बिमितको दाबी भुक्तानी गर्न सक्दैन। तर, नाफा गर्ने नाममा जे गर्न पनि पाइँदैन। प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने।
उद्योग संगठनका पूर्व अध्यक्ष राकेश सुरानाले प्राधिकरणले बीमा कम्पनीको ज्यादतीको संरक्षण गरिरहेको आरोप लगाए। नियामकको आडभरोसामा बीमा कम्पनीले लामो समयदेखि सिन्डिकेट र कार्टेलिङमा गुन्डागर्दी शैलीमा व्यवसाय चलाइरहेको उनको आरोप छ।
‘प्राधिकरणले व्यवसायीको सुरक्षा गर्ने हो कि ज्यादती गर्ने बीमा कम्पनीको? यसको उत्तर हामीले कहिले पाउने?,’ सुरानाले प्रश्न गरे।
संगठनका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालले उद्योग व्यवसायले आफूलाई चाहिने र आवश्यक पर्ने मात्र क्षेत्रमा बीमा गर्न पाउनु पर्ने व्यवस्था गर्न आग्रह गरे।