दमौलीको मादी नदीमा जिप खस्यो : तीन जनाको मृत्यु, घाइते दुईमध्ये एक जनाको अवस्था गम्भीर

बिजमाण्डू
२०८२ जेठ ११ गते ०६:२८ | May 25, 2025
दमौलीको मादी नदीमा जिप खस्यो : तीन जनाको मृत्यु, घाइते दुईमध्ये एक जनाको अवस्था गम्भीर
प्रतिकात्मक तस्विर

काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ र ४ जोड्ने मादी नदी पुलबाट आज जिप खस्दा तीन जनाको मृत्यु भएको छ।

Tata
GBIME

दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरकोे जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइतेहरूको दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। जिपमा पाँच जना सवार थिए।

मृत्यु हुनेमा व्यास-५ का ३५ वर्षीय प्रवीन थापामगर, २२ वर्षीय कुमार थापा र २० वर्षीय कुशल थापा रहेका प्रहरीले जनाएको छ। उनीहरुको दमौली अस्पतालमा मृत्यु भएको हो।

घाइते दुईमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पोखरा पठाउने तयारी गरिएको छ। चालकको अवस्था सामान्य छ। दुर्घटनाका घाइतेलाई नेपाली सेनाको कालीभञ्जन गण (इ), नेपाल प्रहरी र स्थानीयले उद्धार गरेका थिए। रासस