
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले बजेटले निजी क्षेत्रका सुझाव समेटेको बताए।
नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक भएको उनले बताए। ‘समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको छ,’ उनले भने,’राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैं सरकारको साथ छ। अब साधन स्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्छ।’
बजेटमा आएका कुराहरुलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि उनले बताए। खनिजजन्य र नदिजन्य पदार्थको उत्खननमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले औंल्याए। केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ छ।
यस्तै, पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे। तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए।
बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्धारभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने भनाइ उनले राखे। यस्तै, उनले मौद्रिक नीति र बजेट बीच तालमेल मिलेमा उचित नतिजा आउने पनि उनले बताए।