अमेरिकी ब्युटी बिजनेसमा हेलि बिबरको छलाङ, तीन वर्षमै ब्राण्ड बनाएर १ अर्ब डलरको डिल



बिजमाण्डू
२०८२ जेठ १८ गते १४:५९ | Jun 1, 2025
अमेरिकी ब्युटी बिजनेसमा हेलि बिबरको छलाङ, तीन वर्षमै ब्राण्ड बनाएर १ अर्ब डलरको डिल


अमेरिकी सेलिब्रेटी हेली बिबरको स्किन केयर ब्राण्ड ‘रोड’लाई अर्को अमेरिकी सौन्दर्य प्रशाधन कम्पनी इएलएफ ब्युटीले १ अर्ब डलरमा किन्ने डिल भएसँगै अमेरिकी सौन्दर्य बजार गर्माएको छ।  

Tata
GBIME
Nepal Life

हेलीका श्रीमान गायक जस्टिन बिबर टाट पल्टिने अवस्थामा पुगेको हल्ला चलिरहेको बेला बाहिरिएको यो डिलले ब्युटी बिजनेसकै ठूलो डिलका रुपमा चर्चा पाएको हो। कम्पनी इएलएफलाई बेचेसँगै हेली बिबर भने बिलेनियर क्लबमा पुगेकी छिन्।

सन् २०२२ मा जस्टिनको गायन टुर स्थगित भएयता उनी आर्थिक रुपमा संकटमा रहेको बताइन्छ। सन् २०२२ मै हेलीले रोड कस्मेटिक्स सुरु गरेकी थिइन्। यो ब्राण्ड नयाँ पुस्ताका युवायुवतीमाझ लोकप्रिय छ।

इएलएफले रोड कस्मेटिक्स किन्दा हेलीलाई ६० करोड डलर नगद तथा २० करोड डलर बराबरको इएलएफ ब्युटीको सेयर दिनेछ भने ब्राण्डको आगामी तीन वर्षको बृद्धिको प्रक्षेपणमा आधारित रही थप २० करोड डलर समेत भुक्तानी गर्ने गरी इएलएफसँग सम्झौता भएको कम्पनीले जनाएको छ।

यो डिलसँगै हेली इएलएफको हेड अफ इन्नोभेसन र चिफ क्रियटिभ अफिसर समेत नियुक्त हुने बताइएको छ।

जम्मा तीन वर्ष पुरानो र १० वटा मात्र उत्पादनमा सिमित कम्पनी रोडलाई १ अर्ब डलर पैसा तिर्नुलाई अमेरिकी ब्युटी बिजनेसमा महंगो डिलका रुपमा हेरिएको छ। हेलीको यो कम्पनी र ब्राण्ड गायक जस्टिन बिबर र हेलीका बुवा हलिउड अभिनेता स्टेफेन बाल्डविनसँगको सेलिब्रेटी स्टाटसका कारण मात्र जोडिएको होइन।

‘उनी आफै एक सेलिब्रेटी हुन् तर यो मूल्य केवल त्यतिका कारणले मात्र दिइएको होइन।’-एएलएफका अध्यक्ष तथा सिइओ तरंग अमिनले भने-‘हेली र रोडको ट्र्याक रेकर्ड तथा उनीहरुले युवा वर्ग, लक्षित समुदाय र बजारमा जुन किसिमले आफूलाई स्थापित गर्ने रणनीतिहरुमा काम गरे त्यसको गहिराई बुझेरै हामीले बिलियन डलर डिल गरेका हौं।’- ।

दीर्घकालीन बजार रणनीति अनुसार नै आफूले कम्पनीसँग डिल गरेको उनको भनाई छ। तीब्र विस्तार भैरहेको र ब्राण्डका रुपमा रोडलाई अक्वायर गरी आफ्नो बजार हिस्सालाई बढाएको कम्पनीले जनाएको छ।

सन् २००४ मा स्थापित इएलएफ अनलाइनबाट सौन्दर्य प्रशाधन विक्री गर्ने सस्तो मेकअप ब्राण्डका रुपमा सुरु भएको थियो।

बिस्तारै इएलएफले आफूलाई बिस्तार गर्दै बिबिध रेन्जका संभावित उपभोक्ताहरुका लागि उत्पादन बजारमा ल्याउन थाल्यो।

अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनीले गत वित्तीय वर्षमा २८ प्रतिशतले बिक्री बढाएर १ अर्ब ३० करोड डलर बराबरको बिक्री गरेको थियो।

इएलएफ को यो डिल बिगतका दुई डिलहरुभन्दा निकै ठूलो मानिएको छ। यसअघि कम्पनीले क्लिन ब्युटी ब्राण्ड वेल पिपुल र स्किन केयर ब्राण्ड नेचुरियमलाई किनेको थियो।