
काठमाडौं। होटल संघ नेपाल (हान)ले होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महसुल छुट दिने सरकारी घोषणाको स्वागत गरेको छ।
संघका अध्यक्ष विनायक शाहले बजेटमार्फत गरिएको घोषणाले होटल व्यवसायीहरु उत्साहित भएको बताए। ‘हामीले वर्षौंदेखि गर्दै आएको माग सरकारले अहिले आएर सम्बोधन गरेको छ। यसले होटल व्यवसायीमा उत्साहको संचार गरेको छ,’ उनले भने, ‘सरकारले अब बजेटमा गरेको घोषणा कार्यान्वयन गर्नुपर्छ।’
उनले होटलको बढ्दो क्षमता उपयोग गर्न पर्यटकको आगमन बढाउनुपर्ने र त्यसका लागि भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका साथै सडक पूर्वाधारमा सुधारको आवश्यकता औंल्याए।
‘पोखरा र भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको कुरा पनि आएको छ। पर्यटकीय गन्तव्य जोड्ने राष्ट्रिय राजमार्गको स्तरोन्नति चाँडै सक्ने विषय बजेटमा परेका छन्। यसलाई हामीले सकारात्मकरुपमा लिएका छौं,’ शाहले भने।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार बजेट सार्वजनिक गर्ने क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबको रुपमा विकास गर्ने र भैरहवा विमानस्थललाई पर्यटक र श्रमिकका लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराउने घोषणा गरेका थिए।
संघले धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यमा पूर्वधार विकास गर्ने बजेटको घोषणा सकारात्मक भएको बताएको छ।
राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षित क्षेत्रमा जंगलसफारी, पदयात्रा र पर्यापर्यटकीय पूर्वाधार विकास गर्ने तथा हिल स्टेसन, होटल, लज लगायत पूर्वाधार विकासका लागि वन क्षेत्र लगायत सरकारी स्वामित्वको जग्गा लिजमा दिने घोषणाबाट पनि व्यवसायीहरु उत्साही भएका छन्।