सुनको कारोबार पारदर्शी बनाउन विलासिता करको दायरा बढाएका हौं : अर्थमन्त्री पौडेल

बिजमाण्डू
२०८२ असार १८ गते १५:५३ | Jul 2, 2025
सुनको कारोबार पारदर्शी बनाउन विलासिता करको दायरा बढाएका हौं : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले सुन तथा अन्य बहुमूल्य गहनाको कारोबार पारदर्शी बनाउन विलासिता करको थ्रेसहोल्ड हटाएको बताएका छन्।

Tata
GBIME

बुधबार राष्ट्रिय सभाका सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न यो एउटा उपाय भएको बताए।

‘विलासिता कर नयाँ प्रस्ताव होइन। पहिले भएको १० लाखको थ्रेसहोल्ड हटाएर दायरा बढाइएको हो। हामी सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा छौं। यसबाट छिटोभन्दा छिटो बाहिर निकाल्न यो आवश्यक थियो,’ उनले भने।

करको थ्रेसहोल्ड हटेपछि गरगहनाको पारदर्शी कारोबार हुने अपेक्षा गरेको मन्त्री पौडेलले बताए। उनले भने, ‘बहुमूल्य गहनाको कारोबार पारदर्शी हुँदा मुलुक ग्रे लिष्टबाट छिटो बाहिर निस्कन मद्दत मिल्छ।’

पौडेलले सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरुको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै निष्कर्षमा पुग्ने पनि बताए।

उनले मुलुक राजस्व र वैदेशिक अनुदानबाट मात्रै चल्ने अवस्थामा नरहेको बताए। ‘आम्दानी सीमित हुँदा ऋण लिनुपर्ने बाध्यता छ। यस्तो खालको बाध्यता विकसित देशलाई समेत हुन्छ। तर हामी ऋणको दायरा असीमित बनाउन हुँदैन भन्नेमा सचेत छौं। यसरी लिइएको ऋण उत्पादन र उत्पादकत्व बढाउन केन्द्रित गर्नेछौं,’ उनले भने।