
काठमाडौं। हुम्लाको चुवा खोलामा निर्माण गरिएको बेलिब्रिज उद्घाटनमा भीआइपीको लस्कर लागेको छ।
बेलिब्रिज निर्माणलाई ठूलो उपलब्धि मानेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चुवा खोलामा भीआइपीहरुको लस्कर लगाइएको हो।
ओलीको साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राई, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत हुम्ला पुगेका थिए।
ओलीले पत्नी राधिका शाक्य र एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पनि लगेका थिए। प्रदेशका सांसदको पनि लस्कर लागेको थियो।

सरकारको नेतृत्व गरेको वर्ष दिनसम्म परिणाम देखिने ठोस काम गर्न नसकेको भनेर सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आलोचना भइरहँदा ओलीले चुवा खोलाको बेलिब्रिजमा आफ्नो नाम लेखाएका छन्।

बेलिब्रिज निर्माणसँगै हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।
पुल यसअघि असार ११ गते उद्घाटन गर्ने तयारी थियो। तर, समयमा काम सम्पन्न नभएपछि उद्घाटनको समय सारिएको हो।
सिमकोट र खार्पुलाई जोड्ने खार्पुनाथ गाउँपालिका-५ को खार्पुदोभानमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो। सेनाले बेलिब्रिज निर्माण गर्ने काम जेठ १ गतेबाट थालेको थियो।
कर्णाली करिडोर सडक आयोजना सिमकोटका प्रमुख बेलबहादुर नेपालीका अनुसार पुल निर्माणपछि नेपालगंज र सुर्खेतबाट बाजुरा र कालिकोट हुँदै हुम्ला सदरमुकाम सिमकोट र चीनको सिमाना हिल्सासम्म सीधा यातायात संचालन गर्न बाटो खुलेको छ। सडक भने कच्ची हो।