
काठमाडौं। भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका थप कर्मचारीलाई निगरानीमा राखेको छ। गृहमन्त्री रमेश लेखकदेखि गृह सचिवसम्म संलग्नताको आशंका बढिरहेको समयमा अख्तियारले निगरानी बढाएको हो।
गृहमन्त्री लेखकले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै अभिव्यक्ति दिइरहेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा यस प्रकरणमा थप स्पष्ट पार्ने उनले भनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकरणलाई संसद् प्रवेश गराउने बताइसकेको छ। रास्वपाले लेखकको राजीनामा माग गरिसकेको छ।
अख्तियारले बरामद सामानको माध्यमबाट थप प्रमाण केलाइरहेको छ।
भिसा प्रकरणमै प्रहरीकै एक अवकाशप्राप्त अधिकृतले दिएको अभिव्यक्तिले समेत राजनीतिदेखि प्रहरी संगठन तातेको छ।
डिएसपीबाट अवकाश पाएर कानुनी क्षेत्रमा व्यस्त गोविन्द पन्थीले अध्यागमन कार्यालयका र गृहका कर्मचारीको सेटिङमा हुने तस्करीको भन्डाफोर गरेका थिए। उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा उनी नेतृत्वको टोलीले केही अध्यागमनकादेखि सरकारी कर्मचारीलाई पक्राउ गरेको थियो। त्यसपछि दैनिक विमानस्थलको अध्यागमनबाट २ सय जना युवा नक्कली कागजपत्रमा तस्करलाई रकम बुझाएर विदेश पुग्ने गरेको खुलासा भएको थियो।
तर डिएसपी पन्थी केही महिनामा नै सरुवा भए। त्यसपछि एकाएक भिजिट भिसा तस्करीको घटना सेलाएको थियो। अर्थात् सतहमा आएन तर भित्रभित्र तस्करको सरकारी कर्मचारीसँग मिलेमतोमा राज चल्यो।
भिजिट भिसा प्रकरणमा हुने मानव तस्करीमा तीनदेखि जसरी गृहमन्त्री रमेश लेखकको आलोचना भइरहेको छ, ठिक विपरीत एक पूर्व प्रहरीको सकारात्मक चर्चा चुलिएको छ।
बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि भित्रभित्र मौलाएको तस्करीको खेल सार्वजनिक भयो। अहिले अख्तियारले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। तरङ्ग गृहमन्त्री लेखकसम्म पुगेको छ।
डिएसपी पन्थीले गृह मन्त्रालय र सरकारी कर्मचारीको आडमा तस्करी धन्दा रोक्न खोज्दा आफूलाई सरुवा गरिएको सामाजिक सञ्जालमा लेखेका छन्। उनी यतिमा रोकिएका छैनन् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठदेखि तत्कालीन प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई समेत यसको भागीदार बनाएका छन्। २०८० असोज १९ गते नक्कली कागजपत्र र रकमसहित अध्यागमनका अधिकृत समातिएका थिए। त्यसपछि अध्यागमनका कर्मचारी आन्दोलनमा समेत उत्रिए। एकाएक प्रहरीको अप्रेसन तुहिएको थियो।
भिजिट भिसा १७ बुँदे मापदण्डलाई तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामै ६ बुँदे बनाइएको परिणाम खाडीलगायत देशमा नेपाली महिला बन्धन बन्नुपरेको डिएसपी पन्थीले सामाजिक सञ्जालमा लेखेका छन्।
‘हाम्रा दिदीबहिनीहरू सजिलो गरी कोड भाषा एल र एसमध्ये एल कोड प्रयोग भई सेटिङबाट जोखिमयुक्त नेपाल सरकारले कानुनतः निषेध गरेको स्थानमा यो रूपमा त्यहाँ पुर्याइए, जसको कारण यस्तो हालतमा पुर्याउन मद्दत पुगेको स्पष्ट हुन्छ। यसलाई नीतिगत भ्रष्टाचार भन्ने कि के भन्ने’ पन्थीले लेखेका छन्।
दबाबमा गृहमन्त्री लेखक
अध्यागमनको सेटिङ गृह मन्त्रालयसम्म पुगेपछि गृहमन्त्री लेखक राजीनामा दिनुपर्ने दबाबमा देखिएका छन्। उनको पार्टी नेपाली कांग्रेसभित्र नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेको छ। नेपाली कांग्रेसका नेताहरू दुई धारमा देखिएका छन्। केही नेताहरू भने कर्मचारीको कारण मन्त्रीले नै राजीनामा दिनु नपर्ने भन्दै बचाउमा उत्रिएका छन्।
तर विवादास्पद कर्मचारीलई अध्यागमनको जिम्मेवारी दिनु,आफ्नो सचिवालयमा भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएका व्यक्तिलाई राख्न, उजुरी आएको केही समयसम्म पनि अध्यागमनमा भएको घटनाको अनुसन्धान नगर्नुले गृहमन्त्री लेखकमा नैतिक प्रश्न उठेको छ।
तर गृह मन्त्रालयले अहिले पूर्वडिएसपी पन्थीले दिएको अभिव्यक्तिबाट अनुसन्धान थालेको छ। उनी किन सरुवा भए? कसले सरुवा गर्यो?
यी प्रश्नको जवाफ खोज्दै जाने हो भने भिसा प्रकरणमा अन्य मानिसको संलग्नता खुल्नेछ। अध्यागमनबाट कर्मचारीको मिलेमतोमा मानव तस्करी हुने घटना ‘ओपन सेक्रेट’ नै छ।