
मंगलबार टेक जायन्ट गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बजारलाई तरंगित पार्ने गरी नयाँ प्रविधि सार्वजनिक गरेको छ। विगत एक वर्षदेखि उक्त प्रविधिमा गुगलले काम गरिरहेको थियो। गुगलले आफ्नो सर्च इन्जिनलाई थप परिस्कृत बनाउने उद्देश्यले एआईसहितको प्रविधि विकास गरेको हो।
गुगलको सर्च इन्जिन प्रयोगकर्ताहरुले नयाँ प्रविधि सञ्चालनमा आएसँगै सूचना प्राप्त गर्ने आधार फेरिंदै गएको छ। योसँगै गुगलको एआई प्रविधिको सहायताले वेबसाइटहरुमा इन्टरनेट ट्राफिक घट्ने छ। गुगलले ल्याएको नयाँ ‘एआई मोड’ हाललाई अमेरिकामा मात्रै लञ्च गरिएको छ। गुगल सर्च इन्जिनमा उक्त फिचर प्रयोग गरेर प्रयोगकर्ताहरुले विज्ञसँग कुराकानी गरेसरह अनुभूति गर्न सक्नेछन्। साढे २ महिनाको परीक्षणपछि गुगलले अमेरिकामा उक्त फिचर सार्वजनिक गरेको छ।
गुगलले आफ्नो लेटेस्ट एआई मोडल जेमिनी २.५ लाई पनि थप परिस्कृत गर्दै गरेको छ। जेमिनी २.५ लाई गुगलले आफ्नो सर्च अल्गोरिदममा उपयोग गर्दैछ।
त्यसैगरी, गुगलले पुन: स्मार्ट चस्माको बजारमा प्रवेश गर्ने भएको छ। गुगलले ह्यान्ड्स-फ्री क्यामरा र भ्वाइस-पावर्ड एआई असिस्टेन्टसहितको एन्ड्रोइड एक्सआर-पावर्ड चस्मा ल्याउन लागेको छ। गुगलले १३ वर्षपछि गुगल ग्लासेस् सार्वजनिक गरेर स्मार्ट चस्मा बजारमा डेब्यू गरेको थियो। गुगलले फेसबुकको माउ कम्पनी मेटा र रेब्यानसँग मुख्य प्रतिस्पर्धा गर्नेछ।
यस्तै, गुगलले भीआइपी पास पनि ल्याउँदैछ। जसका लागि गुगलले अल्ट्रा सब्स्क्रिप्सन प्याकेज भन्दै मासिक २५० अमेरिकी डलर शुल्क तोकेको छ। खरिदकर्ताले ३० टीबी स्टोरेज पनि पाउनेछन्।