
काठमाडौं । रघु आदित्यको किताब ‘शाकाहार तर्काधार’ विमोचन भएको छ। शनिबार ललितपुरमा एक कार्यक्रम आयोजना गरि किताब विमोचन गरिएको हो।
लेखक आदित्यले किताबमा शाकार सम्बन्धी बारम्बार सोधिने प्रश्नहरुको उत्तर प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन्। शाकाहारी जीवन, पशु हिंसा लगायतबारे गरिने प्रश्नहरुबारे आदित्यले किताबमार्फत जवाफ दिएका छन्।
किताब विमोचनमा प्रतिक्रिया दिँदै उत्तम पुडासैनीले आदित्यको किताबमा तर्क र शैलीको बेजोड प्रस्तुती रहेको बताए। उनले पुस्तकमा न त कसैप्रति व्यङ्ग न त कसैप्रति प्रहार रहेको भन्दै आदित्यको स्वभाव र चरित्रलाई पुस्तकले पूर्ण रुपमा न्याय गरेको बताएका थिए।
५ अध्यायको पुस्तकमा शाकाहार र मांसाहारसम्बन्धी ११७ वटा तर्क र ती सम्बन्धी चिन्तन समावेश रहेको छ।
आदित्य पशु हिंसा विरुद्ध आवाज उठाइरहेका व्यक्ति हुन्। उनले भुस्याहा कुकुरको स्याहारमा समेत जोड दिने गरेका छन्।
अदित्य १० वर्ष अगाडी गढीमाई मेलाका समयमा जनावरप्रतिको क्रुरताको विरोधमा उभिएका थिए। मेलामा हजारौं जनावरहरुको बलि दिइँदै गर्दा उनले त्यहाँबाट सेतो परेवाको उद्धार गरेका थिए।
आजसम्म पनि उनी पशु कल्याणका लागि निरन्तर लागिरहेका छन्। एक दशकको यात्रालाई समेटेर उनले तथ्य, स्वास्थ्य चेतना र आध्यात्मिक दृष्टिकोणबाट सजग र करुणामूलक जीवनयापनको पक्षमा बलियो तर्क र तिनका आधारहरु किताबमा प्रस्तुत गरेका छन्। अनुसन्धान, सांस्कृतिक सन्दर्भ र जीवनका अनुभवहरूमार्फत लेखिएको यो पुस्तकले यी विषयमा विश्लेषण गर्न, महसुस गर्न र चेतनापूर्वक बाँच्न पाठकलाई उत्प्रेरित गर्ने उनको विश्वास छ।