
भद्रपुर। कृषि सामग्री कम्पनी लिमिटेड बिर्तामोड शाखाले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा २० हजार ४ सय ४९.२० मेट्रिक टन रसायनिक मल बिक्री गरेको छ।
शाखाका प्रमुख दीपककुमार राजबंशीका अनुसार शाखालाई चालु आवमा प्राप्त १९ हजार ६ सय १९.५० मेट्रिक टन र गत वर्षको मौज्दात १ हजार ५ सय ५० मेट्रिक टन रसायनिक मल थियो। उनका अनुसार हाल पनि रसायनिक मल आउने क्रम जारी रहेकाले यस वर्ष किसानलाई खेती गर्न मलको अभाव नहुने अपेक्षा गरिएको छ।
शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा युरिया १२ हजार १७.३५ मेट्रिक टन, डीएपी ७ हजार ५ सय ३८.५५ मेट्रिक टन, पोटास ७ सय ८७.३५ मेट्रिक टन र चुन १ सय ५.९५ मेट्रिक टन बिक्री गरिएको छ।
शाखाका प्रमुख राजबंशीका अनुसार युरिया प्रति बोरा ८ सय ८ रुपयाँ ५० पैसा, डीएपी प्रति बोरा २ हजार २ सय ५८ रुपयाँ ५० पैसा, पोटास प्रति बोरा १ हजार ६ सय ५८ रुपयाँ ५० पैसा र चुन प्रति बोरा २ सय १५ रुपैयाँमा बिक्री भइरहेको छ। हाल युरिया १ हजार १ सय मेट्रिक टन, डीएपी ६ हजार मेट्रिक टन र पोटास ५ सय मेट्रिक टन मौज्दात रहेको शाखा प्रमुख राजबंशीले बताए।
शाखा कार्यालयले यस वर्ष २१ मेट्रिक टन विभिन्न ५ प्रजातिका धानको बीउ बिक्री गरेको प्रमुख राजबंशीले जानकारी दिए। उनका अनुसार राधा १२, बहुगुणी २, हल्दीनाथ ६, स्वर्णसफ र रामधान जातको धानको बीउ वितरण गरिएको हो। रासस