
काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यातायात व्यवसायीको बन्दप्रति असन्तुष्टि जनाएको छ। यातायात व्यवसायीले पोखरामा आइतबारबाट गरेको हड्तालका कारण सर्वसाधारण मात्र नभई समग्र पर्यटन क्षेत्रमै प्रभाव पारेको संघले जनाएको छ।
संघका अध्यक्ष कुमारमणी थपलियाले प्रमुख पर्यटकीय गन्तव्य पोखरामै पर्यटकलाई सेवा दिँदै आएका सवारीसाधनमा अवरोध सिर्जना हुँदा मुलुककै प्रतिष्ठामा आँच आउने बताए।
‘पोखरामा पर्यटकीय सवारीसाधनलाई स्कटिङ गरेर आउजाउ गराउनुपर्ने भएपछि त राम्रो भएन नि,’ उनले भने, ‘सर्वसुलभ र इच्छा अनुसारको यातायात सवारी सेवा लिन पाउने अधिकार सबैको छ। तर हरियो प्लेट सवारीसाधन आउजाउमा अवरोध हुनु राम्रो भएन।’
यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूलाई मात्र नभई, आन्तरिक पर्यटकहरूलाई समेत गन्तव्यमा पुग्न असहज भइरहेको उनले जानकारी दिए। यस किसिमको अवरोधले पर्यटक तथा यात्रुहरूमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराएको उनले बताए।
संघले असहज अवस्था र सवारीसाधन अवरोधको तत्काल समाधान खोज्न नेपाल सरकार, गृह मन्त्रालय, पर्यटन मन्त्रालय, यातायात मन्त्रालय, प्रदेश सरकार, सुरक्षा निकायहरूसँग माग गरेको छ।