
काठमाडौं। नवनियुक्त गभर्नर डा. विश्व पौडेलले आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै सेयर धितो कर्जामा लचकता अपनाए। उनले सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशत झारे।
सेयर बजारलाई लक्षित गरी २०७८ तिर गरेको नीतिगत कडाइ राष्ट्र बैंकले २०८०/८१ को मौद्रिक नीतिबाट क्रमश: खुकुलो बनाइरहेको हो।
कार्यकालको दुई वर्षपछि नीतिगत कडाइ गरेका यसअघिका गभर्नर महाप्रसाद अधिकारी अन्तिमतिर विस्तारै सफ्ट लाइनमा फर्किए।
अधिकारी तिनै हुन् जसले कोभिडले शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन २०७७ मा वितरणमुखी मौद्रिक नीति ल्याएका थिए। कर्जा प्रवाहमा लचिलो व्यवस्थाले नेप्से २०७८ भदौ २ गते कीर्तिमानी ३१९८ अंकमा पुग्यो। २०७८ असारमा सेयर धितोमा ऋण लगानी १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको थियो।
तर, त्यसपछि अधिकारीले सेयर धितोमा अनियन्त्रित कर्जा प्रवाह रोक्न एकाएक कसिलो नीति लिए।
विस्तारकारी मौद्रिक नीतिले बैंकिङ क्षेत्रमा तरलता संकट र अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएपछि राष्ट्र बैंकले सेयर बजार, घरजग्गा र उपभोगमा जाने कर्जालाई नियन्त्रण गर्न एकपछि अर्को कसिलो उपकरण चलायो।
जसले गर्दा नेप्से निरन्तर ओरालो लागेर १८०६ अंकसम्म ओर्लियो। सेयर धितो कर्जा नियामकीय लगामका कारण २०८० असारमा आइपुग्दा ७६ अर्ब ५३ करोड रुपैयाँमा झर्यो।
उनै अधिकारीले कार्यकालको अन्तिमतिर सेयर बजारका लागि लिएको लचिलो नीतिलाई नयाँ गभर्नर डा. पौडेलले पछ्याएनन् मात्र, राष्ट्र बैंकको नेतृत्व सम्हालेको चौथो दिनमै सेयर धितो कर्जाको जोखिम भार घटाएर आफू बजारप्रति नरम रहेको सन्देश दिए।
सेयर बजारमा प्रभाव पार्ने राष्ट्र बैंकको नीति
मिति | सेयर धितोमा गरिएको व्यवस्था |
२०७७/७८ को मौद्रिक नीति | * सेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था। *सेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको। |
२०७७/७८ को मौद्रिक नीतिको तेस्रो समीक्षा | सेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् सेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता। |
२०७८/७९ को मौद्रिक नीति | सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था। |
२०७९/८० मौद्रिक नीति | *सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड कायम। |
२०८०/८१ मौद्रिक नीति | *२५ लाखसम्मको सेयरधितोको कर्जाको जोखिमभार १०० प्रतिशतलाई बढाएर ५० लाख कायम *२५ लाख बढीको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत राख्नु पर्नेमा सीमा बढाएर ५० लाखभन्दा बढीको कर्जामा १५० प्रतिशत जोखिमभार लागू। |
२०८०/८१ को पहिलो त्रैमासिक समीक्षा | *५० लाख भन्दा बढीको सेयर धितो कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम। *कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १५ करोड कायम। धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ। |
२०८१/८२ को मौद्रिक नीति | पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज। |
२०८१/८२ को मौद्रिक नीति तेस्रो त्रैमासिक समीक्षा | विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम। |
एकातिर राष्ट्र बैंक लचिलो बन्दै जानु र अर्कातिर ऋणको ब्याजदर निरन्तर सस्तिएका कारण सेयर धितोमा बैंक तथा वित्तीय संस्थाहरुले आक्रामक रुपमा कर्जा प्रवाह गरिरहेका छन्।
चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब २४ अर्ब १२ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन्।

चालु आर्थिक वर्ष ९ महिनामै ३४ अर्ब रुपैयाँ सेयर धितोमा लगानी भएको छ। बैंकिङ क्षेत्रमा अहिले तरलता फालाफाल छ।कर्जाको ब्याजदर एकल अंकमा छ।
तर, नेप्सेले उचाई लिन सकेको देखिंदैन। राष्ट्र बैंकले लगानीकर्ताको माग सम्बोधन हुने गरी जोखिम भार घटाएको पहिलो कारोबार दिनमा नै नेप्से उकालो लाग्न सकेन, ५.२१ अंकको गिरावट आयो।
नेप्से किन बढ्न सकेन त ?
‘बजारमा इन्भेष्टर भन्दा ट्रेडर हाबी भएको देखिन्छ। अन्यथा राष्ट्र बैंकले लचिलो नीति लिइरहेको तथा नेतृत्व नै सकारात्मक रहेको अवस्थामा नराम्रो हुनुपर्ने कारण देखिंदैन,’ स्टक ब्रोकर्स एसोसियसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने, ‘बजारलाई राजनीतिक गतिविधि र सानो/सानो कुराले पनि असर पारिरहेको देखिन्छ।’
जेठ १५ गते राजावादीहरुले आन्दोलनको तयारी गरिरहेका छन्। उनीहरुले व्यवस्था नै उल्ट्याउने भनिरहेका छन्। राजावादीमाथि जाइलाग्न प्रधानमन्त्री केपी ओलीले आफ्ना कार्यकर्तालाई फर्मान जारी गरेका छन्। यसले लगानीकर्तामा भय सिर्जना गरेको छ।
यसअघि गत चैतमा राजावादीको प्रदर्शनले पनि सेयर बजार प्रभावित भएको थियो। बजेटपछि सरकार ढल्ने हल्लाले पनि बजारलाई त्रसित बनाइराखेको जानकारहरु बताउँछन्।
‘राष्ट्र बैंकले बजारको फेबरमा नीति लिएको छ। तर, पनि लगानीकर्तामा सेयर बजारलाई बजेटले कसरी लिन्छ भन्ने शंका देखिन्छ। पुँजीगत लाभकरका विषय छन्। अन्य करका इस्युहरु छन्। सरकारको निरन्तरताको कुरा पनि छ,’ विश्लेषक मुक्ति अर्यालले भने, ‘त्यसैले बजारमा अहिले सकारात्मक उत्साह हुँदाहुँदै शंका पनि भएकाले लगानीकर्तामा कन्फिडेन्स नदेखिएको हो।’