इरानमा रहेका नेपालीलाई भारतको सहयोगमा उद्धार गरिंदै, आरजुले भनिन्- ११ जना भोलि आइपुग्छन्

बिजमाण्डू
२०८२ असार ९ गते १४:३१ | Jun 23, 2025
इरानमा रहेका नेपालीलाई भारतको सहयोगमा उद्धार गरिंदै, आरजुले भनिन्- ११ जना भोलि आइपुग्छन्
डा. आरजु राणा

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणाले इरानमा १६ जना नेपाली नागरिक रहेको र तीमध्ये ११ जनालाई उद्धार गरेर ल्याउन लागिएको बताएकी छन्।

Tata
GBIME

उनले सोमबार प्रतिनिधि सभाको बैठकमा इरानमा रहेका नेपाली नागरिकलाई भारतसँगको सहयोगमा उद्धार गर्न लागिएको बताएकी हुन्। उनका अनुसार ११ जना नेपाली नागरिक मंगलबार भारत आइपुग्नेछन्।

भारतले आफ्ना नागरिकलाई उद्धार गर्ने क्रममा ११ जना नेपालीलाई पनि ल्याउन लागेको हो।

‘इरानमा १६ जना नेपाली नागरिक हुनुहुँदो रहेछ। उहाँहरुको उद्धारका लागि हामीले भारतको परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेका छौं। उनीहरुले आफ्ना नागरिक ल्याउँदा नेपालीहरुलाई पनि ल्याइदिन्छु भनेका छन्। भारतबाट आउन त सहज छँदैछ,’ मन्त्री राणाले भनिन्, ‘११ जना नेपाली मसाद भन्ने ठाउँमा पुगेका छन्। उनीहरु भोलिसम्म भारत आइपुग्छन्। एक जनाको ट्राभल डकुमेन्ट बनाउनुपर्ने देखियो।’

मन्त्री राणाका अनुसार ५ जना नेपाली नागरिक भने इरानको जेलमा छन्। उनले इरान र इजरायलबीच युद्ध भइरहेको अवस्थामा जेलमा रहेका नेपालीलाई पनि उद्धार गर्न प्रयास गरिरहेको जानकारी दिइन्।

‘५ जना नेपाली जेलमा हुनुहुन्छ। अवैधरुपमा गएका कारण। उहाँहरुलाई यही मौका पारेर उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेका छौं,’ उनले भनिन्।