
काठमाडौं। एनसेल फाउन्डेसनले काठमाडौं महानगरपालिकाले आयोजना गरेको सीप मेलामा साथ दिएको छ। सीप मेलामा साझेदारीका लागि एनसेल फाउन्डेसनले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको छ।
काठमाडौं महानगरपालिकाका तर्फबाट सीप मेला कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशिल अभियान नेपालका तर्फबाट अध्यक्ष रामजी प्रसाद पौडेल तथा एनसेलका तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लीराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
काठमाडौं महानगरपालिकासँगको सहकार्यले युवाहरूका लागि समावेशी अवसर सिर्जना गर्ने तथा रोजगारीयोग्य सीप विकासमार्फत दिगो विकासमा योगदान दिने एनसेल फाउन्डेसनले बताएको छ।
‘हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्ने विश्वास गर्छौं,’ एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्काले भनिन्।
जेठ ७ गते सुरु भएको मेलामा १० क्षेत्रमा आधारित साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी, ग्राफिक्स, गार्मेन्ट फेब्रिकेटर, बेसिक फेसन डिजाइनिङ, कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ, मेसन, वेल्डिङ लगायत विभिन्न ३७ पेसामा २ हजार ४२४ जनालाई सीप प्रदान गर्ने काम भइरहेको छ।