आइएमई हस्पिटालिटीको पाँचौं होटल उद्घाटन, ‘पर्यटन पूर्वाधारमा सम्भावनै सम्भावना छ’

बिजमाण्डू
२०८२ बैशाख २९ गते १८:४९ | May 12, 2025
आइएमई हस्पिटालिटीको पाँचौं होटल उद्घाटन, ‘पर्यटन पूर्वाधारमा सम्भावनै सम्भावना छ’


काठमाडौं। आइएमई हस्पिटालिटीले आफ्नो पाँचौं होटल सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो पाँचौं होटलका रुपमा नवलपुरको मौलाकालीमा इला होटल सञ्चालनमा ल्याएको हो। होटल सोमबार उद्घाटन गरिएको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले होटल उद्घाटन गरेका हुन्।

Tata
GBIME
NLIC

काठमाडौंको चन्द्रागिरिमा चन्द्रागिरि रिसोर्ट तथा लाजिम्पाटमा होटल ले हिमालय र पोखराको लेकसाइडमा लेकसाइड रिट्रिट सञ्चालन गर्दै आएको कम्पनीले केही महिनाअघि बागलुङमा इला होटल खोलेको थियो।

कम्पनीले लुम्बिनी केबलकारको टप स्टेसन बसन्तपुरमा होटल तथा कैलालीमा होटल, रिसोर्ट र केबलकार निर्माणको काम एकसाथ अघि बढाइरहेको छ।

त्यहाँ एक वर्षभित्र केबलकार र त्यसको केही समयपछि होटल र रिसोर्ट सञ्चालनमा आउने कम्पनीले जनाएको छ। कम्पनीले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्दैछ।

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले मुलुकको समृद्धिको आधार पर्यटन भएकाले होटल र अन्य पर्यटकीय पूर्वाधारमा लगानी बढाएको बताए।

‘मुलुकमा पर्यटन पूर्वाधारको कमी छ। नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई अहिले निकै कम छ र यो प्रति दिन झन घट्दो क्रममा देखिन्छ,’ ढकालले भने, ‘हामीलाई विश्वास छ मुलुकको विकास र समृद्धिको प्रमुख आधार पर्यटन हो। त्यसैअनुसार पर्यटन पूर्वाधारहरु निर्माण गर्ने क्रममा हामीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजना सुरुवात गरेका हौं।’

विदेशी पर्यटक नेपालमा औसत १२ दिन बस्ने गरेका छन्। उनीहरुले दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको तथ्यांक छ।

नेपाल उद्योग वाणिज्य महासंघका समेत अध्यक्ष रहेका ढकालले पर्यटकको बसाई अवधि र खर्च बढाउने खालका पूर्वाधार बढाउनुपर्नेमा जोड दिए। उनले पूर्वाधार निर्माणमा सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने बताए।

‘हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ। नेपालको संस्कृति, कला, प्राकृतिक सौन्दर्य र यहाँको अलौकिक विशेषतायुक्त भूगोल र अवस्थितिको अवलोकनका लागि नेपालमा पर्यटक आउने गर्छन्। त्यसैले त्यस्ता पर्यटकीय पूर्वाधारको विकास गर्नुपर्छ भन्ने मेरो सुझाव हो,’ उनले भने ‘यी कार्यमा सरकारले निजी क्षेत्रलाई जति धेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ, त्यति नै छिटो देशको विकास हुन्छ।’

ढकालले पर्यटन, प्रकृति र पर्यावरणका क्षेत्रमा असंख्य सम्भावना रहेको बताए। ‘भिजनसहितको इच्छाशक्ति, प्रविधि र पुँजी जोड्न सक्नुपर्छ। यसबाट साँच्चिकै मिराकल हुन्छ भन्ने मेरो आत्मविश्वास छ। यो मुलुकको निजी क्षेत्र नै विकास र परिवर्तनमा मिराकल ल्याउन सक्षम छ भन्ने कुराको पुष्टि त हामीले पटकपटक गर्दै आएकै छौं,’ उनले भने, ‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ।’

उनले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन स्थानीय तहहरुलाई प्रतिस्पर्धामा उत्रिन सुझाव दिए।

‘हामीकहाँ लगानीकर्ताहरुलाई आह्वान गर्ने मात्र काम गरिएको छ। अब मौखिक रुपमा गरिने यस प्रकारका आह्वानले मात्र पुग्दैन, निजी क्षेत्रलाई वास्तविक साझेदार ठानेर ठोस र व्यवहारिक नीतिमार्फत अर्थपूर्ण रुपमा सहजीकरण गर्नुपर्छ,’ उनले भने, ‘म पुन: दोहोर्‍याउन चाहन्छु कि नीतिगत सुधार र सहुलियतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ। पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्य अनुसार पर्यटक भित्र्याउन सकिन्छ। पर्यटकको बसाई लम्बाउन सकिन्छ, थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। थप रोजगारी सिर्जना गर्न सकिन्छ। थप राजश्व उठाउन सकिन्छ।’

ढकालले पर्यटन क्षेत्रबाट मुलुकको समृद्धि सम्भव रहेको भन्दै नीतिगत सुधारमा ढिलाइ नगर्न आऊ्रह गरे।

‘पर्यटनले पक्कै पनि जनताको जीवनस्तर उकास्न सघाउने छ। गरिबी घटाउने छ। मुलुकमा अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि आउने छ। आखिर हामी सबैका अपेक्षा पनि यिनै होइनन् र?,’ उनले भने, ‘सरकारले गर्ने सानो नीतिगत व्यवस्था र हौसलाले यी सबै काम गर्न सम्भव छ भने किन नगर्ने? सरकारले बिना लगानी नै प्रतिफल प्राप्त गर्ने, विकासको डिभिडेन्ड बुझ्न पाइने भएकाले नै सरकार बिना लगानीको पार्टनर हो।’