महिला निर्माण व्यवसायी मञ्जु लामालाई तत्काल रिहा गर्न महासंघको माग

बिजमाण्डू
२०८२ असार २२ गते १७:३८ | Jul 6, 2025
महिला निर्माण व्यवसायी मञ्जु लामालाई तत्काल रिहा गर्न महासंघको माग

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले महिला निर्माण व्यवसायी मञ्जु लामामाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ।

Tata
GBIME

महासंघका महासचिव रोशन दाहालले आइतबार विज्ञप्ति जारी गर्दै मकवानपुरको सहरी विकास तथा भवन कार्यालय र दोलखा काली भूमे कन्स्ट्रक्सन एण्ड सप्लार्यसबीच ठेक्का सम्झौता भई काम भइरहँदा लामामाथि अभद्र व्यवहार भएको बताएका छन्।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ का अध्यक्ष नवीन सिग्देलले लामामाथि असार १९ गते अभद्र व्यवहार गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा थुनाउने काम गरेको भन्दै महासंघले आपत्ति जनाएको हो।

‘सम्बन्धित कार्यालयसँग समन्वय गरी सत्यतथ्य पत्ता लगाई आपसी संवादमार्फत् निष्पक्ष छानबिन गरी समस्या समाधान गर्नुपर्नेमा वडाध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट निर्माण कार्य तीव्र रुपमा गर्नुपर्ने अहिलेकै सिजनमा महिला निर्माण व्यवसायी उपर भएको यस किसिमको हर्कतबाट जनप्रतिनिधिमा सत्ता उन्माद भई कानुनी शासनको उपहास गरिएको महासंघको ठहर छ,’ विज्ञप्तिमा उल्लेख छ।

निर्माण व्यवसायी लामालाई तत्काल रिहा गरी घटनामा संलग्नलाई कारबाही गर्न महासंघले माग गरेको छ। देशभरका निर्माण व्यवसायीहरू, उनीहरूमा आश्रित कामदारसहित निर्माण उपकरणहरूको समेत सुरक्षाको पूर्ण व्यवस्था मिलाउन पनि महासंघको माग छ।

यस्ता घटना बन्द नभए महासंघ देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा जनाइएको छ।