काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा सरकार गम्भीर रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।
उनले बजेटको कार्यान्वयन पनि सकारात्मक रुपमा हुने विश्वास गर्न आग्रह गरे। ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको विगत भएकाले ६ प्रतिशतको वृद्धिदर हासिल सम्भव रहेको उनको भनाइ थियो।
‘बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर निर्माण गरिएको छ। सीमा पालना गरेर बजेट आएको छ। स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ,’ उनले भने, ‘राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ। आर्थिक वर्ष सकिदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन।’
अर्थमन्त्री पौडेलले लक्ष्य अनुसारको राजस्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए। उनले भने, ‘काम नगरेको अवस्थामा हासिल गर्न सकिँदैन। काम गरेको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ।’ उनले सार्वजनिक ऋण कति पुग्यो भनेर हिसाब गरेर बस्ने भन्दा पनि साँवाब्याज तिर्नका लागि पुग्ने ऋण लिनेगरि बजेट आएको बताए।
स्रोतको विषयमा चिन्ता नगर्नका लागि उनले सबैलाई आग्रह गरे। आर्थिक क्षेत्रका विज्ञहरुबाट सकारात्मक सुझाव आएकाले आफू उत्साहित भएको पनि उनले बताए। खर्च गर्नु पर्ने क्षेत्र पनि देखाउने र खर्च बढाएको भन्ने कुरा आफैंमा नमिल्दो रहेको उनको भनाइ छ। स्रोत परिचालन गर्न सकिने किसिमको बजेट आएको उनले बताए।
अर्थमन्त्री पौडेलले साना–साना योजनामा बजेट राखेर समस्या भइरहेको अवस्थामा बजेटले त्यसलाई समाधान गरेको बताए। स्रोतलाई दुरुपयोग गर्न दिन नहुने भनाइ उनले राखे।
गत आर्थिक वर्ष र चालु आवको आर्थिक वृद्धिदर र मुद्रास्फीतिलाई लिएर आधार बनाएको उनले बताए।
युवा उद्यमीहरुलाई अघि बढाउन सशक्त रुपमा पहल गरेको दाबी उनले गरे। ‘सरकार निजी क्षेत्रलाई अघि बढाउनका लागि सधैं तयार छ। निर्माण क्षेत्रका समस्याका विषयमा पनि सरकारले समाधानका लागि काम गरेको छ,’ उनले भने।
ऐन कानुनमा गर्नुपर्ने संशोधनका लागि पनि सरकार तयार रहेको पनि उनले बताए। आयोजना निर्धारित समयमा बन्नुपर्ने सरकारको मुख्य उद्देश्य रहेकाले त्यसका लागि गर्नुपर्ने सबै सहजीकरण गर्न तयार रहेको उनले उद्घोष गरे।
उनले डिजिटल बैंकिङमा जान आवश्यक पर्ने पूर्वाधार निर्माण गरिने बताए। उनले त्यसमा राष्ट्र बैंक र सरकारले समन्वय गरेर काम गर्ने उल्लेख गरे।
वातावरणमा दुष्प्रभाव नपर्नेगरि खनिज पदार्थको प्रयोग गर्नुपर्ने आवश्यकता रहेकाले यो बजेटले त्यसमा ध्यान दिएको उनको जिकिर छ।










