बीबी एयरवेजले ल्याउन सकेन जहाज, संचालनको टुंगो नभएपछि कर्मचारी धमाधम बाहिरिंदै

बिजमाण्डू
२०८२ जेठ ७ गते २०:०० | May 21, 2025
बीबी एयरवेजले ल्याउन सकेन जहाज, संचालनको टुंगो नभएपछि कर्मचारी धमाधम बाहिरिंदै


काठमाडौं। करिब डेढ दशकपछि पुनः नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भनेको बीबी एयरवेजले जहाज ल्याउन नसकेपछि कमर्चारीहरु धमाधम बाहिरिन थालेका छन्।

Tata
GBIME

नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रक्रिया अनुसार डेमोन्स्ट्रेसन फ्लाइट सम्पन्न गरेको कम्पनीले जहाज ल्याउने टुंगो नभएपछि कर्मचारीहरु धमाधम बाहिरिन थालेका हुन्।

स्रोतका अनुसार कम्पनीले भर्ती गरेका प्रशासन प्रमुख, कन्टिन्युइङ एयर वर्दिनेस म्यानेजमेन्ट अर्गनाइजेसन (केमो) प्रमुख लगायत उच्च पदका कर्मचारी नै बाहिरिएका छन्।

‘कम्पनीले चाँडै नै उडान संचालन गर्ने भनेर कर्मचारी भर्ना गर्‍यो। प्राधिकरणको प्रक्रिया पनि अगाडि बढायो,’ स्रोतले भन्यो, ‘तर, मुख्य कुरा जहाज नै आएन। त्यहीकारण कर्मचारीहरु कम्पनीमा भविष्य नरहेको भनेर बाहिरिइरहेका छन्।’

कम्पनीका सञ्चालक भवन भट्टले जहाज लिजमा ल्याएर उडान सञ्चालन गर्ने बताएका थिए।

बीबी एयरवेजको उडान इजाजत पत्रको म्याद सकिसकेको छ। भुटानको ड्रुक एयरमार्फत डेमोन्स्ट्रेसन फ्लाइट पछि  कम्पनीको प्रक्रिया अगाडि बढेको छैन। प्राधिकरणबाट उडान सञ्चालन अनुमति लिन कम्पनीको आफ्नै जहाज हुनुपर्ने प्रावधान छ।

उडान इजाजत लाइसेन्स खारेज भएको विषयमा कम्पनीले सर्वोच्च अदालतमा मुद्दा हालेको छ।

कम्पनीले २०७८ फागुन २९ मा लाइसेन्स नवीकरण गरेपछि१० अर्ब रुपैयाँ खर्च गर्ने र एक वर्षभित्रै तेस्रो जहाज भित्र्याएर दिल्ली, बैंकक, क्वालालाम्पुर, हङकङ, टोकियो, दोहा, सिंगापुर लगायत गन्तव्यमा उडान गर्ने योजना बनाएको थियो।

सन् २०१२ सेप्टेम्बर १३ मा कम्बोडियाको सियाम रिपबाट बोइङ ७५७-२०० जहाजमा दुई सय पर्यटक ल्याएर सेवा सुरु गरेको बीबी एयरवेज फाइदा कमाउन नसकेपछि छोटो समयमै बन्द गरिएको थियो।