आइडीपीको सेयर ४८.३% ले घट्यो, विद्यार्थीलाई अध्यागमनमा कडाई गरिँदा नाफा पनि घट्ने

बिजमाण्डू
२०८२ जेठ २० गते १५:५६ | Jun 3, 2025
आइडीपीको सेयर ४८.३% ले घट्यो, विद्यार्थीलाई अध्यागमनमा कडाई गरिँदा नाफा पनि घट्ने

अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सेवा प्रदान गर्ने अष्ट्रेलियन कम्पनी आइडीपी एजुकेशनले विद्यार्थी भिसा सम्बन्धी समस्याका कारण आफ्नो वार्षिक नाफामा कमी आउन सक्ने प्रक्षेपण गरेको छ।

Tata
GBIME

विद्यार्थीको भिसामा कडाई गरिँदा नाफा घट्ने खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य ४८.३ प्रतिशतले घटेको छ।

कम्पनीले अष्ट्रेलिया बाहेक अन्य मुलुकको अध्ययन संस्थामा पढ्न इच्छुक विद्यार्थीहरुलाई पनि सेवा दिँदै आएको छ। तर, हाल बेलायत, अष्ट्रेलिया, क्यानडा र अमेरिका जस्ता विद्यार्थीका प्रमुख गन्तव्यहरुमा अध्यागमन नीतिमा ठूलो परिवर्तन गरिएको छ। भिसा पाउने अनिश्चितता बढ्दै जाँदा विद्यार्थीको माग पनि घटेको कम्पनीले जनाएको छ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प आएपछि विद्यार्थी भिसा रद्द गर्नुका साथै आप्रवासीलाई डिपोर्ट गर्ने क्रम बढ्दो छ। बेलायतले विद्यार्थीलाई अध्यागमनमा कडाई गरेको छ भने अष्ट्रेलिया र क्यानडाले पनि चुनाव पछि अध्यागमनमा कडाई गरेको छ। यसको असर आवेदन दिने विद्यार्थीको संख्यामा परेको हो।

आर्थिक वर्ष २०२५ मा विद्यार्थी भर्ना संख्या २८ प्रतिशत देखि ३० प्रतिशत सम्म घट्ने अनुमान कम्पनीले गरेको छ। यस्तै, आइइएलटीएस भाषा परीक्षा दिनेको संख्या पनि २०२४ को तुलनामा यो वर्ष १८ प्रतिशत देखि २० प्रतिशत सम्म घट्ने अनुमान छ। ब्रिटिश काउन्सिल र क्याम्ब्रिज युनिभर्सिटी प्रेससँगै आइडीपीको लगानी आइइएलटीएसमा छ।

यद्यपि, आफ्नो सेवामा गरिएको शुल्क वृद्धिले भने कम्पनीको आयमा पर्न सक्ने असर भने हाललाई कम नै हुने दाबी गरिएको छ।

आइडीपीले सन् २०२५ को आम्दानी ११५ मिलियन अष्ट्रेलियन डलर देखि १२५ मिलियन अष्ट्रेलियन डलर हुन सक्ने अनुमान गरेको छ। सन् २०२४ मा कम्पनीले २३९.४ मिलियन अष्ट्रेलियन डलर कमाएको थियो।

कम्पनीले अहिलेको अवस्थासँग जुध्न विभिन्न उपायहरु अपनाइरहेको पनि जनाएको छ।विभिन्न देशले अध्यागमनमा लागू गरेका प्रतिबन्धहरु अस्थायी भएको भन्दै कम्पनीले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा दीर्घकालीन सम्भावना कायम नै रहेको उल्लेख गरेको छ।