नेपाल टेलिकमको आम्दानी ८.८९ प्रतिशतले घट्दा नाफा ४८.६७ प्रतिशतले ओरालो

बिजमाण्डू
२०८२ जेठ ५ गते ०९:१५ | May 19, 2025
नेपाल टेलिकमको आम्दानी ८.८९ प्रतिशतले घट्दा नाफा ४८.६७ प्रतिशतले ओरालो


काठमाडौं। नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घटेको छ। कम्पनीको आम्दानीमा ८.८९ प्रतिशतले गिरावट आउँदा खुद नाफा ४८.६७ प्रतिशतले घटेको छ।

Tata
GBIME

चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म टेलिकमले २८ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा टेलिकमले ३१ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको थियो। एक वर्षमा टेलिकमको आम्दानी २ अर्ब ७७ करोड रुपैयाँले घटेको छ।

यस्तै, चालु वर्षको तेस्रो त्रैमाससम्म टेलिकमको कुल सञ्चालन आय पनि १६ करोड ३६ लाख रुपैयाँले घटेको छ। चालु वर्षको तेस्रो त्रैमाससम्म कुल सञ्चालन आय २५ अर्ब ३१ करोड रुपैयाँ रहेकामा गत वर्षको सोही अवधिमा २५ अर्ब ४८ करोड रुपैयाँ थियो।

टेलिकमको खुद नाफा पनि ४८.६७ प्रतिशतले घटेको छ। चालु वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ८४ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ। गत वर्षको सोही अवधिमा ५ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गरेको थियो। कम्पनीको प्रति सेयर आम्दानी (वार्षिक) २१.०५ रुपैयाँ छ।

टेलिकमको चालु आवको तेस्रो त्रैमाससम्म करअघिको मुनाफा ८ अर्ब ६२ करोड रुपैयाँ छ। गत वर्षको सोही अवधिमा करअघिको मुनाफा ७ अर्ब ३८ करोड रुपैयाँ थियो।

टेलिकमले गत वर्षको तुलनामा चालु वर्षमा राजस्व तथा खुद नाफा घट्नुको मुख्य दोष ओटीटी सेवालाई नै दिएको छ। ओटीटी सेवाको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआबद्धता आम्दानीमा गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा ५३ करोड ५५ लाख रुपैयाँ कमी आएको छ। साथै, ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएसबाट हुने आम्दानीमा धक्का पुगेको टेलिकमले जनाएको छ।

यस्तै, कम्पनीले गत वर्ष जीएसएम अनुमतिपत्र नवीकरणका लागि २० अर्ब रुपैयाँ एकमुस्ट भुक्तानी गरेको थियो। सञ्चालक समितिको निर्णय बमोजिम कर्मचारीहरुको निवृत्तिभरणलाई गत वर्ष ४ अर्ब ९७ करोड रुपैयाँ र चालु वर्षको तेस्रो त्रैमाससम्म १३ अर्ब १५ करोड रुपैयाँ छुट्याइएकाले ब्याज आम्दानी घटेको टेलिकमको जिकिर छ।

गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा चालु वर्षको सोही अवधिमा टेलिकमले ब्याजबाट गर्ने आम्दानी २ अर्ब ३८ करोड रुपैयाँले घटेको छ।

त्यसैगरी, प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायकहरुले मोबिलिटी वाइफाइ सेवा निरन्तर दिइरहेकाले टेलिकमको मोबाइल डेटा प्रयोग उल्लेख्य मात्रामा घटेको कम्पनीले जनाएको छ। सरकारी स्वामित्वको कम्पनी भएकाले बढी लागत तथा कम प्रतिफल पाइने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको काम गरिरहेकाले लागत बढिरहेको छ।

सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियम परिवर्तन भएकाले पनि दररेटमा कटौती भएर आम्दानीमा प्रतिकूल असर परेको टेलिकमले जनाएको छ। कम्पनीले नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन तथा चालु वर्षमा १३ अर्ब १५ करोड रुपैयाँ ‘डिफाइन्ड बेनिफिट एसेट्स’ मा थप रकम छुट्याएकाले पनि स्थगन करको प्रभाव परेको जनाएको छ।

गत वर्षसम्मका दायित्वमा देखाएका केही मुद्दाको चालु वर्षमा छिनोफानो भएर कम्पनीलाई परेको थप आर्थिक भार चालु वर्षमा व्यवस्था गरिएकाले पनि वित्तीय चाप परेको टेलिकमले जनाएको छ।