
काठमाडौं। स्रोत नखुलेको नगद २८ लाख २७ हजार रुपैयाँसहित पर्सा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पकाहामैनपुर-२ का २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज-३ आदर्शटोलका २३ वर्षीय बिनितकुमार श्रीवास्तव र बारा परवानीपुर-४ का ४४ वर्षीय दीपककुमार सोनार छन्।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनिल कुमारलाई वीरगंज-१० मकालु चोकबाट ९ लाख ४७ हजार रूपैयाँ, बिनित कुमारलाई सोही वीरगंज-८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रूपैयाँ र दीपक कुमारलाई वीरगंज-१६ रजतजयन्ती चोकबाट ३ लाख रूपैयाँसहित पक्राउ गरेको हो।
मंगलबार पक्राउ परेका उनीहरुले बरामद रकमको विश्वसनीय स्रोत खुलाउन सकेनन्। त्यसैले उक्त पैसा हुन्डीको रहेको शंका प्रहरीले गरेको छ।
उनीहरू उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा मुद्दा चलाउन जिल्ला अदालत पर्साबाट ५ दिन हिरासत म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।