धरान बजार पुगेको पालुङे काउलीमा विषादीको मात्रा उच्च पाइयो, २५ सय केजी नष्ट

बिजमाण्डू
२०८२ बैशाख २३ गते १५:५१ | May 6, 2025
धरान बजार पुगेको पालुङे काउलीमा विषादीको मात्रा उच्च पाइयो, २५ सय केजी नष्ट
प्रतीकात्मक तस्वीर ।


काठमाडौं। विषादीको मात्रा उच्च भेटिएपछि धरानमा २ हजार ४ सय ४२ केजी काउली नष्ट गरिएको छ। धरान-१३ को कृषि उपज बजारबाट नमुना परीक्षण गरिएको काउलीमा विषादीको मात्रा मानव स्वास्थ्यका लागि घातक हुने पाइएको थियो।

Tata
GBIME
NLIC

मकवानपुरको पालुङमा उत्पादन भएको काउलीमा विषादीको मात्रा अधिक भेटिएको कृषि उपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए। केन्द्रीय प्रयोगशालामार्फत परीक्षण गरिएको उक्त काउलीमा ९७ प्रतिशत विषादी अवशेष भेटिएको हो।

पालुङबाट ल्याइएको उक्त खेपको काउली दुई पटकसम्म परीक्षण गर्दा अर्गानोफस्फेट नामक विषादीको मात्रा ९३ प्रतिशत र ९७ प्रतिशत पाइएपछि मंगलबार नष्ट गरिएको उनले बताए।

‘यो बजारमा हालसम्मकै पहिलो पटक विषादीको धेरै भएको तरकारी भेटिएको हो,’ उनले भने। अहिले काउली बेमौसमी तरकारी भएकोले माग धेरै छ। व्यवसायीले मकवानपुरको पालुङबाट खरिद गरेको काउली विषादी हालेर केही समय नपर्खी बजारमा पठाएको हुन सक्ने उनले बताए। 

उनका अनुसार उक्त काउली हालको थोक मूल्यअनुसार करिब डेढ लाख रुपैयाँ बराबरको थियो। धरानको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अनुसार उक्त काउली स्थानीय व्यापारी सन्तोष ढकाल र लालो चौधरीले ल्याएका थिए। व्यवसायीले किसानले विषादीको मात्रा अधिक प्रयोग गर्नु आफूहरुको दोष नभएको बताएका छन्। पालुङबाट काउलीसँगै ढकालका नाममा पुगेको खिरा र चौधरीले झिकाएका मुलामा भने विषादीको मात्रा हानिकारक नपाएको प्रयोगशालाको रिपोर्टमा छ।

सोही ठाउँबाट काठमाडौंमा ल्याइएको काउलीमा भने विषादी नभेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। फार्म फरक फरक भएका कारण काठमाडौंमा विषादी नभएको हुन सक्ने समितिको भनाइ छ।